अफगानिस्तान युद्धः डब्ल्यूएफपीकी उप्रप्रमुख भन्छिन्, 'देश निकै ठूलो र गम्भीर मानवीय सङ्कटमा'

काबुल विमानस्थल पुगेका अफगानहरू

तस्बिर स्रोत, AFP

दुई दशकपछि अफगानिस्तानमा तालिबान समूह पुनः शक्तिमा आएसँगै त्यहाँ उत्पन्न सङ्कटलाई लिएर विश्वभरिबाट चासो व्यक्त भइरहेको छ।

पछिल्लो सङ्घर्षका कारण मानिसहरू विस्थापित हुँदा चुनौती थपिएको अन्तर्राष्ट्रिय सहायता निकायहरूले जनाएका छन्।

तिनीहरूका अनुसार राजधानी काबुलमै ठूलो सङ्ख्यामा विस्थापितहरू आइपुगेका छन्।

यसै सेरोफेरोमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले काबुलस्थित विश्व खाद्य कार्यक्रम, अफगानिस्तानकी उपप्रमुख शावे लीसँग कुराकानी गरेका छन्।

बीबीसी: अफगानिस्तानको अहिलेको अवस्था के छ?

शावे ली: अहिलेको अवस्था एकदमै तरल छ, एकदमै अनिश्चितताको अवस्था छ र यो काबुलको हकमा मात्रै होइन।

तर यो अवस्थामा पनि देशको अधिकांश क्षेत्रमा हाम्रो पहुँच छ र पहुँच कायम गर्न सकिरहेका छौँ।

देशभरि हामीले हाम्रा कार्यक्रम सञ्चालन गर्न सकिरहेका छौँ। विभिन्न स्थानमा खाद्यान्न लगायतका सहयोग पुर्‍याउन सकिरहेका छौँ।

के सहायता चाहिने नागरिकहरूसम्म पुग्न विश्व खाद्य कार्यक्रमले अवरोधहरूको सामना गर्न परिरहेको छ?

चुनौतीहरू छन्। केही अवरोध हुन सक्छन् जसलाई हामीले चिर्नुपर्ने हुन्छ।

सुरक्षा र बन्दोबस्तीसम्बन्धी चुनौती छन्। हामीले प्रयास जारी राखेका छौँ र अघि मैले भनेझैँ लडाइँ भएका ठाउँका मानिससम्म पनि पुग्न सकिरहेका छौँ।

त्यसका लागि निरन्तर सामान जुटाइरहनुपर्‍यो र मानिसहरूसम्म पुर्‍याइरहनुपर्‍यो।

अहिले हामीले हेरिरहेको एउटा कुरा यो वर्षको बाँकी समयका लागि अफगान नागरिकको सहयोगका निम्ति विश्व खाद्य कार्यक्रमलाई २० करोड डलर आवश्यक पर्नेछ।

तपाईँले अवरोधको सामना गर्नुपर्ने हुन सक्छ भन्नुभयो। कस्तो खालको अवरोधको कुरा गर्नुभएको हो?

उदाहरणका लागि विस्थापितहरू जम्मा भएका काबुलमा अहिले जस्तो विपद्‌को अवस्था छ सहायता सामग्री विवरण गर्ने स्थानहरूमा समस्या देखिन सक्छ।

अरू अवरोधको कुरा गर्नुपर्दा सीमानाका भएर सहायता सामग्री ल्याउने कुरा हुन सक्छ।

हामीले भन्सारसम्बन्धी प्रक्रियामा सहजताका लागि आवश्यक काम गरिरहेका छौँ ताकि आपूर्तिलाई सुनिश्चित गर्न सकियोस्।

तस्बिर स्रोत, EPA

अफगानिस्तानमा उत्पन्न मानवीय सङ्कटलाई सम्बोधन गर्नका निम्ति तपाईँहरूले के गर्न लाग्नुभएको छ?

