कोभिड नेपालः थप ३,६५१ जना सङ्क्रमित, २२ जनाको मृत्यु

नेपाल

तस्बिर स्रोत, Reuters

नेपालमा गत २४ घण्टामा थप ३,६५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २२ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १७ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,११५ पुगेको छ।

सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १६,५९४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ६,१४९ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको २२ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा १,७४८ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३२,९०७ जना घरमा तथा ३,३८१ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ७४१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २६,०६,०४६ पुगेको मन्त्रालयले जनाएको छ।

कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।