कोभिड नेपाल: थप २,५६८ जनामा कोरोना भाइरस सङ्क्रमण, १८ जनाको मृत्यु

कोभिड

नेपालमा थप २,५६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १८ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,६३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,२३४ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८७५ पुगेको छ।

काठमाण्डू उपत्यकामा मात्र पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८,७८७ छ।

धेरै मानिसले परीक्षण नगराएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विज्ञहरूको भनाइ छ।

अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,०२० जना सङ्क्रमणमुक्त भएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ?

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल ३१,२९८ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २८,०६३ जना घरमा तथा ३,२३५ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ६७७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६९ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ५९४ जना काठमाण्डूमा, २०७ जना झापामा, २०४ जना कास्कीमा फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम जारी छ।

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या १८ लाख १३ हजारनाघेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालभरि १,९५,१३२ ले कोभिड खोप लगाएको सरकारी विवरण छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

भारतको अवस्था के छ?

भारतमा २४ घण्टाको अवधिमा झन्डै ४१,८३१ नयाँ सङ्क्रमित थपिएका छन् भने ५४१ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म तीन करोड १६ लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।

उसका अनुसार त्यहाँ लगातार ५५ दिनदेखि सङ्क्रमित पुष्टि हुने दर ५ प्रतिसतभन्दा कम छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

खोप पासपोर्ट किन यति विवादित

अहिलेसम्म चार लाख २४ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै ४ लाख १० हजार छ।

भारतमा हालसम्म ४७ करोडभन्दा धेरैले कोभिड खोप लगाएका छन्।

आइतवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै ६० लाख जनाले कोभिड खोप लगाएका थिए।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

पोस्ट कोभिड समस्या के हो? कुन उमेर समूहमा बढी देखिन्छ?