कोरोना भाइरस खोपः अक्सफर्ड-आस्ट्राजेनेकाको कोभिड खोप प्रयोग गर्न रोक्ने निर्णय कति उचित

कोभिड खोप

तस्बिर स्रोत, PA Media

खोप लगाएका केही व्यक्तिहरूमा रगत जम्ने समस्या देखिएको विवरणमाझ केही देशमा आस्ट्रजेनेकाद्वारा विकसित कोभिड खोप हाल्ने कार्य स्थगित गरिएको छ।

तर के यो निर्णय हतारमा गरिएको निर्णय हो? के स्थगनको निर्णय गर्ने देशहरूले समग्र अवस्था नहेरेका हुन्?

स्थगनको निर्णय विज्ञान र औषधि विज्ञानमा लामो समयदेखि स्थापित मान्यताप्राप्त सिद्धान्तको आधारमा गरिएको हो। त्यो सिद्धान्तले केही कुरा प्रमाणित नहुँदा स्थगन गरेर समीक्षा गर्नुपर्नेमा जोड दिन्छ।

तर प्रत्येक निर्णयका असर देखिन सक्ने महामारीको अवस्थामा यो सिद्धान्तमा गरिएको निर्णयले राम्रोभन्दा बढी नराम्रो नतिजा दिन सक्छ।

कारण कि संयोग?

आस्ट्राजेनेकाले दिएको तथ्याङ्कका युरोपमा खोप लगाएका एक करोड ७० लाख मानिसमध्ये ३७ जनामा रगत जम्ने समस्या देखिएको छ।

तर यसमा मूल प्रश्न भने के हो भने रगत जम्नुको खोप कारण हो या यो संयोग मात्रै हो? खोप नलगाएको भए ती मानिसमा रगत नजम्ने थियो?

यस्ता कुराहरू नजिकबाट नियालिन्छ किनभने यस्ता घटनाहरू अन्य अवस्थामा भन्दा बढी भइरहेको भए नियामकहरूलाई जानकारी हुन्छ।

सामान्यतया ३७ जनामा रगत जम्नु अपेक्षा गरिएभन्दा कम हो। त्यसमाथि खोपका कारण रगत जम्ने कुनै वैज्ञानिक कारण पनि छैन।

तस्बिर स्रोत, Reuters

त्यसै कारण विश्व स्वास्थ्य सङ्गठनलगायत अन्य नियामक संस्थाहरूले खोप र रगत जम्नुबीच कुनै सम्बन्ध नरहेको बताएका छन्।

रगत जम्ने घटनाहरूको अध्ययन गरिएको युरोपेली नियामक निकायले समेत यो खोप नियमित गर्न सुझाव दिएको छ।

तसर्थ देशहरूले एक्लाएक्लै गरेको खोप रोक्ने निर्णयले विज्ञहरूलाई चकित पारेको छ।

कोभिड खोपमा विश्व स्वास्थ्य सङ्गठनको कार्यदलमा रहेका प्राध्यापक एडम फिन खोप लगाउन रोक्ने कार्य 'अनपेक्षित' भएको बताउँदै यसले खोपप्रतिको विश्वास घटाएर दीर्घकालीन रूपमा धेरै ज्यान जान सक्ने बताउँछन्।

"यस्तो अवस्थामा सही निर्णय गर्ने कार्य सहज छैन तर एक खालका नीति राख्नु आवश्यक छ," उनले भने।

के खोपसँग युरोपको समस्या छ?

युरोपेली राष्ट्रले आस्ट्राजेनेका खोपबारे सतर्कता देखाएको यो पहिलो पटक होइन।

जर्मनी, फ्रान्स र अन्य देशले सुरुमा यो खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई दिन आनाकानी गरे। फ्रान्सेली राष्ट्रपति इम्यानुअल मार्कोले त यसलाई "अर्धप्रभावकारी" नै भने।

जर्मनी र फ्रान्समा यो खोप खेर जाने अवस्थामा छ। उनीहरूले आफूले प्राप्त गरेको खोपभन्दा आधा पनि प्रयोग गरिसकेका छैनन्। यसले गर्दा उनीहरू यूकेभन्दा धेरै फाइजर खोपमा भर परेका छन्।

