क्लाइमेट चेन्जः जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस्

सगरमाथा

मानिसको गतिविधिका कारण कार्बन डाईअक्साइड उत्सर्जन बढेका कारण तापक्रम बढेको छ।

चरम मौसम र हिउँ तिब्र पग्लिनु त्यसका केही असरहरू हुन्।

जलवायु परिवर्तन के हो?

कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको धेरै वर्षहरूको औसत स्थिति त्यहाँको जलवायु हो।

जलवायु परिवर्तन भनेको त्यस्तो औसत अवस्थामा देखिने परिवर्तन हो।

विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत जलवायु परिवर्तनको अवस्थामा छ।

जलवायु परिवर्तनले के हुन्छ?

तस्बिर स्रोत, Reuters

मानिस

जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानीको कमी हुन सक्छ र खाद्य सामग्री उत्पादन गर्न गाह्रो हुन्छ जसले हाम्रो जीवन नै बदल्न सक्छ।

केही स्थानहरूमा जोखिमपूर्ण रूपमा नै अत्यधिक गर्मी हुन सक्छ र समुद्री सतह बढ्न जाँदा हालका तटीय क्षेत्रहरूबसोबास गर्दै नसकिने हुन सक्छन्।

चर्को गर्मी, आँधी वा ठूलो वर्षाजस्ता चरम मौसमी अवस्था नियमित हुँदा हाम्रो जीविका र जीवनलाई खतरा हुन्छ।

यस्तो अवस्थामा गरिब देशहरूका मानिसहरू धेरै प्रभावित हुनेछन्।

वातावरण

पृथ्वीका ध्रुवमा रहेका हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् जसले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा हुन्छ।

साइबेरियाजस्ता स्थायी बरफ हुने स्थानका हिउँ पग्लँदा त्यहाँबाट मिथेन ग्यास निस्कन्छ जसले जलवायु परिवर्तनलाई अझ खराब बनाउँछ।

डढेलो धेरै लगाउने मौसमी अवस्थाहरू नियमित जस्तै बन्छन्।

प्रकृति

वासस्थान परिवर्तन भएपछि केही जनावरहरू नयाँ स्थानमा जानेछन्।

तर जलवायु परिवर्तनको गतिका कारण धेरै लोप हुने अवस्था सिर्जना हुनेछ।

हिउँ पग्लिएपछि ध्रुवीय भालुहरू लोप हुने अवस्थामा हुनेछन्।

केही माछाहरू नदीका पानीको तापक्रम बढेपछि लोप हुन सक्छन्।

समुद्रमा कार्बन डाईअक्साइडको मात्रा बढेपछि पानी अम्लीय हुने र त्यसले 'कोरल रीफ' हरू हराउन सक्नेछन्।

जलवायु परिवर्तनका कारण के हुन्?

तस्बिर स्रोत, Reuters

जलवायुमा सधैँ प्राकृतिक फेरबदल भैरहने नै हुन्छ तर अहिले मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको छ।

मानिसहरूले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेयता विश्व लगभग १.२ डिग्री सेल्सिअसले तातो बनेको छ।

यी इन्धन खपत हुँदा उत्सर्जन हुने हरित गृह प्रभावका कारक 'ग्रीनहाउस ग्यास'ले सूर्यबाट प्राप्त हुने तापलाई पृथ्वीमै रोक्छन्।

पृथ्वीको वायुमण्डलमा एउटा ग्रीनहाउस ग्यास कार्बन डाईअक्साइडको मात्रा उन्नाइसौँ शताब्दीयता ५० प्रतिशतले र गत दुई दशकमा १२ प्रतिशतले बढेको छ।

ग्रीनहाउस ग्यास बढ्ने अर्को कारण वनविनाश हो।

जब रुखहरू काटिन्छन् वा बालिन्छन् त्यसमा सङ्ग्रहित कार्बन मुक्त हुन्छन्।

भविष्यमा के हुन्छ?

वैज्ञानिकहरूले १.५ डिग्री सेल्सिअससम्मको तापक्रम वृद्धि पृथ्वीका लागि सुरक्षित हुने बताएका छन्।

त्योभन्दा बढ्यो भने चाहिँ प्राकृतिक वातावरणमा खतरनाक परिवर्तनहरू आउने र त्यसले मानव जीवन बदल्ने उनीहरू बताउँछन्।

धेरै वैज्ञानिकहरूको अनुमानमा यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सिअससम्म बढ्न सक्छ।

तस्बिर स्रोत, NASA/Reuters

यसको असर विश्वभर फरक-फरक हुनेछ:

  • यूकेजस्ता देश अतिवृष्टिका कारण बाढीको जोखिममा हुनेछ,
  • समुद्र सतहको हाराहारीमा रहेका टापुहरू पानीको सतह बढ्न जाँदा हराउने छन्,
  • थुप्रै अफ्रिकी देशहरूमा खडेरी र खाद्य अभाव हुने छ,
  • उत्तर अमेरिकी महादेशको पश्चिम अमेरिकामा खडेरीको सम्भावना हुनेछ भने अन्यत्र अतिवृष्टि र शक्तिशाली आँधी बढ्ने छन्,
  • अस्ट्रेलियामा चरम गर्मी र खडेरी देखिने छ।

सरकारहरूले के गरिरहेका छन्?

यो शताब्दीको मध्यसम्म कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने प्रतिबद्धताका लागि देशहरूलाई आह्वान गरिएको छ।

यसको अर्थ कार्बन उत्सर्जन र विसर्जनको मात्रा बराबर पार्ने हो। यसका लागि रुखहरू रोप्न सकिन्छ।

यसले जलवायु परिवर्तनका खतरनाक असरहरू कम गर्ने आशा गरिएको छ।

तस्बिर स्रोत, EPA

वैज्ञानिकहरू के गर्दै छन्?

वैज्ञानिकहरूको विचारमा जलवायु परिवर्तन सबै बेला उच्च भइरहेका छन्।

उदाहरणका लागि उनीहरू अतिवृष्टि वा उष्ण लहरको सम्बन्ध जलवायु परिवर्तनसँग गाँस्न सक्छन्।

यसले उनीहरू भविष्यमा यस्ता चरम मौसमी अवस्थाबारे अग्रिम चेतावनी दिने अवस्थामा हुन सक्छन्।

व्यक्तिले के गर्न सक्छन्?

वैज्ञानिकहरू व्यक्तिले यस्तो गर्न सक्ने बताउँछन्:

  • साइकल वा सार्वजनिक यातायातको प्रयोग गरेर खनिज इन्धन प्रयोग हुने गाडीहरूमाथिको उच्च निर्भरता घटाउने
  • घरलाई तापक्रम मिलाउन एसीको आवश्यकता नपर्ने गरी निर्माण गर्ने
  • हवाई उडानमा कम जाने
  • मासु र दुग्ध पदार्थ कम खाने।