कोभिड नेपाल: सुदूरपश्चिममा कोभिड नियन्त्रणमा तीन समस्या

गाउँमा मास्क वितरण

कोरोनाभाइरस महामारीका क्रममा सुदूरपश्चिम प्रदेशमा तीन मुख्य समस्या छन्।

पहिलो, नेपाल भारत सीमामा आउजाउ रोकिएको छैन, त्यसले गाउँ गाउँमा सङ्क्रमण पुग्ने जोखिम बढेको छ।

दोस्रो, अक्सिजन अभाव छ र शय्या पनि अभाव छ।

तेस्रो बिरामीको चाप बढ्दो छ।

यो प्रदेशका ९ वटै जिल्लामा शुक्रवारसम्ममा ३२ हजार भन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने कम्तीमा २ सय १२ जनाले ज्यान गुमाएका छन्।

हाल १० हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सेती प्रादेशिक अस्पताल 'रेफरल' अस्पताल भएकोले गम्भीर प्रकृतिका बिरामीको चाप बढ्दो रहेको बताइएको छ।

अक्सिजन चाहिने बिरामीलाई राख्ने ठाउँ नभएको अवस्था अहिले पनि कायमै छ।

सेती प्रादेशिक अस्पतालका कोरोनाभाइरस सङ्क्रमित बिरामीहरूको उपचारमा संलग्न डाक्टर नीराजन दत्त शर्माले यस प्रदेशका अन्य जिल्लाबाट गम्भीर किसिमका बिरामी आउने गरेका कारण पनि यो अस्पतालले बढी समस्या खेप्नु परेको बताए।

जनशक्तिको व्यवस्था नगरेरै उपकरण मात्र ल्याउने होडले झनै समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।

अक्सिजनको अभाव

यो प्रदेशको मुख्य समस्या नै अक्सिजन र उचित उपचार नपाउनु हो।

अहिले युनिसेफले अक्सिजन भर्न सहयोग गरेको छ भने डब्लुएफपीले अक्सिजन ढुवानीमा सघाएको छ। तर पर्याप्त मात्रामा अक्सिजन नरहेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवम् स्वास्थ्य मन्त्री कृष्णराज सुवेदीले भने, "प्रदेश सरकार र स्वास्थ्यकर्मी व्यवस्थापन र परीक्षण उपकरण खरिदमा जोड दिन लागे, यस्तो अवस्था आउँछ भन्ने कुरा सोचेकै थिएनौँ।"

सुदूरपश्चिम प्रदेशमा भारतसँग सीमा जोडिएका दुई ठूला २ साना नाकाबाट मात्र होइन अन्य विभिन्न स्थानबाट नेपाल भित्रिने र बाहिरिनेहरूको सङ्ख्या नघटेको अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण कोरोनाभाइरस सङ्क्रमण केही नियन्त्रण भएको देखिए पनि भारतबाट नेपालीहरू भित्रिने क्रमलाई व्यवस्थापन नगरेका कारण यस प्रदेशका गाउँ गाउँमा कोरोना फैलिएको भन्दै नागरिक स्तरबाट गुनासो आउने क्रम पनि रोकिएको छैन।