ओलिम्पिक्स नेपाल: नामसिंह थापाको सम्झनामा रोमाञ्चक ओलिम्पिक यात्रा

  • नामसिंह थापा
  • टोक्यो ओलिम्पिक्स १९६४ मा सहभागी नेपाली खेलाडी
टोक्यो ओलिम्पिक्स

तस्बिर स्रोत, Nam singh thapa collection

प्लाटुन कमान्डर सार्जेन्टले कान समात्दै मेरो हातमा बक्सिङ पञ्जा राखिदिए र सिधै रिङमा पुर्‍याए। रिङ वरिपरि ठुलो भिड चिच्याइरहेको थियो।

यो सन् १९६० को कुरा हो। म १४ वर्षको थिएँ र ब्रिटिश गोर्खाको 'ब्वाइ इन द ब्वाइज' कम्पनीमा भर्ना हुन मलाया (मलेसिया) पुगेको थिएँ।

मैले पहिलो पटक बक्सिङको नाम सुनेको त्यहीँ नै हो। पल्टनमा त्यो खेल अनिवार्य थियो, जुन खेल्न नपरोस् भनेर म भागीभागी हिँडेको थिएँ। त्यो दिन पक्राउ परिहालेँ।

कहीँ घण्टी बजेको जस्तो आवाज के सुनेको थिएँ मेरो विपक्षीले लगातार मलाई मुक्का बर्साउन थालिसकेका थिए।

केही मुक्का भेटेपछि मैले सहन सकिनँ। अनि दुवै हात अन्धाधुन्ध घुमाउन थाले।

अन्तिममा त मैले नै पो जितेछु। मुढे बलले काम गरेछ। यसरी एकाएक म त्यो दिनको हिरो भएँ। अनि बक्सिङमा रस बस्यो।

बक्सिङ 'करिअर'

मेरो नाम नामसिंह थापा फल मगर हो।

स्याङ्जा र पोखराको बीचको एउटा दुर्गम पहाडी गाउँ मनकामना गाविस बलेउ- ५ मा म जन्मेको हुँ।

पानी थाप्न ४५ मिनेट हिँडेर जानुपर्थ्यो। बुटवल सहर पुग्न छ घण्टा लाग्थ्यो।

गाउँमा गाईभैँसी चराएर हुर्केको ज्यान। दुख त जन्मेदेखि सिकेको हुँ।

ज्यान बनाउन केही गर्न पछि पर्दिनथेँ, पल्टनमा पुग्ने रहर जो थियो। पाखुरा बलियो बनाउन भनेर ढुङ्गा बोकेर अभ्यास गर्थेँ।

त्यसरी दुखेर बनेको ज्यान पो हो त। अनि कसैले त्यसै कहाँ कुट्न सक्छ र यो ज्यानलाई।

तस्बिर स्रोत, Nam singh thapa collection

सुगेई पटानीमा दुई वर्ष लडाइँ लड्ने कला सिक्न कडा प्रशिक्षण गरेँ।

पल्टनमा थुप्रै खेल हुन्थ्यो। क्रिकेट, हक्की, पौडी, जिम्न्यास्टिक्स, भलिबल, एथलेटिक्स आदि। मलाई भने बक्सिङ प्यारो लाग्यो।

मलाया, पेनाङ र सिंगापुरमा बक्सिङ भिड्न गइन्थ्यो। त्यहाँ मलेसियाली, चिनियाँ, तमिल र भारतीयहरूसँग टक्कर हुन्थ्यो।

जुनियर प्रशिक्षण सकिएपछि म 'सेकेन्ड बटालियन सिक्स क्विन एलिजाबेथ गोर्खा राइफल' रेजिमेन्टमा भर्ना भएँ र हङकङ पुगेँ।

सोचेको थिएँ यता बक्सिङ खेलिन्न। तर ठिक उल्टो भयो।

बटालियनमा बक्सिङ पहिले नै रहेछ। त्यहाँ प्लाटुन कमान्डरले मलाई बक्सिङ खेल्न प्रेरित गरे। अनि म 'ब्रिगेड अफ गोर्खा'को मुख्य खेलाडी भएँ।

त्यति बेला बटालियनबीच र सेनाहरूको विभिन्न निकायहरूबीच नै कडा टक्कर हुन्थ्यो।

पहिलोपटक मैले ल्यान्ड फोर्स बक्सिङ च्याम्पियनशीपमा खेलेँ। प्रतिद्वन्द्वी रोयल ग्रीन ज्याकेट रेजिमेन्टका थिए।

