जलवायु परिवर्तन: ५० डिग्री बढी गर्मी हुने दिन दोब्बर बढ्यो

  • बेकी डेल र नैसोस स्टायलिआनो
  • बीबीसी विश्व सेवा
Image of a man trying to cool off in front of a fan

तापक्रम ५० डिग्री सेल्सियस माथि पुगेर हरेक वर्ष अत्यधिक गर्मी हुने दिनहरू विगत चार दशकमा दोब्बर भएको बीबीसीको एक विश्लेषणले देखाएको छ।

विश्वमा अत्यधिक गर्मी हुने ठाउँहरू पनि विगतको भन्दा धेरै स्थानमा फैलिँदा मानव स्वास्थ्य र हाम्रो जीवनशैलीमै अभूतपूर्व चुनौती थपिएको छ।

सन् १९८० यता हरेक दशकमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने दिनहरू निरन्तर बढिरहेको देखिन्छ।

१९८० देखि २००९ को बीचमा औसतमा वर्षको १४ दिन मात्रै ५० डिग्रीभन्दा बढी तापक्रम पुगेको थियो। तर २०१० देखि २०१९ को बीचमा यस्तो गर्मी हुने दिनहरू बढेर वर्षको २६ दिनसम्म पुगे।

यो अवधिमा ४५ डिग्री माथि तापक्रम पुग्ने दिनहरू पनि औसतमा वर्षको दुई हप्ता बढेको पाइएको छ।

"यसरी तापक्रम बढ्नुमा खनिज इन्धनको प्रयोग शतप्रतिशत जिम्मेवार छ," युनिभर्सिटी अफ अक्सफोर्डका वातावरण परिवर्तन सम्बन्धी उप निर्देशक फ्रेडरिक ओट्टो बताउँछन्।

५० डिग्री माथि तापक्रम पुग्ने ठाउँहरू कहाँ बढे

विश्वभरिकै तापमान बढ्दै जाँदा चरम गर्मी बढ्दै जाने हो।

मानिस र प्रकृतिका लागि निकै घातक हुने तातो हावाले भवन, सडक र ऊर्जा प्रणालीलाई पनि ठूला समस्या निम्त्याउन सक्छ।

मध्यपूर्व र खाडीले ५० डिग्रीको तापक्रम हुने सबैभन्दा धेरै क्षेत्र समेटेको छ।

यो वर्ष इटली र क्यानडामा इतिहासकै सबैभन्दा धेरै तापक्रम पुग्यो। इटलीमा ४८.८ डिग्री र क्यानडामा ४९.६ डिग्री तापक्रम मापन गरिएको थियो।

वैज्ञानिकहरूले जीवाश्म इन्धनको उत्सर्जन नरोकिए ५० डिग्री माथि तापक्रम विश्वको जताततै पुग्ने चेतावनी दिएका छन्।

"हामीले यसमा धेरै छिटो कदम चाल्नुपर्छ। जतिसक्दो छिटो हामीले उत्सर्जन घटाउँछौँ हाम्रोलागि त्यति नै राम्रो हुने हो," अक्सफोर्ड विश्वविद्यालयको भूगोल र वातावरण सम्बन्धी विषयमा सोधकर्ता डाक्टर सिहान ली भन्छन्।

"विना रोक तोक उत्सर्जनले निरन्तरता पाउँदै जाने हो भने अत्यधिक गर्मीका घटनाहरू बढ्ने र दोहोरिइरहने मात्रै नभई यो समस्या समाधानमा समेत चुनौती थपिँदै जानेछ," उनले थपे।

बीबीसीको विश्लेषणले १९८० देखि २००९ को दशकको तुलनामा पछिल्लो दशकमा उच्चतम तापक्रम थप ०.५ डिग्री सेल्सियसले बढेको देखाएको छ।

यस्तो वृद्धि विश्वभर समान रूपमा महसुस चाहिँ गरिएको छैन। पूर्वी युरोप, दक्षिणी अफ्रिका र ब्रजिलमा १ डिग्री भन्दा बढी तापक्रम वृद्धि भयो भने आर्कटिक र मध्यपूर्वमा २ डिग्री बढीले वृद्धि भएको पाइयो।

वैज्ञानिकहरूले स्कटल्यान्डको ग्लास्गोमा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रसङ्घीय सम्मेलनबाट तत्कालै कदम चाल्न माग गरेका छन्। सम्मेलनमा विश्व तापमान वृद्धि नियन्त्रणका लागि सरकारहरूलाई उत्सर्जन घटाउन नयाँ प्रतिवृद्धतामा जनाउन आह्वान गरिने छ।

अत्यधिक गर्मीको प्रभाव

बीबीसीले अत्यधिक गर्मी कारण विश्वभर जनजीवन कसरी प्रभावित भइरहेको छ भन्नेबारेको वृत्तचित्र 'लाइफ एट फिफ्टी सेल्सियस' शृङ्खला सुरु गरेको छ।

५० डिग्री भन्दा कम तापक्रममा पनि आर्द्रता भनिने वायुमा हुने पानीको मात्राले स्वास्थ्य जोखिमहरू निम्त्याउन सक्छ।

अमेरिकाको रटगर्ज विश्वविद्यालयले गत वर्ष प्रकाशित गरेको एक अध्ययनका अनुसार एक अर्ब २० करोड मानिसहरूले सन् २१०० सम्म तापक्रम सम्बन्धी समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।

यो सङ्ख्या अहिले प्रभावित भइरहेकाहरू भन्दा चार गुनाले बढी हो।

अत्यधिक गर्मीले निम्त्याएको खडेरी र डढेलोका कारण आफू वरपरको परिस्थिति फेरिएपछि मानिसहरू निकै अफ्ठेरोमा परेका छन्। अरू कारकहरूसँगै मरुभूमिकरणको मुख्य कारण चाहिँ जलवायु परिवर्तन हो।

शेख काजमी अल काबी मध्य इराकका गहुँ कृषक हुन्। उनी र उनका छिमेकीहरूको जीविका चलाउन प्रशस्त पुग्ने गरी एक ताकासम्म निकै उर्वर रहेको उनी वरपरको जमिन बिस्तारै सुख्खा र खाली देखिन थालेको छ।

"यो सबै खेत हरियालीपूर्ण थियो तर त्यो सबै हराइसक्यो। अहिले त सुख्खा मरुभूमि छ," उनी भन्छन्।

उनका प्रायजसो सबै गाउँलेहरू कामको खोजीमा अरू प्रदेशहरूमा बसाइँ सरिसकेका छन्।

"मेरा दाजुभाइ, प्रिय साथीहरू र छिमेकी मसँग रहेनन्। उनीहरूसँग म हाँसो र थुप्रै कुराहरू साट्थेँ। अहिले त कसैले मलाई केही सुनाउँदैन, म मात्रै यो खाली खेतसँग आमने सामने भइरहन्छु," उनी भन्छन्।

अध्ययन विधि

विश्लेषणका लागि बीबीसीले कुनै एक स्थानको मापन केन्द्रको मात्र नभई बृहत् क्षेत्रको तथ्याङ्क अध्ययन गरेको थियो।

बीबीसीले इएआर पाइभ तथ्याङ्क स्रोतबाट दैनिक अत्यधिक तापक्रमको तथ्याङ्क लिएको थियो। यहाँ विभिन्न स्थानमा राखिएका मापन केन्द्र र भू उपग्रह सहित विभिन्न स्रोतबाट तथ्याङ्क राखिएको हुन्छ।

अध्ययनका लागि सन् १९८० देखि २०२० सम्म हरेक वर्षको उच्चतम तापक्रमको विवरणहरू लिएर कति पटक तापक्रम ५० डिग्री सेल्सियस बढी भयो भन्ने विश्लेषण गरिएको थियो।

यसमा भूमध्य रेखाको २५ वर्ग किलोमिटरको क्षेत्र समेटिएको थियो।