यसको असर त्यहाँ यूकेमा भन्दा बढी सङ्क्रमण दर छ र यो झन् खराब हुन सक्ने देखिन्छ।

खोप किन ६५ वर्षभन्दा माथिका लागि नदिइएको भन्ने सम्बन्धको निर्णय कसरी गरियो? खोपको परीक्षण सुरक्षाका लागि युवा वर्गमा मात्रै गरियो जसका कारण अन्य उमेर समुदायमा यसको असरबारे यथेष्ट तथ्याङ्क उपलब्ध थिएन।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

विश्वस्वास्थ्य सङ्गठनले कोभिड खोप दिन बन्द गर्नुको उपयुक्त कारण नभएको बताएको छ

तर बढी उमेर भएका व्यक्तिहरूबाट प्राप्त गरिएका रगतमा परीक्षण गर्दा खोपले रोगप्रतिरोधी क्षमतालाई सक्रिय बनाएको देखिएको थियो। त्यसैले ६५ वर्षभन्दा माथिका लागि खोप रोक्नुपर्ने कारण थिएन, खालि त्यहाँ यथेष्ट तथ्याङ्कका लागि आवश्यक समय थिएन।

परीक्षणका क्रममा गरिएका फरक अध्ययनले पनि चार प्रकारको तथ्याङ्क दिएको थियो जसले गर्दा ती तथ्याङ्कलाई विश्लेषण गर्न सहज भएन।

किन कडा निर्णय राम्रो हुन्छ?

यूकेले ती नतिजामा हेर्‍यो र एक कदम अगाडि बढ्यो जसको असर केही महिनामै त्यहाँ सिकिस्त बिरामी भएर अस्पताल भर्ना हुने ८० वर्षमाथिको सङ्ख्या घट्यो।

यस्तै खाले निर्णयले गर्दा यूकेले दुई मात्राबीच तीन महिनासम्मको अवधि राख्न सुझाव दियो। डिसेम्बरको अन्त्यमा यो घोषणा निकै विवादास्पद भएको थियो।फाइजर खोप यसरी परीक्षण गरिएको थिएन र दुई मात्राबीच अवधि तीन हप्ता थियो।

तर प्रमाणको अभावको अर्थ त्यसले कामै गर्दैन वा त्यो निर्णय बिनातर्क लिइएको निर्णय भन्ने होइन।

आस्ट्राजेनेकाको परीक्षण मात्राबीच लामो अवधि राखेर पनि गरिएको थियो र यसले झन् प्रभावकारी बनाउन सक्ने देखिएको थियो र फाइजरकै जसरी काम गर्ने मोडेर्ना खोपको परीक्षणले पनि यसरी काम गर्न सक्ने देखाएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

सङ्क्रामक रोग बढिरहेछ कि छैन भन्ने थाहा दिने 'आर' के हो

दुई मात्रा चाहिने खोपका सम्बन्धमा पहिलो मात्राले धेरैजसो सुरक्षा प्रदान गर्ने र दोस्रो "बूस्टर डोज" ले त्यो सुरक्षालाई लामो समय राख्ने काम गर्छ।

यूकेमा कोभिड बढिरहेको बेला उपलब्ध खोपलाई सकेसम्म धेरै व्यक्तिलाई केही सुरक्षा प्रदान गर्नु महत्त्वपूर्ण हुन्थ्यो।

क्रेम्ब्रिज विश्वविद्यालयका प्राध्यापक सर डेभिड स्पीगलहाल्टर कहिलेकाहीँ सतर्कताको सिद्धान्तभन्दा अगाडि बढेर कडा निर्णय लिनुपर्ने बताउँछन्।

"सतर्कता सिद्धान्तले निष्क्रियताले जोखिम घटाउने अवस्था सोच्छ। तर समस्या के हो भने अहिलेको अवस्था सामान्य समय होइन र निष्क्रियता झन् जोखिमपूर्ण हुन सक्छ।"

"कुनै बेला निश्चितता पर्खिनु हानिकारक हुन सक्छ। मानिसहरूलाई खोप नदिँदा ज्यानै जान सक्छ।"