सिरियाको युद्ध किन १० वर्ष चल्यो?

दुई सन्तान गुमाएपछि चित्कार गर्दै एक बुवा

तस्बिर स्रोत, Reuters

राष्ट्रपतिविरुद्धको १० वर्षअघिको एउटा शान्तिपूर्ण विद्रोह गृहयुद्धमा परिवर्तन भएको थियो।

द्वन्द्वमा ३८०,००० भन्दा बढी मानिसले ज्यान गुमाए, सहरहरू ध्वस्त भए र लाखौँ मानिसहरू विस्थापित भए।

सिरिया युद्ध कसरी सुरु भएको थियो?

द्वन्द्व सुरु हुनु पहिला नै धेरै सिरियालीहरू राष्ट्रपति बशर अल असदको शासनमा बढ्दो बेरोजगारी, भ्रष्टाचार र राजनीतिक स्वतन्त्रताको कमी भएको गुनासो गर्थे। सन् २००० मा आफ्ना पिता हाफेजको निधनपछि असद राष्ट्रपति बनेका थिए। सन् २०११ को मार्च महिनामा प्रजातन्त्र समर्थकहरूको प्रदर्शनहरू दक्षिणी सहर डेरामा सुरु भयो। ती प्रदर्शन दमनकारी शासकविरुद्ध छिमेकी देशमा भएका विद्रोहबाट प्रभावित थिए।जब सिरियाली सरकारले असन्तुष्ट आवाजहरूलाई बल प्रयोग गरेर दबाउन खोज्यो राष्ट्रपतिको राजीनामाको माग गर्दै देशव्यापी प्रदर्शन भए। अशान्ति फैलियो र दमनकारी कारबाही तीव्र बन्यो। विपक्षी समर्थकहरूले आफ्नो बचाउ गर्न हतियार उठाए। असदले "विदेश समर्थित आतङ्कवाद" भन्दै त्यसलाई दबाउने नीति लिए।

तस्बिर स्रोत, AFP

हिंसा तीव्र गतिमा बढ्यो र देश गृहयुद्धमा गयो। सयौँ विद्रोही समूहहरू गठन भए। विदेशी शक्तिहरूले एउटा पक्ष लिन थाले, पैसा, हतियार र लडाइँका लागि फौज पठाउन थाले र यो अवस्था खराब हुँदै जाँदा इस्लामिक स्टेट समूह र अलकायदा जस्ता अतिवादी जिहादीहरू पनि यसमा संलग्न हुन थाले। उनीहरूलाई एउटा प्रमुख खतराका रूपमा लिने अन्तर्राष्ट्रिय समुदायमा चासोहरू थप गहिरो बन्दै गयो। 

कति मानिसले ज्यान गुमाए?

तस्बिर स्रोत, Reuters

यूकेमा रहेको अनुगमनकारी समूह सिरियन अब्जरभेटरी फर ह्यूमेन राइट्सले सन् २०२० को डिसेम्बर महिनासम्म ३८७,११८ मानिसको ज्यान गएको र तीमध्ये ११६,९११ जना सर्वसाधारण रहेको जनाएको छ।

ज्यान गुमाउनेको यो सङ्ख्यामा बेपत्ता भएको वा मारिएको ठानिएका २०५,३०० पर्दैनन्।

त्यसमा ८८,००० गैरसैनिकहरू सरकार सञ्चालित कारागारहरूमा यातनाका कारण मरेको ठानिएको छ।

अर्को अनुगमन समूह द भाएलेन्स डकुमेन्टेसन सेन्टरले डिसेम्बर २०२० सम्ममा युद्धसँग सम्बन्धित २२६,३७४ मृत्यु भएको र त्यसमा १३५,६३४ सर्वसाधारण रहेको जनाएको छ।

उसले देशैभरका अभियानकर्मीहरूको सूचनामा आधारित भएर तथ्याङ्क निकाल्छ र सिरिया युद्धमा सर्वसाधारणमाथि हमलालगायत अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनको उल्लङ्घन भएको ठान्छ।

संयुक्त राष्ट्रसङ्घको बालबालिका हेर्ने निकाय युनिसेफका अनुसार युद्धका क्रममा करिब १२,००० बालबालिका घाइते भएका वा ज्यान गुमाएका छन्।

युद्ध को-को संलग्न छन्?

