जोर्ज फ्लोइडः के प्रशिक्षण वा प्रविधिले प्रहरी सङ्गठनबाट हुने हिंसा हटाउन सक्छ

न्यूयोर्क

तस्बिर स्रोत, EPA

अमेरिकामा जोर्ज फ्लोइडको हत्यासम्बन्धी मुद्दामा आरोपित प्रहरी अधिकारी डेरेक चौविनविरुद्ध सुनुवाइ आरम्भ भएको छ।

घटनासम्बन्धी सार्वजनिक भिडिओ फुटेजमा श्वेत जातिका चौविनले अश्वेत पुरुष फ्लोइडको गर्दनमाथि घुँडाले थिचिरहेको देखिन्छ।

जोर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा प्रहरी दमन तथा जातिवादलाई लिएर प्रदर्शनको एउटा नयाँ लहर सुरु भयो। तर प्रहरी दमन तथा जातिवाद अन्त्य हुनुपर्ने माग वर्षौँदेखि हुँदै आएको छ।

सडक प्रदर्शनहरू, प्रशिक्षणमा ल्याइने परिवर्तन अथवा क्यामरा प्रविधिको प्रयोगले के अश्वेत अमेरिकीहरूप्रति प्रहरीले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सक्छन् त भनेर हामीले केलाउने प्रयास गरेका छौँ।

पूर्वाग्रहविरोधी प्रशिक्षण

यो के हो?

निर्णयहरूलाई प्रभावित पार्न सक्ने पूर्वाग्रही सोचलाई चुनौती दिनका निम्ति 'अन्कन्शस बायस' अर्थात् नियतवश नभई अचेतावस्थामै हुने पूर्वाग्रहसम्बन्धी प्रशिक्षण दिने गरिन्छ।

तस्बिर स्रोत, Reuters

फिलाडेल्फिआमा गरिएको एउटा अध्ययनले २९ वटा घटनालाई हेरेको छ जसमा सन्दिग्ध व्यक्तिले हतियार बोकेको हुनसक्ने ठानेर प्रहरीले भुलवश गोली चलाएका थिए। त्यसरी २५ जना अश्वेत जातिका मानिसमा गोली चलाइएकोमा अध्ययनले देखायो।

धेरै मानिसलाई अधिकारीहरूले अप्रत्यक्ष रूपमा वा कारण थाहै नपाई अश्वेत मानिसहरूलाई एउटा ठूलो चुनौतीको रूपमा हेर्ने गरेको यस्तो अध्ययनले देखाउँछ।

'इम्प्लिसिट बायस' अर्थात् अव्यक्त पूर्वाग्रह प्रशिक्षण अहिले ठूल्ठूला कम्पनी तथा संस्थाहरूमा सामान्य भएको छ र अमेरिका लगभग सबै ठूलो प्रहरी बलले यसलाई अङ्गीकार गरेको छ।

के यो उपयोगी हुन्छ?

न्यूयोर्क पत्रिकामा प्रकाशित सिन्सिन्याटी विश्वविद्यालयकी प्राध्यापक रोबिन एन्जलले गरेको अध्ययनका नतिजाअनुसार त्यसले काम गर्दैन।

"इम्प्लिसिट बायसबारे अधिकारीहरूको ज्ञान तथा व्यवहारमा थोरै एवं हल्का परिवर्तनहरू आएको हामीले पायौँ," बीबीसी रेडिओ फोरको एनलिसिस कार्यक्रममा उनले भनिन्।

तस्बिर स्रोत, Getty Images

तर अधिकारीहरूको व्यवहारमा त्यसले परिवर्तन नल्याएको न्यूयोर्कका विभिन्न प्रहरी परिसरमा गरिएका र्‍यान्डम अध्ययनहरूबाट देखियो।

बडी क्यामरा

यो के हो?

प्रहरी अधिकारीहरूको पोसाकमा लगाइएका अथवा जडान गरिएका त्यस्ता क्यामराले घटनाको श्रव्य तथा दृश्यलाई कैद गर्छन् जसलाई घटनापछि विभिन्न कोणबाट पटकपटक हेर्न सकिन्छ।

त्यो भएपछि अनुसन्धानकर्ताहरू प्रत्यक्षदर्शीको बयानमा मात्र निर्भर हुनुपर्दैन।

तस्बिर स्रोत, Getty Images

क्यामराले कुनै घटनाबारे वास्तविक विवरणहरू अभिलेख गर्ने भएकाले उत्तरदायी हुनुपर्ने भएर अधिकारीहरूले उचित निर्णय लिने ठानिन्छ।

के यो उपयोगी हुन्छ?

