नेपाल चीन व्यापार: खासा र केरूङ्गबाट किन सीमित कन्टेनरमात्र पठाउने गरिएको छ?

चाडबाड नजिकिँदै जाँदा तिनलाई लक्षित गरेर नेपाली व्यवसायीहरूले चीनबाट किनेका सयौँ कन्टेनर समयमै नेपाल नआउने देखिएको चिन्ता व्यवसायीहरूले प्रकट गरेका छन्।
तर चिनियाँ पक्षले तातोपानीबाट त्यसको सङ्ख्या दोबर पारिदिने बताएको ल्हासास्थित नेपाली महावाणिज्यदूतले बीबीसीलाई बताएका छन्।
यतिखेर तातोपानी हुँदै दैनिक औसतमा १० र केरूङ्ग हुँदै दैनिक ९ कन्टेनर मात्र नेपाल भित्रन दिइनुलाई चिनियाँ अधिकारीहरूले कोभिड महामारीलाई कारण बताएको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए।
बिहीवार ढकालले तिब्बत सरकारका वाणिज्य र भन्सार अधिकारीहरूसँग छलफल गरेपछि उनीहरूले तातोपानीबाट नेपाल जाने कन्टेनरको सङ्ख्या दोबर पारिदिने जनाएको बताएका छन्।
नेपालबाट उत्तरी सीमा भएर हुने निर्यात भने अहिले पूरै ठप्प छ।
कारण- कोभिड महामारी
कुनै समय दैनिक ८० देखि एक सयसम्म कन्टेनरहरू नेपाल भित्रने तातोपानी र केरूङ्ग नाकाबाट अहिले चिनियाँ भन्सारले दैनिक सीमित कन्टेनरहरू मात्र छाड्दा आफूहरू मर्कामा परेको नेपाली व्यापारीहरू बताउँछन्।
चाडपर्वलक्षित निर्यात सहज बनाउन ल्हासास्थित नेपाली नियोगले बारम्बार आग्रह गर्दा समेत चिनियाँ पक्षले 'आफूहरूले विचार गर्ने' भन्दै आएको नेपाली अधिकारीहरू बताउँछन्।
तस्बिर स्रोत, facebook/Navaraj Dhakal
बिहीवार नेपाली महावाणिज्यदूतले चिनियाँ अधिकारीसँग ल्हासामा छलफल गरेका थिए
"उहाँहरूलाई स्थानीय चिनियाँ सीमा अधिकारीहरूबाट यो भन्दा धेरै कन्टेनर पठाउन नसकिने भनिएजस्तो देखिन्छ," महावाणिज्यदूत नवराज ढकाल भन्छन्।
"चिनियाँ पक्षले खासगरी तिब्बतमा कोभिडका नियमलाई निकै कडासँग लागु गरेको छ र उसले कोभिड सङ्क्रमण नफैलनेगरी नेपालको समान बुझ्ने क्षमता नरहेको भन्नेगरेको छ।"
रसुवागढीका हकमा भने अहिले नेपालतर्फ सुख्खा बन्दरगाह समेत नरहेकाले तत्काल कोटा बढाउन नसकिने चिनियाँ पक्षको सङ्केत पाइएको नेपाली अधिकारीहरू बताउँछन्।
पुरानै सकस
२०७२ सालको भूकम्पपछि लामो समय ठप्पप्राय: भएको तातोपानी नाका झण्डै चार वर्ष ठप्पप्राय: भएर खुलेको केही समयमै कोभिड महामारीको मारमा परेको थियो।
कोभिड फैलिएपछि कैयौँ महिना ठप्पप्राय: रहेका उत्तरी नाका खुलाउन दुवैतर्फका कर्मचारी तथा श्रमिकहरू कोभिड मापदण्ड पालना गर्दै क्वारन्टीनमा रहेर काम गर्ने भन्ने प्रोटोकल बनाएर अघि बढ्ने सहमति गरेका थिए।
नेपालतर्फका कर्मचारीले समेत चिनियाँ पक्षले माग गरेबमोजिम पीपीई लगाएर काम गर्ने, सवारीसाधनलाई निस्सङ्क्रमण गर्ने र निश्चित कर्मचारीहरूको नियमित परीक्षण गर्दै क्वारन्टीनमा बसेर काम गर्ने गर्दा समेत चिनियाँ पक्षले नेपालतर्फ पर्याप्त स्थान समेत नरहेको बताउने गरेको महावाणिज्यदूत ढकाल बताउँछन्।
नेपाली अधिकारी तथा व्यापारीहरू उत्तरी नाकाबाट सामान भित्र्याउनका लागि दुवैपक्षबीच पर्याप्त संवादको कमी र चीनले नेपालको क्षमतामा विश्वास गर्न नसक्नुलाई कारण बताउने गर्छन्।
हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठ भन्छन्, "छिट्टै दुवै नाकाबाट दैनिक २० वटाजति कन्टेनर पठाउन थालियो भने दशैँलाई लक्षित गरिएका केही सामान आइपुग्न सक्छन्। नत्र ती सामान चाडपर्व अगावै आइपुग्ने सम्भावना छैन।"
नेपालतर्फ सडक र सुख्खा बन्दरगाहका पूर्वाधार बलियो नहुँदा चीनले समय समयमा त्यसलाई नै देखाएर आफूहरूलाई अप्ठ्यारो पार्ने गरेको नेपाली व्यवसायीहरूको गुनासो पाइन्छ।
बाध्यता
अशोककुमार श्रेष्ठ थप्छन्, "उत्तरी नाका छोटो र सस्तो पर्ने भए पनि बेलाबेला देखा पर्ने यस्तो समस्याले गर्दा महँगो र निकै लामो समुद्री-जमिन बाटो समातेर कोलकाता हुँदै ल्याउन बाध्य छन्।"
कोलकाताको रुट प्रयोग गर्दा चिनियाँ सामान डेढदेखि दुई महिना लागेर नेपाल आउने र उत्तरी नाकाको तुलनामा प्रतिकन्टेनर १५०० देखि २५०० डलरसम्म खर्च फरक पर्ने बताइन्छ।
उत्तरी नाका राम्ररी नचल्दा खासगरी धेरैजना मिलेर थोरै कन्टेनरमा सामान ल्याउने साना र मझौला व्यापारीहरू मर्कामा परेको बताइन्छ।
त्यसयता कोभिड महामारीको मारमा परेको उक्त सीमा नाका खुलाउन भन्दै खोप कार्यक्रममा लागि चीनतर्फका सीमावर्ती जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन पाइने व्यवस्था गरिएको थियो।
अहिले नेपाली नियोगले नियमित रूपमा नेपालका सीमावर्ती जिल्लाका कोभिड सङ्क्रमणका सूचना चीनलाई उपलब्ध गराउने गरेको बताइन्छ।
त्यसो हुँदा समेत चिनियाँ पक्षले नेपाली पक्षको मागलाई महत्त्व नदिएको भन्सार अधिकारीहरू बताउँछन्।