अफगानिस्तान: तालिबानद्वारा संयुक्त राष्ट्रसङ्घको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह

तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ

तालिबानले न्यूयोर्क सहरमा जारी राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि आग्रह गरेको बताइएको छ।

उक्त समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएका थिए जहाँ एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ।

तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ।

गतमहिना अफगानिस्तानलाई नियन्त्रणमा लिएको उक्त समूहले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ।

त्यसको टुङ्गो कसरी लाग्छ?

उच्चस्तरीय त्यस्तो राष्ट्रसङ्घीय बहसमा सहभागी हुन गरिएको अनुरोधलाई उक्त निकायको क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ।

जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन्।

तर उनीहरू आउँदो सोमवार महासभा अन्त्य हुनुअघि जुट्ने सम्भावना देखिंदैन।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

यतिखेर राष्ट्रसङ्घका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन्

र राष्ट्रसङ्घको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन्।

महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ।

विगत

यसअघि सन् १९९६ र २००१ बीचमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिंदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसङ्घमा राजदूतका रूपमा रहेका थिए।

तस्बिर स्रोत, Getty Images

जतिखेर क्रेडिन्सिअल्स कमिटीले सो पदका लागि गरिएको नयाँ दाबीलाई नहेर्ने निर्णय गरेको थियो।

तालिबानले देश छाडेर भागेका पूर्वराष्ट्रपति असरफ गनीलाई कयौँ देशहरूले नेता मान्न छाडेको बताएको छ।

मङ्गलवार राष्ट्रसङ्घीय बैठक सुरु भएपछि कतारले विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन भनेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?