कोभिड नेपालः कोरोनाभाइरस सङ्क्रमण र मृत्युदर कहिलेदेखि ओरालो लाग्ला, विज्ञ के भन्छन्

  • गनी अन्सारी
  • बीबीसी न्यूज नेपाली
नेपाल

तस्बिर स्रोत, EPA

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभरि प्रतिबन्धात्मक कदमहरू जारी रहँदा अहिले पनि औसतमा दैनिक आठ हजार सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोभिड-१९ सँग सम्बन्धित कारणले दैनिक औसतमा १५० देखि २०० जनासम्मको मृत्यु हुने गरेको छ।

मङ्गलवारसम्म नेपालभरि एक लाख १७ हजार जनामा सक्रिय सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये एक लाख आठ हजार घरमै र ८,८३३ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कहिलेदेखि ओरालो लाग्ला?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल फैलिएका तीनवटा भेरिअन्टमध्ये बी.१.६१७.२ भेरिअन्ट मुख्य रूपमा फैलिएको छ।

तुलनात्मक रूपमा बढी सङ्क्रामक देखिएको उक्त भेरिअन्ट गत वर्ष भारतमा सबैभन्दा पहिला पुष्टि भएको थियो।

मानिसहरूको आवतजावत प्रभावकारी रूपमा नियन्त्रण नहुँदा र कतिपय सेवा तथा कार्यले निरन्तरता पाइरहँदा सङ्क्रमण दर अपेक्षाकृत रूपमा कम हुन नसकेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सोमवार गुनासो गरेका थिए।

उनका अनुसार आगामी चार सातामा सङ्क्रमण दर क्रमिक रूपमा घट्दै जान सक्ने सरकारको प्रक्षेपण छ।

तस्बिर स्रोत, EPA

पछिल्ला दिनमा सङ्क्रमण दर स्थिर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन्।

निषेधाज्ञा कडा हुन नसकेको स्वास्थ्य अधिकारीहरूको गुनासोबीच बढी सङ्क्रमण देखिएको काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा जेठ १४ गतेदेखि खाद्यान्न र किनारा पसल पनि बन्द गराउने गरी स्थानीय प्रशासनहरूले निर्णय गरेका छन्।

सङ्क्रमणदर घट्नेबारे के भन्छन् विज्ञ?

पछिल्लो समय सङ्क्रमित हुनेको सङ्ख्या केही घट्न थालेको देखिए पनि सङ्क्रमण फैलिने क्रम नरोकिएको अमेरिकाको मिनसोटा राज्यस्थित चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत भाइरोलोजिस्ट डा. सुदीप खड्का बताउँछन्।

"दुई साता पहिलाको भन्दा सङ्क्रमण दर केही घटेको हुनुपर्छ। तर सङ्क्रमण फैलिन चाहिँ रोकिएको छैन," उनले भने।

"ओरालो लाग्न अझ समय लाग्न सक्छ किनभने लकडाउन गरिएको दुई हप्तापछि आएर सङ्ख्यामा अलि कमी आएको मात्र देखिन्छ।"

नेपालमा सङ्क्रमण घट्न थालेको भन्नलाई अहिले नै ठोस आधार नदेखिएको सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात बताउँछन्।

"केही दिनयता सङ्क्रमणको प्रवृत्ति हेर्दा अलि घट्न थालेको हो कि जस्तो देखिन्छ। तर परीक्षण नै कम गरेको हो कि भन्ने पनि छ। अतः घट्न थालेकै वैज्ञानिक रूपमा स्पष्ट आधार छैन," उनले थपे।

ठ्याक्कै कति समयपछि नेपालमा सङ्क्रमण दर घट्छ भन्नेबारे प्रक्षेपण गर्न सकिने अवस्था नरहेको प्राध्यापक बस्न्यातको तर्क छ।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार सङ्क्रमण उच्चबिन्दुमा पुगिसकेकै स्थानमा परीक्षण केन्द्रित भएकोले पनि पछिल्लो समय सङ्क्रमितको सङ्ख्या कम देखिएको हुन सक्छ।

"अहिले पनि धेरै ठाउँ छन् जहाँ परीक्षण पुग्न सकिरहेको छैन। त्यसैले फरकफरक ठाउँमा सङ्क्रमणको फरकफरक ट्रेन्ड हुन सक्छ,"उनले थपे।

तस्बिर स्रोत, EPA

मृत्युदर घट्न कति समय लाग्ला?

