सिरिया युद्ध: भुक्तभोगीको हृदयविदारक अनुभव - 'यो हो स्वतन्त्रताको निम्ति हामीले तिर्नुपरेको मूल्य'

  • मर्वा नाशीर
  • बीबीसी अरेबिक
सिरिया

तस्बिर स्रोत, AFP

सिरियामा भएको १० वर्ष लामो युद्धले देशलाई तहसनहस पारेको छ।

दशौँ हजार मानिस मारिएको र लाखौँ विस्थापित भएको बताइन्छ।

यो घर छाड्न बाध्य भएका र भागेर विदेश गएकाहरू त्यस्तै केहीको कथा हो।

यसमा उनीहरूमाथि युद्धले पारेको प्रभावको बयान छन्।

'मैले थुप्रै साथी गुमाएँ'

तस्बिर स्रोत, Ghayath Abou Ahmed

घयाथ अबु अहमद, ३०, स्वतन्त्र पत्रकार

मेरो गृह नगर डराय्यामा प्रदर्शन सुरु हुँदा म विद्यार्थी थिएँ। टाढैबाट क्यामराको लेन्सबाट हेर्थेँ, फोटो खिच्थेँ, सिरियामा त्यस्तो होला भन्ने कहिल्यै कल्पना गरेको थिइन।

हामी ट्यूनिशिया र इजिप्टको प्रदर्शनबाट प्रेरित थियौँ तर हामीले पनि त्यस्तो आवाज उठाउने धृष्टता गर्न सकौँला भन्ने सोचेकै थिएनौँ।

अकस्मात् हाम्रो सपनाको अकाल मृत्यु भयो जब सन् २०१२ मा डराय्यामा सैयौँ मानिस मारिए। दुई दिनभित्रै मैले मेरा थुप्रै साथीहरू र छिमेकी गुमाएँ।

पुरै १० वर्ष मेरो निम्ति निकै कठिन समय बन्न पुग्यो। चार वर्ष म बन्दी जस्तै भएर अलग बसेँ।

सन् २०१६ मा बाध्य भएर डराय्या छाडेर इडलिब जानुपर्दा म पूर्ण रूपमा हराइसेको थिएँ, पानीबाट झिकेको माछा जस्तै महसुस भएको थियो।

मेरा अभिभावक बन्दी बनाइए र भाइ मारियो। त्यो स्वतन्त्रताको निम्ति हामीले तिरेको मूल्य थियो।

क्रान्तिमा सहभागी भएकोमा मलाई कहिल्यै पछुतो भएन। मैले जे गुमाए त्यसका निम्ति क्रान्तिलाई दोष दिन्न, केवल सिरियाली सत्तालाई दिन्छु जसले अक्षम्य अपराधहरू गरेको छ।  

क्रान्ति अहिलेसम्म पूर्ण भएको छैन तर हामीले यसअघि कहिल्यै नपाएको केही मात्र भए पनि स्वतन्त्रता पाएका छौँ।

अहिले म स्वतन्त्र पत्रकार छु। आफ्ना मनका कुरा विश्वसामु बाँड्छु।

'मसँग भविष्यको कुनै सपना छैन'

तस्बिर स्रोत, Getty Images

नूर अल-शाम, २८, मानवीय सहायताकर्मी

दक्षिणी इडलिबस्थित घरमा स्वतन्त्रता बाहेक हामीलाई आवश्यक सबै कुरा थियो।

अहिले म मरुभूमिमा साधारण टेन्टमुनि जीवन काटिरहेको छु। अन्य हजारौँ टेन्टहरू पनि छन् जहाँ जाडोमा ठूलो माटोको पोखरी बन्छ र गर्मीमा किराहरूको आक्रमण र धुलोले ढाकिन्छ।

मसँग मेरो भविष्य वा छोराको भविष्यको सपना छैन। म क्याम्पभित्रको जीवनबाट उसको ध्यान मोड्ने प्रयास गर्छु।