प्राध्यापक एन्जल भन्छिन्: "त्यसले प्रहरीको व्यवहारमा सकारात्मक प्रभाव पार्ने गरेको कतिपय अध्ययनहरूले देखाएका छन् भने त्यसबाट प्रहरीको व्यवहारमा सामान्य प्रभाव अथवा परिवर्तन आएको अन्य अध्ययनले देखाएका छन्।"

प्राध्यापक एन्जलले काम गर्ने सिन्सिन्याटी विश्वविद्यालयनजिक भएको एउटा घटनामा क्याम्पस प्रहरी अधिकारीले गोली चलाउँदा स्यामूएल डुबोजको मृत्यु भयो।

तस्बिर स्रोत, Hamilton County Prosecutor's Office

कारको नम्बर प्लेट हराएपछि उनी कारभित्र बसेका थिए। त्रिचालीस वर्षीय डुबोज निरस्त्र थिए र प्रहरीले हेरेपछि कार अगाडि बढाउन खोज्दा उनको टाउकोमा गोली प्रहार गरियो।

प्रहरी अधिकारी रे तेन्सिङको पोसाकमा बडी क्यामरा जडान गरिएको थियो।

उक्त घटनामा त्यो क्यामराको कुनै प्रभाव नदेखिएको प्राध्यापक एन्जलको विश्वास छ।

तेन्सिङमाथि हत्यासम्बन्धी अभियोग लगाइयो। तर दुई वर्षपछि न्यायिक समितिमा फरक मतसँगै सुनुवाइ टुङ्गियो र उनीविरुद्धको मुद्दा खारेज भयो।

तनाव न्यूनीकरण तालिम तथा कार्यविधिक न्याय

यी के हुन्?

डेएस्कलेशन अर्थात् तनाव न्यूनीकरणसम्बन्धी तालिममा प्रहरी अधिकारीहरूलाई विस्तारै निर्णयमा पुग्न सिकाइन्छ, मानिसहरूको धेरै नजिक नजान र वार्ता गर्ने आफ्नो क्षमता बढाउन सिकाइन्छ।

त्यसैगरी प्रसीजरल जस्टिस अर्थात् कार्यविधिक न्याय पनि तटस्थ निर्णय लिन र जम्काभेट हुँदा नागरिकहरूलाई आफ्नो कुरा राख्न अवसर दिने कुरामा केन्द्रित हुन्छ।

तस्बिर स्रोत, Getty Images

"यो भनेको मानिसहरूसँग सम्मानपूर्वक प्रस्तुत हुनु हो, प्रहरी अधिकारी भूमिकामा रहेको र नियन्त्रणमा रहेको देखाउन हैन," केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक लरेन्स शरम्यानले बीबीसी रेडिओ फोरको एनलिसिस कार्यक्रममा भने।

के यी उपयोगी हुन्छन्?

कन्टकीको लूईभिलमा गरिएको एउटा नयाँ अध्ययनबाट डेएस्कलेशन तालिमले काम गरेको देखाएको छ।

त्यस्तो प्रशिक्षण लिनेहरूले बल प्रयोग गरेको कम पाइएको र उनीहरू घाइते भएको पाइएको छ।

त्यससम्बन्धी अध्ययनमा सहभागी प्राध्यापक एन्जल भन्छिन्: "यो पहिलो प्रमाण हो जसबाट के देखिन्छ भने प्रशिक्षण र डेएस्कलेशनले अधिकारीहरू तथा नागरिकहरूलाई सुरक्षित तुल्याउँछ।"

कार्यविधिक न्याले पनि सकारात्मक प्रभाव पारेको देखिन्छ।

सडक प्रदर्शन

यो के हो?

सडक प्रदर्शनहरू हिंसात्मक पनि हुन सक्छन्। अनि त्यस्ता प्रदर्शनबारे समाचार पनि आउँछ।

ब्ल्याक लाइभ्स म्याटर अभियानले अमेरिकाभरि प्रदर्शनहरू निम्त्यायो। तर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे।

तस्बिर स्रोत, Reuters

के यो उपयोगी हुन्छ?

म्यासचूसिट्स विश्वविद्यालयमा कार्यरत अर्थविद्‌ ट्राभिस क्याम्प्बेलका अनुसार प्रहरी अधिकारी संलग्न मृत्युका घटनामा कमी ल्याउनुपर्ने मागसँग ब्ल्याक लाइभ्स म्याटर अभियान सम्बन्धित थियो।

सन् २०१४ मा उक्त अभियान सुरु भएको पाँच वर्षयता प्रहरीबाट हुने नागरिक हत्याको घटनामा १५ देखि २० प्रतिशतले कमी आएको उनको अध्ययनले देखाएको छ।

तस्बिर स्रोत, Reuters

प्रहरीमार्फत् शान्ति, सुव्यवस्था कायम गराउने कुरामा अन्य पक्षबारे बताउन नसकिने भए पनि त्यसमा प्रदर्शनको साँच्चै प्रभाव देखिएको अध्ययनले जनाएको छ।