दोस्रो राउन्डमै उनलाई घुँडा टेकाएँ। त्यसपछि कति खेलियो, खेलियो। जितियो पनि उति नै।

सिंगापुरमा हुने 'फार इस्ट ल्यान्ड फोर्स बक्सिङ च्याम्पियनशीप' सन् १९६३/६४ खेल्न बटालियनबाट छनोट भएँ। छानिएकामा म मात्र गोर्खाली थिएँ।

त्यहाँका प्रतिद्वन्द्वी 'रोयल एयर फोर्स', 'रोयल नेभी' र आर्मी बटालियनकाहरू थिए।

त्यो मेरो जीवनको उत्कृष्ट खेल मध्येमा पर्छ। उपाधि मैले जितेँ। पुरस्कारमा २५ हजार हङकङ डलर अनि 'अल इन्डिया बेल्ट' थियो। सिंगापुरबाट हङकङ फर्किँदा त प्लाटुनमा सम्मानको ओइरो आयो।

'हङकङ कोलोनी बक्सिङ च्याम्पियनशीप' जितेँ। 'हङकङ एमेच्योर बक्सिङ एशोसिएसन'को प्रतियोगितामा त बबाल नै भयो।

त्यहाँ चिनियाँ प्रतिद्वन्द्वीलाई हराउँदै म फाइनलमा पुगेँ।

तर राम्रो खेल्दाखेल्दै पनि रेफ्रीले मलाई हराइदियो। रिसाएका दर्शकहरूले उपद्रो नै मच्चाएका थिए।

मलाई 'मोस्ट इम्प्रुभ्ड बक्सर १९६४' को उपाधिले सम्मान गरे।

तस्बिर स्रोत, NAm singh thapa collection

हङकङ बक्सिङ एशोसिएसनले मलाई आजीवन हङकङमा बस्न र व्यावसायिक बक्सर बन्न प्रस्ताव राख्यो। 

तर मेरो कमान्डरले प्रतिभाशाली फौजीले बक्सर बनेर जीवन बिताउन नहुने भनेर मानेनन्।

त्यही बेला मैले आफ्नै देशबाट ओलिम्पिकमा प्रतिनिधित्व गर्ने महान् अवसर पाएँ।

टोक्यो यात्रा

त्यो बेला हाम्रो बटालियनका बक्सिङ प्रशिक्षक विली टिङनर थिए। अस्ट्रेलियाका उनी आफ्नो देशको छ वर्षसम्मका फ्लाईवेट च्याम्पियन थिए।

उनैले तत्कालीन राजा महेन्द्रसँग सम्पर्क गरेर हङकङमा राम्रा नेपाली खेलाडी रहेको र उनीहरूलाई ओलिम्पिक खेलाउन अपिल गरेका रहेछन्।

राजाबाट स्वीकृति पाएपछि म लगायत चार बक्सरले ओलिम्पिक खेल्ने अवसर पायौँ।

हामी भर्खरभर्खर चर्चित हुँदै थियौँ, ओलिम्पिक जस्तो ठूलो खेलमा गाह्रो होला भन्ने डर थियो।

कमान्डरले हौसला बढाउँदै भनेका थिए - "यसपालि ओलिम्पिक्समा राम्रो गर्न पनि नसके पनि तिमीहरू सन् १९६८ मा मेक्सिकोमा हुने खेलमा भाग लिन जानुपर्छ।"

हामी ५ अक्टोबर १९६४ मा सामान बोक्ने सैनिक जहाजमा चढ्यौँ। बस्ने राम्रो सिट पनि थिएन। हामी त एकदमै गाह्रो गरी ओलिम्पिकमा पुग्यौँ।

हाम्रो जहाज एक घण्टाको उडानपछि सैगुन भन्ने ठाउँमा तेल भर्नका लागि ओर्लियो। छ घण्टाको उडानपछि जापानको ओकिनावास्थित 'अमेरिकन एअर फोर्स बेस क्याम्प'मा ओर्लियौँ।

त्यो दिन हामीलाई त्यहाँको 'जेट फाइटर्स, मिसाइल्स, बम र मिलिटरी हेलिकोप्टर'को निरीक्षण गर्ने मौका पनि मिल्यो। त्यो भ्रमणको फोटो मिलिटरी जर्नलमा छापिएको रहेछ।

ओलिम्पिक भिलेज

भोलिपल्ट अपराह्न चार बजेतिर हामी टोक्यो पुग्यौँ। हामीलाई ओलिम्पिक भिलेज लगियो।

त्यहाँको व्यवस्था त गज्जबकै रहेछ। परम्परा भन्दै हामीलाई घरको तीन चक्कर लगाएर मात्र भिलेज छिराइयो।

