'जन्मिँदा संसारकै सबैभन्दा सानी शिशु' १३ महिनापछि अस्पतालबाट घर

  • सुरञ्जना तिवारी
  • बीबीसी न्यूज
क्वेक यु सुआनलाई बोक्दै उनका आमाबुवा

तस्बिर स्रोत, NUH, Singapore

जन्म हुँदा संसारकै सबैभन्दा सानो भन्ठानिएकी एक शिशुलाई सिङ्गापुरमा १३ महिना सघन उपचार गरेर अस्पतालबाट घर पठाइएको छ।

जन्मिँदा क्वेक यु सुआनको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर थियो। उनी २५ साता पनि नपुगी जन्मिएकी थिइन्।

त्यसअघि सन् २०१८ मा अमेरिकामा जन्मिएकी एक शिशुको तौल २४५ ग्राम भएको अभिलेख यूनिभर्सिटी अफ आईअवाको टाइनीएस्ट बेबीज रेजिस्ट्रीमा छ।

गर्भवती हुँदा यु सुआनककी आमाको रक्तचाप एकदमै बढेर "प्री-इक्ल्याप्सीआ" नामक समस्या उत्पन्न भएको थियो।

त्यस्तो अवस्थामा महत्त्वपूर्ण अङ्गमा क्षति पुग्न सक्ने तथा आमा र बच्चा दुवैको ज्यान जान सक्ने हुन सक्थ्यो। त्यसैले शल्यक्रिया गरेर उनलाई गर्भबाट बाहिर निकालिएको थियो।

यु सुआनको तौल अहिले छ किलो ३०० ग्राम पुगेको छ।

'आशाको एक किरण'

सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटल (एनयूएच) का अनुसार जन्मिएको बेला ती बालिका "जीवित रहने सम्भावना सीमित" रहेको जनाएको छ।

"जन्मिँदा स्वास्थ्यसम्बन्धी जटिलता भएको विषम परिस्थितिमा पनि उनले धैर्य र विकासबाट आफूवरपरका मानिसलाई प्रेरणा दिइन्। त्यसले उनलाई असामान्य 'कोभिड-१९' शिशु बनाउँछ - उत्पातका बीचमा पनि आशाकी आशाको एक किरण," अस्पतालले प्रकाशित गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिएको छ।

तस्बिर स्रोत, Kwek Family

तस्बिरको क्याप्शन,

यु सुआन समयभन्दा चार महिनाअघि जन्मिएकी हुन्

कसरी भयो उपचार?

अस्पतालमा हुँदा यु सुआनलाई विभिन्न किसिमका उपचार गरियो। उनको जीवन रक्षार्थ विभिन्न किसिमका उपकरणहरू प्रयोग भएका थिए।

चिकित्सकहरूले आफ्नो सेवाबाट ती शिशुको स्वास्थ्य तथा विकासमा राम्रो सुधार आएको र अहिले अस्पतालबाट डिस्चार्च गर्न उपयुक्त भएको बताए।

यु सुआनलाई अझै फोक्सोसम्बन्धी दीर्घ समस्या छ र उनलाई घरमा श्वासप्रश्वासका लागि सहयोग चाहिन्छ।

तर एनयूएचका चिकित्कहरूका अनुसार उनी समयक्रममा बिस्तारै ठिक हुने अपेक्षा गरिएको छ।

आफ्नो जेठो छोरो समय पुगेर जन्मिएकाले यु सुआनको जन्म र आकारका कारण आफू चकित भएको आमा वोङ मेई लिङले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन्।

यु सुआानको उपचारका लागि क्राउडफन्डिङबाट दुई लाख ६६,८८४ सिङ्गापुर डलर सङ्कलन गरिएको थियो।

त्यसैबाट उनका आमाबुवाले अस्पतालको लामो बसाइ र उपचार खर्च तिरेका हुन्।