नाल कतिखेर काट्ने थाहा नपाउँदा शिशु मृत्युदर उच्च

  • रबिना बोहरा
  • बीबीसी न्यूज नेपाली, बागलुङ
महिला

बडिगाड गाउँपालिका-४ भुषालखर्ककी २१ बर्षीया खीमा रेश्मीले गत साउनमा जुम्ल्याहा बच्चा घरमा नै जन्माइन्।

खीमाको सुत्केरी स्थानीय महिलाहरूले गराएका थिए।

उनीहरूले शिशु जन्मिएर साल झरेपछि मात्रै नाभि काटेका थिए।

भोलिपल्ट एउटा शिशुको मृत्यु भयो।

"अस्पताल जान सम्भव भएन, घरमै बच्चा जन्मिए तर खै के भयो, भोलिपल्ट एउटा बाबु खेर गयो," खीमाले पीडा पोख्दै भनिन्, "तातो नहुने, चिसो मात्रै हुने, दूध नखाने गर्थ्यो, अर्को दिन दूध खान उठेन भनेर उठाउन खोजेको बाबु खेर गइसकेको रहेछ।'

४ पटक गर्भ जाँचका लागि स्वास्थ्य संस्था पुगेकी उनले बर्खाको समय भएकाले यातायात नपाएपछि घरमै सुत्केरी भइको बताइन्।

साल काटेपछि मात्रै नाल काट्ने परम्परा

साल झर्नुभन्दा अघि नाल काट्दा आमाको ज्यान जान सक्छ भन्ने गाउँका मानिसहरूको बुझाइ छ।

सोही गाउँकी एक महिलाले खीमाको बच्चाको नाल काटेकी थिइन्।

"मैले त कसैको काटेकी पनि थिइन, देखेकी पनि थिइन, नाल काट्दा नयाँ पत्ती चाहिन्छ भन्ने मात्रै थाहा थियो," नाल काटेकी ती महिलाले भनिन्, "मैले बच्चा जन्माएका बेला त झन् ५ घण्टा सम्म नाल नकाटी त्यसै राखिदिएका थिए।"

स्वास्थ्यकर्मीका अनुसार शिशु जन्मिएको १ देखि ३ मिनेटभित्र बच्चाको नाल काट्नु पर्छ।

तर, बागलुङको पश्चिम भेगमा भने साल निस्केपछि मात्रै नाल काट्ने चलन छ। त्यसले शिशुको जीवन जोखिममा पर्ने चिकित्सकहरू बताउँछन्।

बडिगाड गाउँपालिका-७ भीमगिठेकी २० बर्षीया सिर्जना केसी गत कात्तिक महिनामा सुत्केरी भइन्।

लामो व्यथा लागेकी उनले बच्चाको नाल बेरिएको पत्ता लागेपछि भीमगिठे स्वास्थ्य चौकीमा सम्भव नहुँदा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गएर बच्चा जन्माइन्। तर, बच्चाको स्वास्थ्य अवस्था जटिल भएकाले अस्पतालले पाल्पा रिफर गर्‍यो।

बिहान जन्मिएको बच्चाको साँझ अस्पताल नपुर्‍याउँदै बाटोमा मृत्यु भयो।

अहिले उनी भन्छिन्, "डाक्टर राम्रो भैदिएको भए सायद मेरो बच्चा जिउँदै हुने थियो कि ?"

आफ्नो खेर गएको बच्चा सम्झिँदै बेला बेला भक्कानिन्छिन्।

"सिस्टरहरूले राम्रो हुन्छ भन्नुभयो अनि घरकाले पनि अन्त जान दिनुभएन, तर सिस्टरहरूले राम्रो हेर्न जान्नु हुने रैनछ जस्तो मलाई लाग्यो," उनले भनिन्।

बाध्यता एवम् चेतना अभाव

विकट बस्ती भएका कारण सुत्केरी महिलाहरूलाई गाउँका मानिसहरूले बोकेर स्वास्थ्य संस्था सम्म पुर्‍याउनुपर्ने ठाउँहरू पनि छन्।

यसले गर्दा सुत्केरी महिलाले अरूलाई दुःख दिने नचाहने, अस्पताल जान ढिला हुने कारण पनि नवजात शिशुको मृत्युदर बढी रहेको पाइएको छ।