तस्बिर स्रोत, AFP

सिरिया सरकारका प्रमुख समर्थक रुस र इरान बन्दै आएका छन् भने टर्की र पश्चिमा शक्ति अनि कैयौँ अरब राज्यहरूले विगत एक दशकमा विभिन्न तहमा विपक्षीलाई साथ दिँदै आएका छन्।

युद्ध अगाडि सिरियामा सैन्य अखडा भएको रुसले सन् २०१५ मा असदको समर्थनमा हवाई अभियान सञ्चालन गरेको थियो र युद्धको लहरलाई सरकारको पक्षमा ल्याउन त्यो महत्त्वपूर्ण बनेको थियो।

रुसी सेनाले आफूले 'आतङ्ककारी'लाई मात्रै निसानामा पारेको बताउने गरेको छ तर अभियानकर्मीहरूले भने उनीहरूले मूलधारका विद्रोही र नागरिकहरूको पनि ज्यान लिने गरेको बताउँछन्।

इरानले असदलाई मद्दत गर्न सयौँ लडाकु र अर्बौँ डलर सिरिया पठाएको ठानिन्छ।

अन्य देशको समर्थन र विरोध

अमेरिका, यूके र फ्रान्सले सुरुमा विद्रोही समूहलाई आफ्नो समर्थन जनाएको थियो।

तर सशस्त्र विपक्षमा जिहादीहरू हाबी भएयता भने उसले घात नगर्ने सहायतालाई प्राथमिकतामा राखेको छ।

अमेरिकी नेतृत्वको विश्वव्यापी गठबन्धनले हवाई हमलाहरू गरेको छ र सन् २०१४ यता सिरियामा कुर्द र अरब मिलिसियाको गठबन्धन सिरियन डिमोक्रेटिक फोर्सेज एसडीएफलाई सहायता गर्न विशेष फौज परिचालन गर्दै आएको छ।

टर्की विपक्षीको प्रमुख समर्थक हो तर उसको ध्यान भने एसडीएफमाथि हाबी भएको कुर्द वाईपीजी मिलिसियालाई नियन्त्रण गर्न विद्रोही गुट प्रयोग गर्नेमा केन्द्रित छ।

इरानको प्रभावलाई टक्कर दिन इच्छुक देखिएको साउदी अरेबियाले युद्धको सुरुको बेला विद्रोहीलाई हतियार र पैसा दिएको थियो।

देशलाई कसरी असर गरेको छ?

तस्बिर स्रोत, AFP

सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स एसओएचआरका अनुसार द्वन्द्वका कारण लाखौँ मानिसको ज्यान जानुको साथै २१ लाखभन्दा बढी सर्वसाधारण घाइते भएका वा स्थायी रूपमा अपाङ्ग भएका छन्।

युद्धअघिको सिरियाको दुई करोड २२ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढी घर छोडेर अन्यत्र गएका छन्।

करिब ६७ लाख मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका छन् र शिविरहरूमा बसिरहेका छन्।

५६ लाख मानिसहरू भने देशबाहिर शरणार्थीका रूपमा दर्ता भएका छन्। छिमेकी लेबनन, जोर्डन र टर्कीले शरणार्थीको ठूलो सङ्ख्या व्यवस्थापनका लागि सङ्घर्ष गरेका छन्।

एक लाख सिरियाली शरणार्थी बालबालिका निर्वासनमै रहँदा जन्मिएका छन्।

सन् २०२१ ज्यानुअरीसम्म एक करोड ३४ लाख मानिसहरू कुनै न कुनै किसिमको मानवीय सहायताको आवश्यकतामा छन्।

तीमध्ये पनि ६० लाख चरम आवश्यकतामा रहेको राष्ट्रसङ्घले जनाएको छ।

एक करोड २० लाख मानिसहरू दैनिक पर्याप्त खानाका लागि सङ्घर्ष गरिरहेका र पाँच लाख बालबालिका नराम्ररी कुपोषित भएका छन्।

विगत वर्षमा कहिल्यै नभएको आर्थिक मन्दीले सिरियामा मानवीय सङ्कट निम्त्याएको थियो।

सिरियाको मुद्रामा नाटकीय रूपमा ह्रास आएको थियो र खाद्यान्नको मूल्य ऐतिहासिक रूपमा उच्च भएको थियो।

त्यसका साथै कोभिड-१९ को महामारीले पनि देशलाई अस्तव्यस्त बनाएको थियो।

परीक्षणको सीमित क्षमता र देशको डरलाग्दो स्वास्थ्य सेवा प्रणालीले गर्दा कुन तहसम्म कोरोनाभाइरसले असर गर्‍यो भन्ने थाहा हुन सकेको छैन।

एक दशक लडाइँ भएपछि देशभरका महत्त्वपूर्ण संरचना छरपस्ट छन्। राष्ट्रसङ्घले उपग्रहबाट सङ्कलित विवरण विश्लेषण गर्दा अलेप्पो सहरमा मात्रै ३५,००० भन्दा बढी संरचनाहरू भत्किएका वा ध्वस्त भएका छन्।

अस्पताल सेवा संरक्षित क्षेत्र अन्तर्गत रहे पनि मार्च २०२० सम्मको विवरण हेर्दा ती सेवा दिने ठाउँमा ५९५ हमला भएका छन् र ९२३ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ।

ती हमलाहरूका कारण देशका आधा अस्पतालमात्रै सेवा दिन सक्ने अवस्थामा छन्।

सिरियाको सांस्कृतिक सम्पदाहरूमा पनि क्षति पुगेको छ।

युनेस्कोको विश्व सम्पदामा सूचीकृत रहेका देशका छ वटै सम्पदाहरूमा क्षति पुगेको छ।

प्राचीन पलमाइरा सहरलाई पनि इस्लामिक स्टेटका लडाकुहरूले ध्वस्त बनाएका छन्।

युद्ध अपराधको संयुक्त राष्ट्रसङ्घको अनुसन्धानकर्ताले "सबैभन्दा जघन्य उल्लङ्घन"का लागि सबै पक्ष जिम्मेवार रहेको जनाएका छन्।

उक्त टोलीको पछिल्लो रिपोर्टका अनुसार सिरियालीहरूले बाक्लो जनसङ्ख्या भएको क्षेत्रमा बम हमला भोगेका छन् र रासायनिक हतियारको हमला सहेका छन्।

देश अहिले कसको नियन्त्रणमा छ?

