अनिता महर्जनः राष्ट्रिय टेबल टेनिस खेलाडीले खोलेको क्लब जहाँ बालबालिका एरोबिक्स गर्दै 'पिङ्पङ' खेल्न सिक्छन्
- निरञ्जन राजवंशी
- काठमाण्डू

आफ्नै घरमा आफ्नै नामबाट टेबल टेनिस एकेडेमी खोलेकी अनिता महर्जनको सपना आफूभन्दा राम्रो खेलाडी उत्पादन गर्नुरहेको छ।
काठमाण्डूको सामाखुशीस्थित सडकमै जोडिएको घरको भुइँतल्लामा छ अनिता महर्जनले खोलेको 'एनिज् पिङ्पङ क्लब'।
आफ्नो नामबाट अनिताको भन्ने जनाउने 'एनिज्' र चिनियाँ भाषाबाट आएको टेबल टेनिस जनाउने 'पिङ्पङ'बाट उनले उक्त प्रशिक्षणगृहको नाम जुराएकी हुन्।
उनको क्लबमा टेबल टेनिस सिक्न आउने ससाना नानीहरूको भिड लाग्ने गर्छ।
खेलाउने तरिका पनि नयाँ छ। साना नानीहरू एरोबिक्स गर्दै टेबल टेनिस प्रशिक्षण लिन्छन्।
खेलाडीहरूको खेलमा लचकता आउने भनिएको एरोबिक्ससँगै टेबल टेनिस प्रशिक्षणको यो शैली नेपालमा पहिलो पटक सुरु गरिएको हो।
अनि त्यसलाई भित्र्याएकी हुन् अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जनले।
झन्डै डेढ दशक निरन्तर टेबल टेनिस खेलेपछि उनले आफ्नै नाममा खेल प्रतिष्ठान खोलेकी हुन्।
विश्व टेबल टेनिस दिवसका दिन पारेर अनिताले आफ्नै आमाबुबाको हातबाट एकेडेमीको उद्घाटन गरिन्।
अन्तर्राष्ट्रिय टेबल टेनिस महासङ्घ (आईटीटीएफ) ले उनको कार्यलाई सराहना गर्दै बधाई दियो र उनको कामलाई आफ्नो वेबसाइटमा प्रचार गर्यो।
सुरुमै उनको एकेडेमीले अन्तर्राष्ट्रिय चर्चा पायो।
सोच
राष्ट्रिय टीमकी नियमित सदस्य २८ वर्षे महर्जनमा कहाँबाट आयो एकेडेमी खोल्ने सोच?
सन् २०१५ मा दक्षिण कोरियामा यूनिभर्सिटी गेम्स खेल्न जाँदा त्यस्तो सपनाको बीजारोपण भएको उनी बताउँछिन्।
"त्यहाँ विदेशी खेलाडीहरूसँग परिचय भयो। ए जना खेलाडीको त आफ्नै क्लब रहेछ। उनले मोबाइलमा फोटोहरू देखाइन्। म साह्रै प्रभावित भएँ। अनि म पनि कुनै दिन एकेडेमी खोल्छु भन्ने भावना जाग्यो," उनी भन्छिन्।
तर त्यो सहज काम थिएन। ठूलो लगानी आवश्यक थियो।
यद्यपि छ वर्षको बीचमा नै उनले आफ्नो सपनालाई मूर्त रूप दिन सफल भइन्।
यसमा सबैभन्दा ठूलो साथ उनका बुबा कान्छाकाजी महर्जनले दिए। एकेडेमीको प्रारम्भिक लगानी सबै उनले गरिदिएका हुन्।
कान्छाकाजी महर्जन भन्छन्, " सबैभन्दा ठूलो छोरीको खुसी हो। फेरी यस्तो खुसी भनेको जोकोही आमा बुबाले पाउने कुरा होइन। छोरीको नाम छ। हामीलाई त्यति भए पुग्छ।"
१० मिनेटको त्यो बाटो
अनिता नौ वर्षकी हुँदा कान्छाकाजीले उनलाई टेबल टेनिस हलमा पुर्याएका थिए। त्यो बेला सामाखुसीमा भिडभाड थिएन। हिँडेर १० मिनेटमा नै लैनचौर टेबल टेनिस हल पुगिन्थ्यो।
कान्छाकाजीको रहर थियो छोरी राम्रो खेलाडी बनून् भन्ने। उनी सधैँ हात समाएर छोरीलाई हलसम्म पुर्याउने गर्थे अनि आफू आफ्नो काममा लाग्थे।