दुर्गम गाउँका महिला अझै सुत्केरी हुन अस्पतालमा जानुपर्छ भन्ने ठान्दैनन्।

यसले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने गरेको छ। गर्भवती हुँदा ३/४ पटक स्वास्थ्य संस्थामा गएर जाँच गराएका महिलाहरू स्वास्थ्य चौकी जान झन्झट हुने भन्दै घरमा नै सुत्केरी हुने गर्छन्।

सडक नपुगेको ठाउँ, यातायातको पहुँच र चेतनाको अभावका कारण पनि यस्ता घटना दोहोरिने गरेको पाइएको बडिगाड गाउँपालिका स्वास्थ्य शाखाका प्रमखु चुडामणि कँडेलले बताए।

दक्ष जनशक्ति अभाव

दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा काम गर्ने दक्ष जनशक्ति अभाव छ।

जसले गर्दा यस्ता घटना बढिरहेको स्वास्थ्यकर्मी बताउछन्।

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कँडेलका अनुसार ८ वटा बर्थिङ सेन्टरमा ७ जना मात्रै एसबीए तालिम प्राप्त अनमीहरू छन्।

उनी भन्छन् 'हामीले नै दक्ष तथा राम्रो स्वास्थ्य सेवा दिन नसकेको भएर पनि यस्ता घटना बढेको हुनसक्छ? यसलाई सरकारले हेर्नुपर्छ।'

घरमा जन्मिएका धेरै शिशुको मृत्यु

बडिगाड गाउँपालिकाका अनुसार गएको सात महिनामा १७ शिशुको मृत्यु भएको छ।

मृत्यु हुनेमा घरमा जन्मिएका शिशुको सङ्ख्या बढी छ भने अस्पताल पुर्‍याउन समय लागेर पनि मृत्यु भएको पाइएको छ।

गण्डकी प्रदेश सरकारले सुत्केरी हुन समस्या आउँदा महिलाहरूलाई हेलिकोप्टर मार्फत उद्धार गर्ने गरेको छ। गएको २६ महिनामा ३७ जना महिलाको हेलि उद्धार गरी शिशु र आमा दुवैको ज्यान बचाउन सफल भएको पनि बताएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार चालु आर्थिक बर्षको साउन महिनादेखि अहिलेसम्म २५ शिशु र ४ जना आमाको मृत्यु भएको तथ्याङ्क छ।

गत वर्ष ११४ शिशु र ७ जना आमाको मृत्यु भएको थियो।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशका हरेक जिल्लामा आमा प्रतिक्षालय घर स्थापना गरी गर्भवती महिलालाई दुई हप्ता अघिदेखि प्रतीक्षा घरमा राखेर खाना खुवाउने, तालिम दिने एवम् बेथा लागेपछि बर्थिङ कोठामा लैजाने व्यवस्थासहित ३० करोड रुपैयाँको प्रस्ताव अघि सारेको बताए।

यस्तै आमा र शिशुको पोषण सुधार कार्यक्रमका लागि ४ करोडको बजेट प्रस्ताव गरेको पनि निर्देशनालयले जनाएको छ।

मृत्युदर घटाउने चार उपाय

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.केशव आचार्यका अनुसार घरमा सुत्केरी हुनेलाई जनचेतनाको माध्यमबाटै स्वास्थ्य संस्थामा जान प्रोत्साहन गर्नु पहिलो उपाय हो।

'घरमा जन्माउँदा बच्चा र आमा दुवैलाई सङ्क्रमणको जोखिम हुन्छ, अत्याधिक रक्तश्राव हुँदा दुवैको ज्यान समेत जान सक्छ, त्यसकारण स्वास्थ्य संस्थामै जन्माउँदा शिशु र आमाको ज्यान जोगाउन सकिन्छ' उनले भने।

यस्तै चारपटक स्वास्थ्य संस्थामा आउनेलाई थप प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, गर्भवती महिलालाई प्रत्येक महिना स्वास्थ्य संस्थामा बोलाएर स्वास्थ्य चेतनाका कार्यक्रम चलाउने, सरकारका कार्यक्रमबारे जानकारी गराउनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन्।

स्वास्थ्य संस्थामा जन्मिएका र मृत्यु भएका शिशुको मात्रै विवरण राख्दा केही शिशुहरूले मात्रै ज्यान गुमाएको सरकारी तथ्याङ्क पाइन्छ।

विकट ग्रामीण भेगमा घरमा नै सुत्केरी हुँदा ज्यान गुमाउने शिशुहरूको सङ्ख्या धेरै रहेकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको जानकारहरू बताउँछन्।