अफगानिस्तान: काबुलमा आक्रमण गर्ने 'आईएसआईएस-के' कस्तो समूह हो?

हमला

तस्बिर स्रोत, AFP

काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणको जिम्मा 'आईएसआईएस-के' समूहले लिएको छ।

कम्तीमा ९० जनाको मृत्यु र सयौँ अरू घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।

अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो।

इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को ज्यानुअरीमा खडा गरिएको हो।

आईएसलाई त्यसयता अमेरिकी नेतृत्वको फौजले हराइसकेको भए पनि आईएसआईएस-के भने अफगान र पाकिस्तानी लडाकुहरूलाई सामेल गरेर शक्तिशाली बनिरहेको छ। यसका धेरै सदस्यहरू तालिबानका पूर्वलडाकुहरू छन्।

कति अतिवादी?

आईएसआईएस-केलाई कन्या विद्यालय, अस्पताल र प्रसूति वार्डमा गरिएका हिंसात्मक आक्रमणका लागि जिम्मेवार मानिएको छ। एउटा आक्रमणमा उनीहरूले गर्भवती महिला र नर्सहरूको समेत हत्या गरेका थिए।

तालिबानले अफगानिस्तानलाई मात्रै आफ्नो क्षेत्र मान्छ भने आईएसआईएस-के भने आईएसको सहयोगी भएका कारण पश्चिमा र अन्तर्राष्ट्रिय जहाँ सकिन्छ त्यहाँ आक्रमण गर्न गरी तयार पारिएको छ।

कहाँ छन्?

आईएसआईएस-के अफगानिस्तानको पूर्वी प्रान्तमा छन् जहाँ पाकिस्तानमा लागुऔषध र मानव तस्करी हुने बाटो रहेको छ।

कुनै बेला यसका ३,००० लडाकु रहेका भए पनि अमेरिकी र अफगान फौजसँग द्वन्द्व एवं तालिबानसँगको द्वन्द्वमा धेरै लडाकु मारिएको मानिन्छ।

तस्बिर स्रोत, Getty Images

तालिबानसँग कस्तो सम्बन्ध छ?

अर्कै समूह हक्कानी सञ्जालमार्फत् तालिबानसँग आईएसआईएस-केको सम्बन्ध छ।

अध्ययनकर्ताहरू आईएसआईएस-के र हक्कानी सञ्जालबीच गहिरो सम्बन्ध छ। हक्कानी सञ्जालको तालिबानसँग गहिरो सम्बन्ध छ।

काबुलको सुरक्षाको जिम्मा पाएका व्यक्ति खलिल हक्कानी हुन् जसको टाउकोको अमेरिकाले मूल्य ५० लाख अमेरिकी डलर तोकेको छ।

वर्षौँदेखि अफगानिस्तानमा विद्रोही समूहको अध्ययन गरिरहेका डा. सज्जन गोहेल भन्छन्, "सन् २०१९ देखि २०२१ सम्ममा धेरै आक्रमणहरू आईएसआईएस-के, तालिबानको हक्कानी सञ्जाल र पाकिस्तानमा रहेका अन्य आतङ्ककारी समूहहरूबीचको सहकार्य हुन्।"

तालिबानले अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएपछि पुल-ई-चार्की जेलबाट ठूलो सङ्ख्यामा कैदीहरू रिहा गरेको थियो जसमा आईएस र अलकायदा विद्रोहीहरू थिए।

ती कैदीहरू अहिले फरार छन्।

तर आईएसआईएस-केले तालिबानलाई कतारको विलासी होटलमा शान्ति सम्झौता गर्न जिहाद र युद्धभूमि बीचमै छोडेको आरोप लगाउँछ।

अब बन्ने तालिबान सरकारका लागि आईएसका लडाकुहरू सबैभन्दा ठूलो सुरक्षा चुनौती हुने बताइएको छ।

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेल्मन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको थालनी
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, काबुलस्थित राष्ट्रपति भवनमा तालिबान प्रवेश