कोभिड: भारतमा कोरोना भाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल सरकार के गर्दैछ

पर्सामा टाँगा चालकलाई ज्वरो जाँच

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालले आफ्नो सीमामा कडाइ गर्न थालेको छ

भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएको पुष्टि भएपछि नेपालले अवस्थालाई निगरानी गरिरहेको र त्यसलाई हेरेर थप कदम चाल्ने प्रतिक्रिया स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले दिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलवार १८ राज्यमा नयाँ 'डबल म्यूटन्ट' अर्थात् दोहोरो उत्परिवर्तन भएको कोरोनाभाइरस फेला परेको जनाएको थियो।

एक जनस्वास्थ्यविद्ले सरकारले झारा टार्ने हिसाबले काम गर्न नहुने र विगतबाट पाठ सिकेर बढीभन्दा बढी पीसीआर परीक्षण र जनस्वास्थ्य मापदण्ड पालना हुने कुरा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

भारत सरकारका अनुसार स्थानीय स्तरमा बढिरहेको सङ्क्रमणको दर र नयाँ प्रकारको भाइरसबीच कुनै सम्बन्ध तथ्याङ्कले पुष्टि गरिसकेको छैन।

भर्खरै भारतमा नोभेम्बर महिना यताकै उच्च दैनिक ४७,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको छ।

नेपाली अधिकारी के भन्छन्?

भारतमा सङ्क्रमण दर बढेसँगै नेपालको स्वास्थ्य मन्त्रालयले यसै साता नाकाहरूमा कोभिड-१९ परीक्षणसहित क्वारन्टीन र अन्य जनस्वास्थ्यका मापदण्ड पूरा गर्न आफू मातहतका निकायलाई निर्देशन दिएको थियो।

तस्बिर स्रोत, Reuters

नयाँ अवस्थालाई निगरानी गरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बीबीसीसँग भने, "यस्तो अवस्था आउन सक्छ भनेर हामीले पहिले नै पूर्वानुमान गरिसकेका थियौँ। त्यही भएर हाम्रो तयारी गरिरहेका छौँ।"

"अहिले सीमानाकामा स्वास्थ्य डेस्कहरू छन्। कति ठाउँमा एन्टिजन जाँच गर्ने व्यवस्था मिलाएका छौँ। कोरोनाभाइरस सङ्क्रमण देखिएकोलाई एक्ल्याएर राखिएको छ।"

उनले थपे, "अहिले १६ वटा नाकाहरू छन्, तिनलाई निरन्तर अनुगमन गरिरहेका छौँ। थप केही गर्नुपर्‍यो भने हामी गर्छौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ,

चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने

के नेपालमा पनि नयाँ प्रकार पत्ता लाग्न सक्छ?

नेपालमा कोरोनाभाइरसका नयाँ प्रकारहरू जाँच्ने क्षमता भएका तथा विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाएका प्रयोगशाला र उपकरणहरू नरहेको बताइन्छ।

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले नयाँ किसिमका कोरोनाभाइरस पत्ता लगाउन सक्ने उपकरण झिकाउने काम अन्तिम चरणमा रहेको बताए।

"सबै तालिम भइसक्यो। अब उपकरण र रसायन आउनेबित्तिकै तुरुन्तै जाँच्न सक्छौँ। हप्तादिनभित्र आइसक्छ," उनले भने।

तस्बिर स्रोत, TIM VERNON / SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन,

यो साङ्केतिक चित्रमा नीलो रङ्गमा उत्परिवर्तन भएको कोरोनाभाइरस देखाइएको छ

यसअघि देशको राजधानी र गण्डकी प्रदेशमा यूकेमा देखा परेर १०० भन्दा बढी देशमा विस्तार भइसकेको भनिएको कोरोनाभाइरसको प्रकार फेला परेको विवरण आएका थिए।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नयाँ प्रकारका कोरोनाभाइरस देखा परेको शङ्का लागेमा कस्तो कदम चाल्ने भनेर सरकारले एउटा समूह गठन गरेको जानकारी दिए।

उनले भने, "हामीसँग प्रविधि छ। कुनै अन्य सीक्वन्स भेटियो भने अन्य विज्ञको मद्दत पनि लिन सक्छौँ। विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको प्रयोगशालामा पठाएर प्रमाणीकरण पनि गर्न सकिन्छ। त्यसका लागि कन्सोर्टीअम गठन भएको छ।"

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन,

भारतमा कोभिड पुष्टि हुने दर बढेपछि सतर्क हुन आह्वान गरिएको छ

सरकारको तयारीबारे के भन्छन् विज्ञ?

तर खुला सीमा रहेको छिमेकी देशमा तीव्र गतिमा सङ्क्रमण फैलिँदा सरकारले अहिलेसम्म चालेका पूर्वतयारीका कदम पर्याप्त नरहेको सङ्क्रामक रोगसम्बन्धी विज्ञ डा. अनूप सुवेदी बताउँछन्।

उनले भने, "भारतबाट आउने सबैलाई हामीले व्यवस्थित रूपमा क्वारन्टीनमा राख्न अहिलेदेखि गर्न थाल्यौँ भने सकिन्छ। एकैचोटि १०,००० जना आउन थालेपछि गर्न थाल्यो भने गर्न सकिँदैन।"

उनले थपे, "एन्टिजनको मात्रै भर नपरेर सकेसम्म पीसीआर परीक्षण नै गराउनुपर्छ। हामी दैनिक २०,००० वटासम्म गर्न सक्छौँ भन्ने अवस्थामा पनि पुगेका थियौँ। ती उपकरण अझै छन्, रीएजन्ट अझै सस्तो भएको छ। धेरै मानिसहरूलाई प्राविधिक तालिम छ।"

डा. सुवेदी गाउँगाउँमा आएका मानिसहरूको व्यवस्थापनबारे पनि सरकारले विचार गर्नुपर्ने बताउँछन्।

"तर यो सबै कुरा सरकारले अहिलेसम्म गरेको जस्तो देखिँदैन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ,

५५ वर्षभन्दा माथिका व्यक्तिले कोभिड खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा

नेपालमा अहिलेसम्म साढे १६ लाख जनाभन्दा बढीले कोरोनाभाइरसको खोपको पहिलो मात्रा लगाएका छन्।

नेपालले प्राप्त गरेको २५ लाख मात्रा कोभिड खोपमध्ये बाँकी रहेको मात्रा प्रयोग गरी वैशाख ७ गतेदेखि पहिलो मात्रा लिइसकेका व्यक्तिलाई दोस्रो मात्रा दिन थाल्ने बताइएको छ।

तर थप खोप भित्र्याउन विश्वका कैयौँ देशहरूले जस्तै नेपालले पनि सङ्घर्ष गरिरहेको छ।

यसैबीच भारतले अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकसित तथा भारतको सीरम इन्स्टिट्यूटबाट उत्पादिन कोभिशील्ड खोपको निर्यातमा अस्थायी रोक लगाएको छ।