कोभिड नेपालः सङ्क्रमित व्यक्तिको अन्तिम संस्कार गर्न सघाउँछन् विराटनगरका स्वयंसेवीहरू

  • विक्रम निरौला
  • विराटनगर
कोभिडबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार
तस्बिरको क्याप्शन,

कोभिडबाट मृत्यु भएका मानिसको दाहसंस्कारमा विराटनगरका स्वयंसेवी युवाहरूले सघाइरहेका छन्

देशका विभिन्न स्थानमा कोभिड-१९ बाट मृत्यु भएका मानिसको शव व्यवस्थापनमा चर्को शुल्क लिइँदै आएको विवरणहरू आइरहँदा प्रदेश नं १ को राजधानी विराटनगरमा भने स्वयंसेवीहरूले निःशुल्क सेवा प्रदान गरिरहेका छन्।

बरगाछी युवा समूहमा आबद्ध विराटनगरका छ युवाहरूको एउटा स्वयंसेवी टोलीले घर तथा अस्पतालमै पुगेर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव मसानघाटसम्म पुर्‍याएर अन्तिम संस्कार गर्ने गरेको छ।

गत सालको कोभिड फैलिँदा उनीहरूले सङ्क्रमितहरूका घरघरमा पुगेर निस्सङ्क्रमण गर्ने अभियान चलाएका थिए।

उक्त समूहका एकजना सदस्य राम नेपालले कोभिड-१९ लागेकाहरूलाई समाजले हेर्ने घृणाभाव परिवर्तन गर्न आफूहरू त्यस्तो अभियानमा लागेको बताए।

सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर आफूहरूले शव व्यवस्थापन गर्ने गरेको उनीहरू बताउँछन्।

शव व्यवस्थापन गरेबापत स्वास्थ्य सुरक्षा सामग्रीबाहेक अन्य कुनै पनि शुल्क नलिने उक्त समूहका अर्का सदस्य रोविन कार्कीले बताए।

विराटनगर महानगरपालिकाले स्वयंसेवीहरूको जीवनबीमा गर्नुका साथै शववाहन, स्वास्थ्य सुरक्षा सामग्री, क्वारन्टीनमा खाने र बस्ने व्यवस्था मिलाइदिएको महानगरप्रमुख भीम पराजुली बताउँछन्।

मृतकका आफन्त 'सन्तुष्ट'

नेपाली सेनाले सङ्क्रमित व्यक्तिको शव व्यवस्थापन गर्दै आए पनि त्यसको प्रक्रिया पुर्‍याउन निकै समय पर्खिनुपर्ने भएका कारण कतिपय मृतकका आफन्तले आफूहरूलाई खबर गर्न थालेको उनीहरू बताउँछन्।

युवा स्वयंसेवीहरूले जोखिम मोलेर चलाएको अभियानलाई मृतकका आफन्तहरूले पनि प्रशंसा गरेका छन्।

विराटनगर-२ का राजु शर्माले आफन्तको शव व्यवस्थापन गर्न समस्या भइरहेका बेला घरमै आएर स्वयंसेवीहरूले गुन लगाएको बताए।

के भन्छ सुरक्षा निकाय

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयले परिवार वा आफन्तको इच्छाअनुसार शव व्यवस्थापन गर्न दिने गरिएको बताए।

पहिले सेनाले त्यस्ता शव जङ्गलमा लगेर व्यवस्थापन गर्ने गरिए पनि उच्च अदालत विराटनगरले आफ्नो जातीय परम्परा र संस्कारअनुसार अन्तिम संस्कार गर्न दिनुपर्ने आदेश दिएपछि स्थिति परिवर्तन भएको छ।

सङ्क्रमितको शव व्यवस्थापन जसले गरे पनि त्यसको विवरण सम्बन्धित जिल्ला प्रशासन र प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाउने व्यवस्था मिलाइएको अधिकारीहरू बताउँछन्।

प्रदेश नं १ मा कोभिड सङ्क्रमणका कारण ७०० जनाभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ।