नेपाल मौसमः मनसुनको उत्तरार्धमा किन भयो मेघगर्जनसहित ठूलो वर्षा?

तस्बिर स्रोत, Reuters
मनसुनको उत्तरार्धमा नेपालका विभिन्न भागमा मेघगर्जनसहित ठूलो वर्षा हुँदा विशेषगरी नदी, खोला र खहरे आसपासका बस्तीहरूमा अचानक बाढी आएको अधिकारीहरूले बताएका छन्।
आइतवार रातिदेखि आएको वर्षाले काठमाण्डू उपत्यकासहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भागमा बाढी आएको उनीहरूको भनाइ छ।
त्यस्तै कतिपय स्थानमा पहिरो पनि आएको छ।
बाढी र पहिरोका कारण कैयौँ सडकहरूमा अवरोध खडा भएको गृह मन्त्रालयले जनाएको छ।
उपत्यकाभित्रै कैयौँ क्षेत्रहरूमा बाढी पसेको र कतिपय स्थानबाट मानिसहरूलाई उद्धार गर्नुपर्ने अवस्था आएको बताइएको छ।
अधिकारीहरूले आइतवार रातिदेखिको ठूलो वर्षाका कारण निम्तिएको विपद्बाट भएको मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन्।
किन आयो बाढी?
मौसमविद्का अनुसार आइतवार रातिदेखि ठूलो पानी परेकाले देशका विभिन्न भागमा बाढी आएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले भने, "काठमाण्डू उपत्यका र वाग्मती प्रदेशमा केन्द्रित भएर बढी वर्षा भएको छ। छोटो समयमा एकदमै ठूलो वर्षा भएकाले सबै पानी बगेर बाहिर जानै पाएन त्यसले गर्दा उपत्यकाभित्रै बाढी निम्तियो।"
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको वर्षा मापन केन्द्रको रेकर्डअनुसार गएको २४ घण्टामा उपत्यकाभित्र मात्र १२१.५ मिलिमिटर वर्षा भएको अर्यालले जानकारी दिए।
उनले पाँच घण्टाभित्रै १०० मिलिमिटरभन्दा बढी वर्षा भएकाले अचानक बाढी आउने अवस्था बनेको बताए।
तस्बिर स्रोत, RSS
किन मेघगर्जनसहित ठूलो पानी पर्यो?
मनसुनका बेलामा राति प्राय: मेघगर्जनबिनै वर्षा हुने गरेको मौसमविद्को भनाइ छ।
तर विशिष्ट परिस्थिति बन्दा ठूलो वर्षा र चट्याङ दुवैको सम्भावना हुने गर्छ।
मनसुनको उत्तरार्धमा उच्च वर्षा हुनुको कारणबारे मौसमविद् अर्यालले भने, "केही दिनदेखि बङ्गालको खाडीमा निम्नचापीय क्षेत्र विकास भएको थियो। बङ्गालको खाडीको पूर्वोत्तर भागमा विकास भएको निम्नचापीय क्षेत्रका कारण जलवाष्पयुक्त हावा नेपालको दक्षिणपूर्व हुँदै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा केन्द्रित भयो।"
"काठमाण्डू उपत्यकासहित विभिन्न भागमा केही दिनदेखि तापक्रम बढेर गर्मी भइरहेको थियो। ती क्षेत्रमा ४/५ डिग्री सेल्सीअससम्म तापक्रम बढेको थियो," उनले भने।
"उपत्यकाकै हकमा पनि ३० डिग्रीसम्म तापक्रम पुग्यो। त्यसले स्थानीय स्तरमै पनि तातो हावाको मात्रा बढ्ने मौसमी परिस्थिति बन्यो। त्यसले मेघगर्जनसहित वर्षा हुने अवस्था सिर्जना गरेको थियो। अनि ती दुवैको मिश्रण हुँदा यहाँ ठूलो वर्षा भयो।"
चट्याङबारे अनुसन्धान गर्दै आएका भौतिकशास्त्री डा. श्रीराम शर्माका भनाइमा बादलमा उथलपुथल भएपछि "मेघ गर्जिने र बिजुली चम्किने" हुन्छ।
उनी भन्छन्, "जमिन र बादलको बीचको तापक्रम जब धेरै हुन्छ त्यसबेला चट्याङ पर्छ।" उनी त्यस्तै परिस्थिति बनेर आइतवार राति मेघ गर्जेको बताउँछन्।
तर नेपालमा प्राय: दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म मात्र धेरै चट्याङ पर्ने गरेकोमा राति कमै मात्र पर्ने उनको भनाइ छ।
"बिहानका राति चट्याङ पर्ने सधैँ हुँदैन तर मनसुन सुरु हुनै लाग्दा वा सकिएपछि चाहिँ त्यस्तो हुने गरेको पाइएको छ। अहिलेको अवस्था पनि मनसुन सकिन लाग्दाको हो," उनले भने।
उनका अनुभवमा नेपालमा पहिले पनि राति ठूलो चट्याङ परेको पाइएको छ। त्यसैले आइतवार रातिको अवस्था एकदमै दुर्लभ भने होइन।
तस्बिर स्रोत, Shriram Sharma
फाइल तस्बिर
नेपालमा चट्याङको पूर्वानुमान गर्ने प्रणाली नहुँदा कैयौँ मानिसहरूले ज्यान गुमाउने गरेको उनी बताउँछन्।
कतिपय विकसित देशमा चट्याङको पूर्वानुमान हुने गर्छ। तर नेपालमा प्रविधि पनि नभएको र यहाँको भूगोलका कारण प्रविधिले पनि एकदमै सही विवरण दिन नसक्ने उनको भनाइ छ।
गृह मन्त्रालय के भन्छ?
अचानक बाढी पसेर कैयौँ मानिसहरू बाढीमा फसेको र सडकहरू अवरुद्ध भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख समेत रहेकी सहसचिव हुमकला पाण्डेले भनिन्, "कतिपय स्थानमा बाढी र पहिरोका कारण मानवीय क्षति भएका विवरण पनि आएका छन्। केही स्थानमा सडकहरू अवरुद्ध भएका छन्। हामी अहिले प्रारम्भिक विवरण सङ्कलनको क्रममा छौँ।"
तस्बिर स्रोत, Reuters
"विपद् उत्पन्न भएका क्षेत्रमा हामीले राहत र उद्धारको काम थालिसकेका छौँ।"
उनले मनसुनका बेला मन्त्रालय मातहतका निकायहरू विपद्का लागि तयार अवस्था रहने गरेकाले घटनास्थलमा उद्धार टोलीहरू खटिइसकेको जानकारी दिइन्।
पाण्डेका अनुसार मनसुन सुरु भएयता बाढी पहिरोमा परेर आइतवारसम्म १२४ जनाको ज्यान गइसकेको छ।
त्यस्तै ४७ जना बेपत्ता भएको र १२५ जना घाइते भएको उनले जानकारी दिइन्।
सहरी क्षेत्रमा कस्तो समस्या?
विशेषगरी काठमाण्डू उपत्यकाभित्रै र सहरी क्षेत्रमा डुबान भएपछि सहरी विकास विज्ञहरूले त्यसको मुख्य कारण प्राकृतिक भन्दा पनि "मानवनिर्मित" भएको बताएका छन्।
उनीहरूका भनाइमा विशेषगरी नदी तथा खोला किनारामा अतिक्रमण गरेर बस्ती बनाइएकाले डुबानको अवस्था आएको हो।
तस्बिर स्रोत, Reuters
काठमाण्डू उपत्यका नगर विकास प्राधिकरणका अवकाशप्राप्त प्रमुख भाइकाजी तिवारी सरकारले २०४५ सालमा उपत्यकाभित्र खोला र नदीको १०० मिटर दायाँबायाँ केही पनि निर्माण गर्न नपाइने व्यवस्था गरेको बताए।
त्यसलाई स्मरण गर्दै उनले भने, "त्यसको अवज्ञा गरेकै कारण हामीले अहिले यो अवस्था खेप्नुपरेको हो।"
उनले सरकारले कानुन कार्यान्वयन नगर्ने र अझ राजनीतिक फाइदाका लागि निर्णयहरू उल्ट्याउने गरेकाले सहरी क्षेत्रमा डुबान देखिएको बताए।
तिवारीले खोला घरमा पसेको भन्दा पनि खोलामा घर बनाएकाले यो समस्या आएको दाबी गरे।
उनले भने, "एकातिर सरकारी निकायले कानुन फितलो गर्ने र अर्कातिर जनताले पनि जहाँ पायो त्यहाँ घर बनाउने त्यस्तो गर्नु भएन।"
रातभरि वर्षा, बस्तीमा बाढी
मौसमको पूर्वानुमान के छ?
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनदिनसम्म देशका विभिन्न क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ।
केही क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।
उसले आगामी २४ घण्टामा विभिन्न क्षेत्रमा बाढीको सम्भावना रहेकाले नदी तथा खोला क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै पहाडी भेगमा पहिरोको सम्भावना रहेकाले सतर्क रहन भनेको छ।
यो पनि हेर्नुहोस्
मेलम्ची बाढीः विनाशकारी गेगरान बहाव सुरु भएको 'भेमाथाङ पुग्दा मेरो मन थामिएन'