नेपाली झन्डा भएको घर। त्यहाँ नेपालबाट आएका दुई धावक सहितका पदाधिकारीहरूसँग भेट भयो।

त्यहाँको व्यवस्थापन पनि एकदमै राम्रो थियो। दुई वटा कार र ड्राइभरसहित एउटा ल्यान्ड रोभर हाम्रो लागि राखिएको थियो।

हरेक १०/१० मिनेटमा गाडी गुडिरहने। साइकलहरू फ्रीमा चढ्न पाइने। साइकल टिप्यो, आफू पुग्नुपर्ने ठाउँमा पुग्यो र त्यहीँ छोड्यो। यस्तो सुविधा थियो। ट्रेन पनि सित्तैमा चढ्न पाइने।

भिलेजमा फिल्म हेर्ने र 'क्लासिकल' गीत सुन्ने थिएटर थियो। खेलकुद पसल अनि विभिन्न देशको मिल्दोजुल्दो खाना २४ घण्टै पाइन्थ्यो। हामी त छक्क पर्ने नै भयौँ।

हामी पल्टने मान्छे। यसो बियर खान मन लाग्थ्यो। तर त्यहाँभित्र कहाँ पाउनु? बेला बेला घाँटी खसखसाउँथ्यो।

१० अक्टोबरमा उद्घाटन समारोह भयो। हामीले नेपालबाट ल्याएको रातो रङ्गको कोट लगायौँ। अझैसम्म त्यो कोटको माया लाग्छ।

ओलिम्पिक प्रतिद्वन्द्वी

१६ अक्टोबर। म त्यति बेला १८ वर्षको जल्दोबल्दो बक्सर थिएँ।

पहिलो राउन्डमै अमेरिकी खेलाडीसँग परियो। उनले १९६० रोम ओलिम्पिकमा कास्य पदक जितेका रहेछन्।

तस्बिर स्रोत, Nam singh thapa collection

उनी ३३ वर्षका थिए म जम्मा १८। उनी धेरै अनुभवी खेलाडी, म यता हङकङतिर मात्रै भिडेको थिएँ।

त्यो खेल जित्न सके मैले पनि कास्य पदक पाउने थिए। जोसका साथ मज्जाले भिडेँ। तर ती अमेरिकी खेलाडी ज्यादै तगडा थिए।

दुई मिनेट ४५ सेकेन्ड खेलेपछि म धेरै घाइते हुन्छु भन्ने बुझेर होला रेफ्रीले बीचमै खेल रोकेर उनलाई जिताइदिए।

१३ अक्टोबरमा भीमप्रसाद गुरुङले खेले। पश्चिम जर्मनीका खेलाडीसँग तीन राउन्डसम्म लडे तर जित्न सकेनन्।

१४ अक्टोबरमा रामप्रसाद गुरुङको खेल हंगेरीका खेलाडीसँग थियो। उनी युरोपियन च्याम्पियन पनि रहेछन्। हंगेरीका खेलाडीले जिते।

१५ अक्टोबरमा ओमप्रसाद पुनको खेल इथियोपिया खेलाडीसँग थियो। भाग्यवश खै कुन्नि के कारण हो इथियोपिया खेलाडी 'डिस्क्वालिफाई' भएछन्। त्यसपछि पुन सेकेन्ड राउन्डमा पुगे।

दोस्रो राउन्डमा भने पोल्यान्डका खेलाडीले पुनलाई 'नकआउट' गरे। ती ज्यादै बलिया खेलाडी थिए।

त्यति बेला ओलिम्पिकको दोस्रो चरणमा पुग्नु नै हाम्रो यात्राको उपलब्धि भयो।

अटोग्राफ माग्नेको ओइरो

भिलेजमा नेपालबाट आएका प्रतिनिधिहरूसँग हाम्रो धेरै कुराकानी भएन।

"राम्रो खेल्नुपर्छ है" भन्थे। सबै व्यस्त थिए।

एथलेटिक्सका दुई जनासँग पनि खासै भेट भएन। उनीहरू आफ्नै ठाउँमा र हामी आफ्नो ठाउँमा अभ्यास गर्न जान्थ्यौँ।

भिलेज बाहिर सहरबजार कस्तो छ भनेर चार जना घुम्न गएका थियौँ। तर कहाँको घुम्न पाउने नि 'अटोग्राफ' माग्नेहरूको घुइँचो थियो।