मैले उसलाई युद्धको बारेमा केही भन्दिन जसले गर्दा सानै उमेरमा उसलाई बोझ बनोस्।

मेरो पति कामको निम्ति हामीलाई छाडेर टर्की जानु पर्‍यो र त्यसपछि कहिल्यै मैले उहाँलाई देख्न पाएकी छैन।

पढाइ सक्ने मेरो सपना थियो जुन अहिले असम्भव छ। म प्रदर्शनमा सहभागी हुँदा एलेप्पो विश्वविद्यालयको विद्यार्थी थिएँ। सुरक्षा फौजको धम्कीका कारण मैले केही महिनामै विश्वविद्यालय छाड्नु पर्‍यो।

मैले मानिसहरूलाई सहयोग गर्न बाहिर आएँ र मानवीय सहायता प्रयासमा जोडिएँ।

सन् २०१९ मा छिमेकमा भएको गोलाबारीबाट जोगिन पति र छोरासँगै म भागेँ र शरणार्थी शिविरमा आएर रोकियौँ। मैले दुई जना नातेदार गुमाएँ।

सन् २०१२ मा मेरो भाइ पक्राउ पर्‍यो र अहिलेसम्म भाइ कहाँ छ भन्ने पत्तो छैन।

तर क्रान्तिप्रति मलाई कुनै पश्चात्ताप छैन। आशा छ हामीले दमनकारी सत्ताबाट छुटकारा पाउने छौँ।

'विश्वले हेरिरह्यो तर केही गरेन'

तस्बिर स्रोत, Fadi Mosilli

फादी मोसिल्ली, ४०, रेडक्रसकर्मी

सन् २०१२ मा मलाई अब सिरियामा बस्न सक्दिन भन्ने लाग्यो। नजिकको साथी पक्राउ परेपछि खतरा महसुस भयो।

आफ्ना बालबच्चाको सुरक्षालाई लिएर मलाई डर लाग्यो। म टर्की हुँदै जर्मनी आएँ।

सम्भवतः विदेश आगमनले हाम्रो आवाज सुनाउन सहयोग गर्छ। म सधैँ सिरियालीहरूको अधिकार र सिरियाली शरणार्थीहरूको सुरक्षाको निम्ति आवाज उठाउन जर्मनीमा सबै प्रदर्शनमा सहभागी हुन्छु।

म राजनीतिक दलसँग पनि जोडिएको छु। मैले यहाँकै जस्तो प्रजातन्त्र र स्वतन्त्र चुनाव सिरियामा पनि होस भन्ने सपना देखेको छु।

त्यहाँ मेरो आँखै अगाडी मानिसहरू क्रुरतापूर्व पिटिएका र मारिएका छन्।

तर मलाई अझै आशा छ एक दिन हामीले स्वतन्त्रताको मजा लिन पाउनेछौँ र दोषीहरूलाई जिम्मेवार बनाउन सक्नेछौँ।

हरेक दिन सिरियाली मारिएको र विस्थापित भएको दृश्यले मेरो मन पोल्छ। तर सारा विश्वले हेरिरहे पनि हत्या रोक्न केही गरिरहेको थिएन।

म आत्माबिनाको शरीर जस्तै बाँचेको छु। सिरियाको जीवनले मलाई सताइरहन्छ।

परिवार, साथीहरू, रूखहरू र सडक सम्झिन्छु जहाँ म बस्थेँ। म बसेको दमास्कसको फोटो हेर्छु र रुन्छु।

केही वर्षअघि बितेकी मेरी आमाको चिहान समेत हेर्न पाएको छैन जसले मेरो मुटु छियाछिया हुन्छ।

'विगत १० वर्षले मलाई ध्वस्त बनायो'

तस्बिर स्रोत, Getty Images

सराह रमी, ४०, शिक्षक

प्रदर्शन सुरु हुँदा घर छाड्न निकै डर लाग्यो। के हुँदै छ भन्ने र त्यसले कहाँ पुर्‍याउँछ भन्ने थाहा थिएन।

केही मानिसहरूले स्वतन्त्रताको नारा लगाउँदा अरू कैयौँले विभिन्न फरक आस्था राख्नेहरूबीच विभाजनकारी सङ्केतहरू उचालेको देखेर मलाई चिन्ता लाग्यो।

