प्रतिनिधिसभा विघटन: मिडियामा राष्ट्रपतिको आलोचनादेखि विपक्षीका प्रतिक्रियासम्म

समाचार माध्ययमा संसद् विघटन

हामीले यो समाचार तयार पार्दा उपलब्ध भएका केही अखबार र केही अनलाइन मिडियामा कतिपयले सीधा समाचार लेखेका छन् त कतिले प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना गर्दै समाचार लेखेका छन्।

तीमध्ये केही अंश यस्ता छन्:

प्रधानमन्त्रीको सङ्ख्या संसद्‌मा ९३ शीतल निवासमा १५३

नयाँ पत्रिका दैनिकले लेखेको छ:

सिंहदरबारबाट विपक्षी दलहरू दाबी गर्न आउँदैछन् थाहा पाएपछि जसपाको महन्थ राजेन्द्र पक्षले बिहीवार बुझाएको ३२ जना सांसद र एमालेका १२१ गरी १५३ जना सांसदको समर्थन रहेको दाबी पेस गर्न शीतल निवास हानिएका थिए।

जबकि एमालेकै माधव नेपालसहित २६ र उपेन्द्र यादवसहित १२ सांसदले देउवालाई प्रधानमन्त्रीका रूपमा समर्थन रहेको भन्दै हस्ताक्षर बुझाएका छन्।

संविधान च्यातियो- विपक्षी

नागरिक दैनिकले विपक्षी दल माओवादी केन्द्रका वर्षमान पुन र नेपाली कांग्रेसका रमेश लेखकको प्रतिक्रिया छापेको छ। प्रधानमन्त्रीका लागि गरिएको दाबी नपुगेको राष्ट्रपतिको विज्ञप्ति मध्यरातमा आएपछि माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले सामाजिक सञ्जालमा लेखेका छन्, "मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रवार र मध्यरात नै रोज्ने गर्थे।"

कांग्रेस नेता रमेश लेखकको प्रतिक्रिया छ, "राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन्। यिनीबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन।"

तस्बिर स्रोत, OFFICE OF THE PRESIDENT

गोरखापत्र दैनिकले प्रतिनिधि सभा पुन विघटन भन्दै राष्ट्रपतिले जारी गरेको विज्ञप्तिलाई विशेष स्थान दिएर छापेको छ।

नेकपाको एकता के हुन्छ?

राजधानी दैनिकले 'फेरि लफडा' शिर्षकमा लेखेको छ: सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी एमालेको एकता संघारमा पुग्दै गर्दा फेरि अन्योल बढेको छ। विवाद समाधानका लागि गठित कार्यदल बैठक समेत अनिश्चित भएको छ।

प्रतिगमन भाग २

सेतोपाटीले माधवकुमार नेपालले सामाजिक सञ्जालमा राखेको विषयलाई समाचार बनाएको छ। सामाजिक सञ्जालमा उनले लेखेका छन्:

"षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु"

रातोपाटीले संसद् विघटनको मजाक : प्रतिगमन भाग- २ शीर्षकमा विश्लेषण छापेको छ।

विश्लेषणमा लेखिएको छ:

संसद् विघटन भइसकेको छ । वर्षा याम र महामारी दुवै कारणले गर्दा सडक आन्दोलनको मौसम राम्रो छैन । अदालतको पनि भर छैन । अन्तर्राष्ट्रिय शक्तिले आफ्नो पक्षधरता देखाइसकेकै छ । कोरोना लगायतका कारणले कात्तिकमा चुनाव हुन गाह्रो छ । चुनाव भएन भने ओलीको सत्ता अझ लम्बिन सक्छ । ओलीको नेतृत्वमा चुनावै भइहाले पनि निर्वाचन आयोगको भूमिका र ओली सरकारको तौरतरिका हेर्दा त्यो चुनाव बङ्गलादेशको 'हसिना मोडल' मा हुने देखिन्छ ।

तस्बिर स्रोत, RSS

यी सबै परिघटनाले गर्दा प्रतिगमन भाग- २ को एपिसोड गत पुस-फागुनको भन्दा केही लामो हुने देखिन्छ । यसलाई छोट्याउने निकाय भनेको सर्वोच्च अदालत नै हो । या त प्रतिनिधिसभा आफै जाग्नुपर्‍यो, जसको सम्भावना फितलो छ ।

मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिको सक्रियता

देश सञ्चारले मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिको सक्रियता शीर्षकमा लेखेको समाचारमा भनिएको छ:

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी सदर गर्ने आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राति वक्तव्य जारी गरिन् ।

राष्ट्रपतिको वक्तव्य पर्खिएर बसेका प्रधानमन्त्रीले मध्यरातमा मन्त्रीपरिषद्को बैठक राखे । संसद् भङ्ग गरी मध्यावधि चुनावमा जाने सिफारिस मन्त्रीपरिषद्बाट गराई (शनिवार बिहान १२:५० बजे) राष्ट्रपति कार्यालय पठाए ।

तस्बिर स्रोत, RSS

सिफारिस पाए लगत्तै (शनिवार बिहान १ः४९ बजे) राष्ट्रपति भण्डारीले सदर गरिन्। उनले संसद् भङ्गको सिफारिस सदर गरि मध्यावधि चुनावको घोषणा गर्दा शुक्रवार राति (शनिवार बिहान) को लगभग २ बजिसकेको थियो।

गएको पुस यता स्पष्ट रूपमा अस्थिर बनेको र निशानामा आएको संसद्को आयु समाप्त हुन शुक्रवार राति र शनिवार बिहानसम्म बालुवाटार, शीतल निवासको सक्रियता देखियो।