नेपालमा अफर

हामी जसरी जापान पुगेका थियौँ त्यसरी नै हर्कुलस चढेर आफ्नो पल्टनमा फर्कियौँ।

नेपालमा तत्कालीन राजा महेन्द्रबाट हामीलाई बोलावट भएको रहेछ। तर हाम्रो टेलिफोन वा सम्पर्क नम्बर नभेटिएको भन्ने कुरा नेपाल आएर थाहा भयो।

बेलायती महारानी एलिजाबेथसँग हात मिलाएको सम्झिएँ। तर आफ्नै राजालाई भने भेट्न पाइनँ।

बेलायत पल्टनमा १२० मिलिमिटर 'कम्ब्याट गनको डिस्प्ले शो' हेर्न आएकी महारानीलाई मैले त्यो देखाउन पाएको थिएँ।

महारानीले खुसी भएर मसँग हात मिलाएर तीन मिनेट कुरा पनि गरेकी थिइन्।

ओलिम्पिक खेलेको पाँच वर्षपछि नेपाल आएँ। सेनाका कप्तानले नेपाली सेनामा जागिर खान प्रस्ताव राखे।

तर आफू त लाहुरे मान्छे, विदेशीको पछि लाग्ने बानी परेको थियो। जागिर खाइनँ।

अवकाशप्राप्त जीवन

सन् १९८६ मा अवकाश पाएर म नेपाल फर्किएँ।

बुटवलमा सानो घर बनाउँदै थिएँ, आफ्नै पल्टनका ब्रिगेडियर हेन डि गेजसँग भेट भयो।

उनले राप्तीमा 'वेल फेयर अफिसर'को जागिरको प्रस्ताव राखे।

घरबाट नजाऊ भन्दाभन्दै गएँ। त्यहाँ साढे तीन वर्ष काम गरेर जागिर छोडेँ। अनि बुटवलमा सानो कुखुरा फार्म बनाएँ।

३२ रुपैयाँमा एक क्रेट बेच्थेँ। महिनाको ६/७ हजार कमाइ हुन्थ्यो।

पल्टनमा कृषि, पोल्ट्री फार्मिङ, मार्केटिङ सबै सिकाउँथ्यो। त्यो ज्ञानले सजिलो भयो। तर सात जनाको परिवार पाल्न त्यतिले पुगेन। अनि काठमान्डू आएँ।

सन् १९९३ मा फेरि हङकङ आएँ। यहाँ अवकाशप्राप्त जीवनको अर्को अध्याय सुरु भयो।

चिनियाँहरू भूतपूर्व ब्रिटिश गोर्खा भनेपछि भुतुक्कै हुन्थे।

त्यतिबेला 'फोर ग्याङ' भन्ने समूह थियो। चोरीडकैती असाध्यै धेरै हुन्थ्यो। धनीहरू सुरक्षा गार्ड राख्थे।

मैले सुरक्षा पर्यवेक्षकको जागिर पाएँ। म यतै रमाउन थालेँ। अनि कागज बनाएर यतै बस्न थालेँ।

नेपालीले पदक जितेको हेर्ने रहर

सन् २०१२ को लन्डन ओलिम्पिक्सका बेला पहिलो पटक ओलिम्पिक्स खेलेकाहरू सबैको निधन भइसक्यो भन्ने हल्ला चलेछ।

म त जिउँदै थिएँ। ओम चाहिँ बितिसकेको रहेछ। भीमबहादुर बेपत्ता थियो। पछि बितिसकेको खबर सुनियो।

जीवित म र रामप्रसाद गुरुङ मात्रै हो। बेलाबेलामा हामीबीच कुरा भइरहन्छ।

त्यसपछि बक्सिङ सङ्घले बोलाएर सम्मान गर्‍यो। सरकारले पनि ओलिम्पियनलाई दिने सम्मान दियो। खुसी लाग्छ। ओलिम्पियन हुनुको इज्जत बुढेसकालसम्म पाइएको छ।

यसपालि फेरी जापानमै ओलिम्पिक्स हुने खबरले विगतका सम्झना ताजा भएर आयो। जापान जाने खेलाडीहरूलाई बधाई र शुभकामना दिएँ।

अहिले ७५ वर्षको उमेरमा मनमा एउटा रहर पलाएको छ। हामीले उति बेला सुरु गरेको यात्रामा यतिका वर्ष बितिसक्दा पनि कुनै नेपालीले पदक जित्न सकेका छैनन्।

इच्छा छ - यो ज्यान रहँदै नेपालीले ओलिम्पिक्समा पदक जितेको हेर्न पाउँ। मनलाई शान्ति मिल्नेछ।

(निरञ्जन राजवंशीसँगको कुराकानीमा आधारित)