हामी मुस्लिम र इसाई समुदाय सबै सधैँ सँगै बस्थ्यौँ। सङ्कट अघिसम्म कहिल्यै हामी फरक हौँ भन्ने महसुस गर्दैनथ्यौँ।

केही महिनामा मेरा विश्वविद्यालयका केही साथीहरू गुमाएँ। जसले उनीहरूलाई तिनको सम्प्रदाय र सहरको बारेमा प्रश्न गर्न सुरु गरेका थिए।

केही वर्षमा हामीहरूमाथि बमहरू झर्न थाले। तर कसले त्यो गरिरहेको थियो थाहा थिएन।

सन् २०१६ मा दमास्कसस्थित एउटा रेस्टुरेन्टमा रहेकी मेरी बहिनी मारिइन्। मैले त्यसको दोष प्रदर्शनकारीहरूलाई दिन्न।

मलाई थाहा छ उनीहरूले आधारभूत अधिकारको माग गरिरहेका थिए तर अरूले हामीलाई आतङ्कित तुल्याए। दर्जनौँ साना सशस्त्र समूहले पहिचानको आधारमा मानिसहरूको हत्या गरिरहेका थिए।

सरकारी कर्मचारी सरकारसँग काम गरिरहेकै कारण मारिएका थिए।

त्यसले मलाई आमाको सुरक्षालाई लिएर आतङ्कित तुल्यायो। किनकि उनले एउटा सरकारी मन्त्रालयमा काम गर्थिन्। कार्यालय जाँदा उनी सवार बसलाई एक पटक बम हमलाको निशाना बनाइएको थियो तर उनी घर फर्किन सकिन्।

विगत १० वर्षले मलाई तहसनहस तुल्याएको छ। जब मैले ठूलो आवाज सुन्छु, मुटु काँप्न थाल्छ र पुरै शरीर थरथर गर्न थाल्छ। म अहिले केही सुरक्षित छु। तर आर्थिक अवस्था दयनीय छ।

मलाई आशा छ नयाँ अमेरिकी प्रशासनले सिरियामाथिको प्रतिबन्ध फुकुवा गर्नेछ। सरकारमा काम गरिरहेका हैन, सामान्य मानिसले दुख पाएका छन्। मूल्य चुकाउने सधैँ हामी भएका छौँ।

'आखिर हामीले जित्यौँ'

तस्बिर स्रोत, Harun al-Aswad

हरुन अल असाद, ३३, पत्रकार

म इजिप्टको सफल क्रान्तिबाट प्रभावित थिएँ।

दमास्कसस्थित घरबाट निस्केर प्रदर्शनमा सहभागी भएँ तर पक्राउ परेपछि मेरो आशा तुहियो। एक वर्षसम्म बर्बर यातना पाएँ।

खाना, पानी र बाथरुमबाट समेत मलाई वञ्चित गरिएको थियो। दिनदिनै पिटिन्थ्यो।

कहिले त म मर्न पाए हुन्थ्यो जस्तो पनि लाग्थ्यो। र मैले सोचे आशा मारेँ भने म मर्छु।

मेरो बुवाले यो देशमा पत्रकारिताले तिमिलाई एक दिन समस्यामा पर्छ भन्ने गर्नुहुन्थ्यो।

अहिले म पत्रकारितालाई निरन्तरता दिँदै संसारलाई सिरियाली जनताविरुद्ध भइरहेको अत्याचार सुनाउन सिरियाली सिमाना नजिकै टर्कीमा बस्छु।

मलाई अझैँ आशा छ, बसर अल असदको सत्तालाई जनताविरुद्ध गरेको अपराधमा जबाफदेही बनाइने छ। हाम्रो क्रान्ति इस्लामिक थिएन। कहिल्यै विभाजनकारी आवाज उठाएनौँ।

मात्र स्वतन्त्रता, न्याय र सङ्कटकाल अन्त्यको माग गर्‍यौँ। हामीले आखिर जितेका छौँ।

'फेरि परिवारलाई देख्ने आशा छैन'

