महाकाली तुइन प्रकरणः नदी पारे गरेका चार प्रत्यक्षदर्शीले सुरक्षाकर्मीलाई भने, 'जयसिंह धामी तरिरहँदा एसएसबीका सुरक्षाकर्मी देख्यौँ'

गृहमन्त्रालय

तस्बिर स्रोत, MOHA

तस्बिरको क्याप्शन,

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन्

भारतीय सीमा सुरक्षा बलले डोरी काटेपछि व्याँस गाउँपालिकामा तुइन तर्दै गरेका एक नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको दाबीबारे अनुसन्धान गर्न दार्चुला जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको एउटा टोली घटनास्थलतिर गएको छ।

उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाउन खटाइएको टोलीले घटनास्थल पुगेर वास्तविकता पत्ता लगाउने बताइएको छ।

हाल व्याँस गाउँपालिकाको खाङ्दाङ मालघाटतर्फ गइरहेको टोलीमा पाँच सदस्य छन्। त्यसको नेतृत्व जिल्लास्थित सशस्त्र प्रहरी बलका डीएसपी वीरसिंह धामीले गरेका छन्।

टोलीमा दार्चुलास्थित नेपाल प्रहरीका निमित्त प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि पनि छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले व्याँस गाउँपालिकामा शुक्रवार घटेको उक्त घटनाबारे अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको भोलिपल्ट सुरक्षाकर्मीको उक्त टोली घटनास्थलतर्फ परिचालित भएको हो।

जयसिंह धामीबारे हामीलाई के थाहा छ?

महाकाली नदीमा खसेका भनिएका जयसिंह धामी अझै बेपत्ता रहेको अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगारीको अवसर खोज्दै काठमाण्डू जानका हिँडेका उनले जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्न खोजेको विवरण विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको छ।

Map

व्याँस गाउँपालिका वडा नम्बर २ मालघाटबाट तुइन तरेर भारतको पिथौराकोट जिल्लामा पर्ने पाँगला पुगिन्छ। त्यहाँबाट यातायातका साधन चढेर भारतको धार्चुला हुँदै नेपालको दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा झन्डै दुई घण्टामा पुग्न सकिने बताइन्छ।

धामीको खोजी गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा शुक्रवारबाटै परिचालित थिए।

तर शनिवार बिहानै सत्यतथ्य बुझ्न सशस्त्र प्रहरी बलका डीएसपीको नेतृत्वमा घटनास्थलमा टोली पठाइएको हो।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

प्रधानमन्त्रीकै दलले यो घटनाका बारेमा सरकारले भारतसँग कुरा गर्नुपर्ने बताएको छ

उक्त टोलीमा रहेका दार्चुलाका निमित्त प्रहरी प्रमुख नरेन्द्र चन्दले बीबीसीसँग भने, "हामी भारतीय सडक मार्ग पार गरेर अब हिँड्दै घटनास्थलतर्फ गइरहेका छौँ। हामी आजै बेलुकासम्म उक्त स्थानमा पुग्छौँ र सत्यतथ्य बुझ्छौँ।"

उक्त टोलीले घटनास्थलमा जाने क्रममा जयसिंह धामीभन्दा अगाडि सो तुइन पार गरेका चार व्यक्तिहरूलाई भेटेको जनाएको छ।

एसएसबीबारे के भन्छन् प्रत्यक्षदर्शी?

निमित्त प्रहरी प्रमुख चन्दले आफूहरूले उनीहरूलाई यातायत खर्च दिएर राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधिसहित पुनः सदरमुकाम पठाइदिएको बताए।

तस्बिर स्रोत, Santos Kottari

तस्बिरको क्याप्शन,

फाइल तस्बिर

उनले भने, "उनीहरूले जयसिंह धामीले तुइन तर्दै गर्दा आफूहरूले भारतीय एसएसबीका दुई जनालाई घटनास्थलमा आइरहेको देखेको हामीलाई जानकारी दिएका छन्। तर तार काटेको नदेखेको बताएका छन्।"

चन्दका अनुसार घटनास्थल 'कोप्चोकोप्चो' भूभागमा रहेको भन्दै अरू आफूहरूले नदेखेको उनीहरूले बताएका थिए।

जिल्ला सुरक्षा समन्वय समितिलाई थप सोधपुछ गर्न र अनुसन्धान गर्न सजिलो होस् भनेर प्रत्यक्षदर्शीहरूलाई सदरमुकाम पठाइएको उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारले दुई वर्षभित्र तुइन विस्थापित गर्ने घोषणा गरे पनि नेपाल-भारत सीमा नदीका रूपमा रहेको महाकाली नदीका दुर्गम ठाउँमा अझै पनि तुइन यातायातको प्रमुख विकल्प मानिन्छ।

तस्बिर स्रोत, DoS Nepal

तस्बिरको क्याप्शन,

नेपालले गत वर्ष लिम्पियाधुरा र लिपुलेक र कालापानी क्षेत्रलाई समेट्नेगरी नक्सा अद्यावधिक गरेको थियो

घटनाबारे समाचार आएपछि नेपाल सरकारले के गर्‍यो?