अनिताले सुरुसुरुमा अल्छी गरिछन्। हरेक दिन नियमित अभ्यास गर्न सानो उमेरकालाई गाह्रो हुने नै भयो।
तर एउटा घटनाले आफू टेबल टेनिस मोहमा परेकी उनी बताउँछिन्।
उनको स्कूलमा एक दिन एकजना टेबल टेनिस च्याम्पीअन खेलाडीसँग परिचयात्मक कार्यक्रम राखिएको रहेछ। खेलाडीको घाँटी 'मेडल'ले भरिएको थियो।
ती पदक देखेर उनी दङ्ग परिछन्।
"मैले त्यस्तो मेडल पाउन के गर्नुपर्छ दिदी भनेर त्यहीबेला सोधेकी थिएँ।" "त्यसको लागि त एकदम धेरै मेहनत गर्नुपर्छ नि," उले यस्तो जबाफ पाइछन्।
त्यो दिनदेखि आफूले लगनशील भएर टेबल टेनिस सिकेकी अनिता बताउँछन्।
त्यहाँबाट सुरु भएको अनिताको टेबल टेनिस रोकिएको छैन। उनी जुनियर हुँदै सिनियर राष्ट्रिय टोलीमा पुगेकी छन्।
देशमा उनी सशस्त्र प्रहरी बल एपीएफबाट प्रतिस्पर्धा गर्छिन्।
यद्यपि राष्ट्रिय टोलीमा उनको यात्रा सोचे जति सफल हुन सकेन।
थुप्रै वर्ष राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्दा पनि उनी च्याम्पीअन हुन सकेकी छैनन्। उत्कृष्ट ५ सम्म चाहिँ पुगिसकिन्।
राष्ट्रिय खेलमा मिक्स डबल्समा उनले रजत पदकसम्म जितेकी छिन्।
साग चाहना
दुई वर्ष अगाडि काठमाण्डूमै भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेल्ने उनको ठूलो चाहना थियो।
बन्द प्रशिक्षणमा परेकी उनले कडा मेहनत पनि गरेकी पनि थिइन्। तर अन्तिम छनोटमा उनी ११ औँ स्थानमा रहिन्। तर १० जना खेलाडीलाई अन्तिम सूचीमा राखियो।
त्यसलाई निकै दुःखद क्षण बताउने अनिता १३ औँ सागमा टेबल टेनिसकी 'लीएजन अफिसर' बनेर भए पनि प्रतियोगितामा जोडिएर चित्त बुझाएको बत्ताउँछिन्।
आफू पनि खेल्दै एकेडेमी सञ्चालन गर्ने काम सहज होइन। तर उनी दुवै जिम्मेवारी एकसाथ वहन गर्ने बताउँछिन्।
के दुवै क्षेत्रमा सफल हुन गाह्रो नहोला ? अनिता भन्छिन् - " म फौजी मान्छे, चुनौती लिने बानी छ। भन्नैपर्दा मलाई सागमा देशको प्रतिनिधित्व गर्ने चाहना अझै छ। कम्तीमा १४ औँ सागसम्म मेहनत गर्नेछु।"
चुनौती
तीनवटा कोठा र तीवटा बोर्ड राखिएको एकेडेमी सञ्चालनमा ल्याउन १२ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।
अहिले बुबाले सघाएकोले उनी भाग्यमानी छोरी भइन्। तर बुबाकै भरमा एकेडेमी बढाउने नभई आफैँ केही गर्ने योजनामा अनिता छिन्।
उनको योजना त एकेडेमीको आकार बढाउँदै घर पछाडिको खाली जमिनमा फैलाउने छ।
उनी भन्छिन्, "सुरुआत भइसकेको छ। अब यसलाई अझ बढाउने थुप्रै योजनाहरू अगाडि बढाएकी छु। "
अनिता आँटिली छिन्। उनले आफ्नो जीवन टेबल टेनिसमै समर्पित गर्ने यात्रामा अगाडि बढाइसकेकी छन्।
"भविष्यमा एनिज् पिङ्पङको उत्पादन हुँ भन्ने खेलाडी जन्मिए मेरो उद्देश्य पूरा हुनेछ," उनी भन्छिन्।
यो पनि हेर्नुहोस्
'प्रतिद्वन्द्वीलाई सम्मान गर्न जान्नुपर्छ': जापानमा किकबक्सिङ जित्ने नेपाली खेलाडी