तस्बिर स्रोत, AFP

साफिया, ४५, गृहिणी

क्रान्ति सुरु भएको एक वर्षपछि म, पति र चार जना बच्चा घरबाट भाग्यौँ। सधैँ लाग्थ्यो, सत्ताले आक्रमण रोकेपछि एक दिन फर्किने छौँ। तर फर्किन सकेनौँ।

सुरक्षा खोज्दै पिकअप ट्रकमा एउटा सहरबाट अर्कोमा जाँदा भीषण गोली चलिरहेको थियो। मृत्यु नजिक थियो तर त्यो पक्राउ हुनुभन्दा राम्रो थियो।

पूर्वी घुटामा घेरामा पर्दाको दिन निकै कठिन रहे। बम र हवाई आक्रमण भइरहेको थियो। औषधी र आधारभूत खाद्य सामग्रीको आपूर्ति थिएन।

मध्यरातमा मेरो सानो छोरा भोकले ब्युँतिएर जब खानेकुरा माग्यो र मैले केही दिन सकिन, त्यस बेला म भित्रभित्र मरेकी थिएँ।

त्यस्ता कैयौँ पीडाहरू बेहोर्नु पर्‍यो जुन स्मृतिबाट मेटाउन सकिए हुन्थ्यो जस्तो लाग्छ। हामी इडलिबबाट भागेर टर्की जाँदा पत्रकार भएकाले मेरो पति र तीन जना छोरालाई सुरक्षाकर्मीले यातना दिए।

म अधिकारीविरुद्ध कराएँ, 'उनीहरूलाई छोड'। मलाई थाहा छैन मैले त्यो शक्ति कसरी पाएँ। जबकि कुनै पनि अधिकारीसँग मलाई डर लाग्थ्यो।

पछि टर्किश अधिकारीहरूले व्यक्तिको गल्ती भन्दै क्षमा मागे। हामीलाई टर्की प्रवेश गर्न दिइयो।

केही महिना बसेर फ्रान्स पुग्यौँ। मलाई परिवारसँग फेरि भेट होला भन्ने आशा छैन। मेरो बुवा बित्नु भयो तर मैले उहाँलाई अन्तिम अवस्थामा पनि भेट्न पाइन।

'रुखबाट झरेको पात जस्तो'

तस्बिर स्रोत, Younes al-Karim

युनीस अल करिम, ४०, अर्थशास्त्री

क्रान्तिअघि म सिरियाली व्यापारीहरूको आर्थिक सल्लाहकार थिएँ।

अहिले फ्रान्समा बस्छु। स्नातकोत्तर गरे पनि पैसा कमाउन रेस्टुरेन्टमा सरसफाइको काम गर्छु।

राजनीतिक दल खोल्न खोज्दा सन् २०१४ मा सिरियामा केही महिना पक्राउ परेको थिएँ। रिहा भएपछि जीवन खतरामा परेको ठानेँ र भाग्ने निचोडमा पुगेँ।

मेरो श्रीमतीले पनि स्नातकोत्तर गरेकी छन्। केन्द्रीय ब्याङ्कमा काम गर्थिन।

तर अहिले गुजाराको निम्ति खाना पकाउँछिन्। मलाई सबैभन्दा पीडादायी प्रश्न यो हो, "तिमी के गर्छौँ?"

कहिलेकाहीँ मैले आफैँलाई सोध्छु: म यहाँ के गर्छु?

मलाई महसुस हुन्छ, म खतरनाक जमिनमा त्यो रूखबाट झरेको पात हुँ जसले मलाई कहिल्यै स्वीकार गर्दैन।

एक जना फ्रेन्चले एक पटक कराउँदै हामीलाई भने, जहाँबाट आएका हौँ, त्यहीँ जाऊ। उनले हामीलाई आतङ्ककारी भने। तर कसैले उनलाई रोकेनन्। कसैले हाम्रो प्रतिरक्षा गरेनन्।

(केही पात्रको नाम उनीहरूको पहिचानको सुरक्षाको निम्ति परिवर्तन गरिएको छ।)