प्रधानमन्त्री देउवाले उक्त घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिइसकेका छन्।

त्यसपछि जिल्ला प्रशासन कार्यलय दार्चुलाले घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरेको जनाएको छ।

बीबीसीसँग कुरा गर्दै दार्चुलाकी निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले इमेलमार्फत् त्यस्तो पत्राचार गरिएको बताइन्।

तर उनले भारतीय सुरक्षाकर्मीबाट तार काटिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेको भन्ने "प्रत्यक्षदर्शी कोही पनि नभएको" उल्लेख गरेकी छन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो घटना "अनुसन्धानकै क्रममा रहेकाले पुष्टि नभइसकेका घटनालाई लिएर नेपाल-भारत सम्बन्ध खलल पार्ने किसिमका तथ्यहीन भ्रामक सूचना/समाचार" प्रकाशन नगर्न पनि अनुरोध गरेको छ।

बीबीसीले भारतीय पक्षको प्रतिक्रिया लिने प्रयास गरे पनि त्यो सम्भव भएन।

तर शुक्रवार उक्त घटनापछि दार्चुलाका सशस्त्र प्रहरी बलका प्रमुखले भारतको एसएसबीका आफ्ना समकक्षीसँग कुरा गरेको विवरण आएका छन्।

त्यसमा एसएसबीले उक्त घटनाको अनुसन्धानका लागि समिति गठन गरेको जानकारी दिएको बताइएको छ।

के भन्छन् राजनीतिक दल?

स्थानीय प्रशासन र सुरक्षा निकायले पुष्टि गरिसकेको नभए पनि उक्त घटनालाई लिएर नेपालमा चौतर्फी आक्रोश व्यक्त भइरहेको छ।

सत्तारूढ नेपाली कांग्रेसले शुक्रवार नै उक्त 'गम्भीर' घटनाका सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन र आफ्ना नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेको थियो।

कांग्रेसको विज्ञप्तिमा दार्चुला जिल्लाका पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेका थप सम्पर्कपश्चात् एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको विवरण केन्द्रमा प्राप्त भएको जनाइएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको उक्त विज्ञप्तिमा तुइन काटिदिएपछि ३५ वर्षका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना दुःखद मात्रै नभई अमानवीय र अत्यन्तै आपत्तिजनक भएको उल्लेख छ।

त्यसमा घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारे संवाद गर्न र आफ्ना नागरिकलाई न्याय दिलाउन र सम्बन्धित परिवारलाई राहत दिलाउन सरकारसँग माग गरिएको छ।

साथै नागरिकको जीवन सुरक्षाको दायित्वलाई सरकारले गम्भीरतापूर्वक लिने अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ।

उक्त घटनाको छिटो छानबिन गरी कारबाही गर्न माग गर्नेमा पूर्व प्रधानमन्त्री एवं जनता दल समाजवादी पार्टीका नेता बाबुराम भट्टराई पनि छन्।

एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले पनि दोषीलाई कारबाही गर्न माग गरेका छन्।

सो घटनास्थल केही समय पहिले सशस्त्र प्रहरी बलले छाङरूमा स्थापना गरेको सीमाचौकीभन्दा केही वर सुन्सेरानजिकै पर्ने बताइएको छ।

तस्बिरको क्याप्शन,

गत वर्ष सरकारले छाङरूमा सशस्त्र प्रहरी चौकी स्थापना गरेको थियो

व्याँस गाउँपालिकामै नेपाल-भारत विवादित सीमा क्षेत्र कालापानी पनि अवस्थित छ।

कालापानीसहितको भूभागलाई समेट्दै अघिल्लो सरकारका पालमा नेपालको नक्सा अद्यावधिक गरिएपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन देखिएको थियो।

हालसम्म उक्त घटनाका बारेमा नेपालको परराष्ट्र मन्त्रालयले कुनै धारणा सार्वजनिक गरिसकेको छैन।

सरकारको प्रतिक्रिया सुस्त भएको भन्दै आलोचना भइरहेका छ।