तस्बिर स्रोत, AFP

सरकारले सिरियाको ठुला सहरहरूमा पुनः आफ्नो नियन्त्रण जमाएको छ तर देशको ठूलो हिस्सा अझै पनि जिहादी र कुर्द नेतृत्वको एसडीएफले नै नियन्त्रणमा राखेका छन्।

विपक्षीहरूको बलियो पकड रहेको अन्तिम क्षेत्र भनेको देशको उत्तर-पश्चिम प्रान्त इड्लिब अनि उत्तरी हामा र पश्चिमी अलेप्पो प्रान्तको आसपासको हिस्सा हो।

उक्त क्षेत्रमा हायात तहरिर अल-शाम भनिने अलकायदासँग सम्बन्धित जिहादी गठबन्धनको प्रभुत्व रहेको छ तर त्यो मूलधारको विद्रोही गुट बस्ने ठाउँ पनि हो।

दश लाख बालबालिकासहित २७ लाख विस्थापित मानिसहरू त्यहाँ बस्छन्। उनीहरू मध्ये त्यहाँ शिविरहरूमा बस्ने धेरैको अवस्था नाजुक छ।

सन् २०२० को मार्चमा इडलिब प्रान्तलाई पुनः सरकारको नियन्त्रणमा ल्याउन रुस र टर्कीले युद्ध विरामका लागि मध्यस्थता गरे।

त्यसयता तुलनात्मक रूपमा अवस्था शान्त छ तर यो कुनै पनि क्षण डगमगाउन सक्छ।

देशको उत्तर-पूर्वमा, टर्कीको फौज र सिरियाका विद्रोहीले कुर्दको वाईपीजी मिलिसिया नरहेको "सुरक्षित क्षेत्र" बनाउन सन् २०१९ को अक्टोबरमा एसडीएफविरुद्ध आक्रामक कारबाही सुरु गरे।

त्यसयता उनीहरूले सिरियाली पक्षको सीमासँगै १२० किलोमिटर ओगटेका छन्।

आक्रमण रोक्न एसडीएफले सिरिया सरकारसँग सम्झौता गर्‍यो जसका कारण सिरियाली सेना कुर्द प्रशासित क्षेत्रमा सात वर्षमा पहिलो पटक फर्कियो।

सरकारले उक्त क्षेत्रमा अन्ततः आफ्नो पूरा नियन्त्रण पुनः जमाउने बताएको छ।

युद्ध अन्त्य होला?

तस्बिर स्रोत, AFP

युद्ध छिट्टै समाप्त होला भन्ने देखिँदैन, तर राजनीतिक निकास चाहिनेमा भने सबै सहमत छन्।

राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् २०१२ मा भएको जिनिभा परिपत्र लागु गर्न आह्वान गरेको छ, जसले "आपसी सहमतिका आधारमा बन्ने" सङ्क्रमणकालीन शासकीय निकायको परिकल्पना गर्छ।

संयुक्त राष्ट्रसङ्घले मध्यस्थतामा नौ चरणको वार्ता भए पनि प्रगति भने भएन।

कुनै पनि किसिमको सम्झौताका लागि राष्ट्रपति असद पदबाट बाहिरिनुपर्ने विपक्षी समूहहरूले बताएपछि त्यसका लागि राष्ट्रपति असद स्पष्ट रूपमा अनिच्छुक देखिए।

सन् २०१७ मा अस्ताना भनिने एउटा समानान्तर राजनीतिक वार्ता रुस, इरान र टर्कीले गरे।

त्यसको एक वर्षपछि संयुक्त राष्ट्रसङ्घको सुपरिवेक्षणमा स्वतन्त्र र निष्पक्ष चुनाव हुने अनि नयाँ संविधान लेख्नका लागि १५० सदस्यीय समिति बनाउने सम्झौता भयो।

तर सन् २०२१ को ज्यानुअरीमा राष्ट्रसङ्घका विशेष दूत गेअर पेडरसनले त्यसका लागि अहिलेसम्म मस्यौदाको कामसमेत सुरु नभएको भन्दै दुःख व्यक्त गरे।

सिरियामा पाँच विदेशी सेना सक्रिय रहेकोले द्वन्द्वको समाधान केवल सिरियालीको हातमा छ भनेर अन्तर्राष्ट्रिय समुदायले बुझ पचाउन नसक्ने पनि पेडरसनले उल्लेख गरे।