निश्चित रूपमा हामी यही रहेर सहयोग गरिरहनेछौँ।

सहयोग चाहिएका मानिसहरूलाई सहायता सामग्री उपलब्ध गराउने कामलाई हामीले जारी राख्नेछौँ।

सहयोग चाहिने मानिसहरूको पक्षमा वकालत गर्ने कामलाई हामीले निरन्तरता दिनेछौँ।

त्यसमा स्रोतमा पहुँचको कुरा, सहायता सामग्री र सेवामा सुरक्षित पहुँचको विषय पर्छन्।

तत्काल सहायता चाहिने मानिसहरूको अनुमानित सङ्ख्या कति होला?

अहिले प्रत्येक तीनमध्ये एकजना अर्थात्‌ करिब एक करोड ४० लाख मानिसले भोकमरीको सामना गर्नु परेको छ। बीस लाख बालबालिका कुपोषणको मारमा छन्।

त्यस्तो हुनुको पछाडि दुई वर्षदेखि अफगानिस्तानले झेल्नु परेको खडेरी, सामाजिक-आर्थिक चुनौती, कोभिड-१९ का कारण भएको महँगी र अन्य विविध पक्ष छन्।

त्यसमा सबैभन्दा प्रमुख कारण असुरक्षा रहेको छ। र, यी सबैले अन्त्यमा खाद्यान्न असुरक्षा निम्त्याउने हुन्।

तस्बिर स्रोत, Getty Images

यी समस्याहरूको सम्बोधन गर्न डब्ल्यूएफपीका योजनाहरू के छन्?

जुन बेला सहायताको आवश्यकता पर्छ त्यही बेला उपलब्ध गराउनका लागि हामी धेरै योजना बनाउँछौँ।

र, जाडो महिना शुरू हुँदै गर्दा सडक बन्द हुनुअघि नै खाद्य सामग्रीहरू कतिपय स्थानमा पुर्‍याउनुपर्ने हुन्छ।

त्यसकारण खाद्य सामग्री समयमै पुर्‍याउने विषयमा आवश्यक पर्ने संसाधनहरू हाम्रा लागि निकै संवेदनशील छन्।

ग्रामीण क्षेत्रका मानिसहरूको अवस्था कस्तो छ?

ग्रामीण क्षेत्रका मानिसमा खडेरीको व्यापक प्रभाव परेको छ। मानिसहरूले आफ्नो जीविका चलाउन पाइरहेका छैनन्।

शहरी क्षेत्रका मानिसहरू असुरक्षित महसुस गरेकाले उनीहरूले आफ्नो जीविकोपार्जन गर्न सकिरहेका छैनन्।

हामी जस्तै धेरै बजार महँगीबाट पनि प्रभावित भएका छौँ जुन कोभिडले अर्थतन्त्रमा पारेको प्रभावमध्ये एक हो।

यी सबैले शहरी जनसङ्ख्यामा व्यापक प्रभाव पारेको छ।

तालिबानले सत्ता आफ्नो हातमा लिएसँगै विस्थापित भएकाहरूको अवस्था कस्तो छ? उनीहरूको खानपानको प्रबन्ध कसरी मिलाइएको छ?

पछिल्लो सङ्कटका कारण चार लाख मानिस विस्थापित भएका छन्। र, डब्ल्यूएफपीले उनीहरूलाई देशैभरि सहायता उपलब्ध गराइरहेको छ।

उदाहरणका लागि काबुलमा पछिल्लो हप्ता १० दिनमा थुप्रै मानिस आइपुगेका छन् र डबल्यूएफपीले उनीहरूको सहायता गरिरहेको छ।

तस्बिर स्रोत, EPA

यति बेला हामीले १,२०० घरपरिवारलाई सहायता गरिरहेका छौँ जसमा झन्डै आठदेखि नौ हजार मानिस छन्।

महिला र बालबालिकाहरूको अवस्था कस्तो छ?

महिला र बालबालिका धेरैजसो अवस्थामा बढी जोखिममा हुन्छन्।

उनीहरूमा व्यापक प्रभाव परेको छ र हामीले उनीहरूको आत्मसम्मान र सुरक्षामा प्रभाव नपर्नेगरी सहयोग गर्ने प्रयत्न गरिरहेका छौँ।

तपाईँहरूले तालिबानसँग कुराकानी गर्नुभएको छ वा उनीहरू सम्पर्कमा आएका छन्?