सङ्क्रमण दर घट्न थाल्दैमा सोही समयमा मृत्युदर नघट्न सक्ने विज्ञहरू बताउँछन्।

"पहिला सङ्क्रमण घट्छ र त्यो क्रमलाई जारी राख्न सकियो भने बिस्तारै मृत्युदर घट्न थाल्छ। ह्वात्तै घट्ने कुरा हुँदैन। सङ्क्रमणदर कम र त्यही बेला मृत्युदर पनि कम हुने हुँदैन," प्राध्यापक बस्न्यात औँल्याउँछन्।

भाइरोलोजिस्ट डा. खड्का पनि त्यसमा सहमत देखिन्छन्। मृत्युदरमा कमी आउनलाई अझै समय लाग्ने उनी बताउँछन्।

"दुई घटना [सङ्क्रमण दर र मृत्युदर] बीच समयको अन्तर हुन्छ। शुरूवातमा सङ्क्रमण बढ्छ त्यसपछि त्यसका कारण हुने मृत्युदर बढ्छ।"

"अतः सङ्क्रमणको दर ओरालो लाग्न थाल्यो भने पनि त्यसको केही समयपछाडि मात्रै मृत्युदर घट्न थाल्छ," उनी भन्छन्।

तस्बिर स्रोत, EPA

सरकारले अब के गर्नुपर्छ?

लकडाउनसँगै कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने कार्यलाई तीव्र बनाइए रोकथाम तथा नियन्त्रण गर्न सकिने सङ्क्रामक रोग विशेषज्ञ सुवेदी बताउँछन्।

"एउटा बिन्दुमा पुगेपछि सरकारले लकडाउन पनि हटाउने होला। त्यसो भएको हुनाले समुदायमा सङ्क्रमण फैलिन नदिने कामहरू नगरिएसम्म रोकथाम तथा नियन्त्रण गर्न सकिँदैन।"

रोकथामको दिशामा सङ्क्रमित तथा सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण छुटाउनै नहुनेमा भाइरोलोजिस्ट डा. खड्का जोड दिन्छन्।

"यदि कसैलाई सङ्क्रमणको शङ्का भएको छ वा सङ्क्रमितको सम्पर्कमा कोही पुगेको छ भने पीसीआर गर्नबाट ऊ नछुटोस् ताकि सङ्क्रमितलाई पहिचान गरी हामीले आइसोलेशनमा राख्न सकौँ र उसबाट अरूलाई फैलिन नदिऊँ।"

कोरोनाभाइरसको पहिलो लहरका बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व गरेका डा. वासुदेव पाण्डे पनि सङ्क्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक कदम एउटा मात्रै पाटो भएको बताउँछन्।

"नेपालको कुरा मात्रै होइन जुनसुकै देशमा पनि सङ्क्रमितलाई पत्ता लगाएर उसबाट अरूलाई सर्नबाट रोकेर चेन ब्रेकको शुरूवात गर्ने हो," उनले भने।

"सङ्क्रमित भइरहन दिने र उपचारका लागि अस्पतालको व्यवस्थापनमा मात्रै लागिरहने हो भने सङ्क्रमण फैलने सिलसिला रोकिँदैन।"

समुदायस्तरमा सङ्क्रमण फैलिसकेको भए पनि नेपालमा कन्ट्याक्ट ट्रेसिङको काम हुन नसकेको उनी बताउँछन्।

सङ्क्रमणको 'चेन ब्रेक' गर्ने दिशामा लकडाउन 'ब्रह्मास्त्र'जस्तै भए पनि पछिल्लो राजनीतिक घटनाक्रमले पनि आगामी दिनबारे सङ्केत गर्ने भाइरोलोजिस्ट खड्का बताउँछन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनितिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक राजनीतिक रूपमा थप ध्रुवीकृत हुन पुगेको छ।

"अहिलेको राजनीतिक उथलपुथलले सामाजिक रूपमा के कस्तो असर पार्छ त्यसले पनि निर्धारण गर्नेछ," भाइरोलोजिस्ट खड्काले भने।

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खोपबाहेक अरू उपायहरू अस्थायी मात्रै भएको प्राध्यापक बस्न्यान्तको तर्क छ।

"खोपबाहेक अरू विकल्पहरू अस्थायी उपाय मात्रै हुन्। मानिसहरूले खोप नलगाएसम्म यो रूप चलिरहन्छ।"