हामीले सबै सरोकारवालासँग छलफल गरेका छौँ।

अफगानिस्तानको पछिल्लो अवस्था र तपाईँहरूले गरिरहनुभएको कामबारे तालिबान नेताहरू के भन्छन्?

हाम्रो कामको सम्मान छ र मानवीय सहयोग जारी रहोस् भन्ने कुरामा चासो छ।

यो देशमा यसको निकै धेरै खाँचो छ र मुख्य कुरा मानिसहरूको आवश्यकता के हो भन्ने कुराको हामीले पहिचान गर्नुपर्ने हुन्छ।

अफगानिस्तानमै रहने उनीहरू नै हुन् र हामीले त्यसलाई सम्मान गर्नुपर्ने हुन्छ।

तस्बिर स्रोत, EPA

तालिबानले डब्ल्यूएफपीले गरिरहेका कार्यमा बाधा नपुर्‍याउने कुराको प्रत्याभूति दिलाएको छ?

मानवीय मूल्यमान्यताको पालना होस् भन्नका लागि र हाम्रो काम पनि उक्त मूल्य मान्यताका आधारमा कायम रहोस् भनेर हामीले छलफल गरेका छौँ।

ती मान्यता तटस्थता, निष्पक्षता, मानवता र काममा स्वतन्त्रता हुन्।

उद्धार कार्यमा तपाईँहरूको भूमिका कस्तो रहनेछ?

उनीहरूले केही स्थानहरू हेरिरहेका छन्।

संयुक्त राष्ट्रसङ्घले आफ्ना कर्मचारीलाई अर्कै स्थानमा राख्न भनेको छ र त्यसमा डब्ल्यूएफपीले सहजीकरण गरेको छ।

तर यी तत्कालीन व्यवस्था हुन्।

मानिसहरू सुरक्षित भएपछि पुनः आफ्नै स्थानमा जाऊन् भन्ने हाम्रो अपेक्षा छ। उद्धारकार्यका विषयमा राष्ट्रसङ्घका अन्य विभिन्न स्तरमा छलफल भइरहेको छ।

अफगानिस्तानमा कैयौँ नेपाली फसेका छन्, खास गरी काबुलमा। उनीहरूको उद्धार गर्ने तपाईँहरूको कुनै योजना छ?

उद्धार भन्नाले तपाईँले के भन्न खोज्नुभएको हो मैले बुझिन्नँ।

हामीसँग नेपाली कर्मचारी छन् भने उनीहरूलाई अन्य कर्मचारी जस्तै व्यवहार गरिने छ।

नेपाली कर्मचारीप्रति हाम्रो समान दायित्व र जिम्मेवारी छ।

उनीहरूले संयुक्त राष्ट्रसङ्घ वा हाम्रो कार्यक्रममा काम गरिरहेका छैनन् भने... मेलै तपाईँले उद्धार भन्नाले के भन्न खोज्नुभएको हो बुझिनँ।

अब अन्त्यमा अफगानिस्तानले कस्तो किसिमको मानवीय सङ्कट भोगिरहेको छ?

हामीले निकै ठूलो र गम्भीर मानवीय सङ्कट भोगिरहेका छौँ। किनभने आवश्यकताको तह निकै बढी छ।

पछिल्लो महिनामा देशैभरि देखिएको तनाव मात्रै नभएर खडेरी, जुलाई महिनाको अन्तिमतिर देखिएको आकस्मिक बाढी जसमा हामीले हप्ता दिनमै सहायता पुर्‍याउन सफल भएका छौँ। यस्ता कैयौँ कारणले यहाँ समस्या परेको छ।

अफगानहरूलाई सहयोग गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा सहायताका लागि अपील गर्ने कुनै योजना छ?

पक्कै पनि हामीलाई थप स्रोतको आवश्यकता छ।

मैले पहिले पनि भने हामीलाई यो वर्षभरि सहायता पुर्‍याउनका लागि आवश्यकता पर्ने २० करोड डलरको कमी छ।

र, त्यो सबैभन्दा ठूलो आवश्यकता हो।

यो नभए हामीले समयमै वा आवश्यकताबमोजिम खाद्य सामग्री पुर्‍याउन सक्नेछैनौँ।