के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो

श्रीपेच

काठमाण्डूस्थित नारायणहिटी राजदरबार सङ्ग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिएको श्रीपेच झिक्ने प्रयास गरेका एक पुरुषलाई पक्राउ गरिएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका अनुसार शुक्रवार अपराह्ण सङ्ग्रहालय अवलोकन गर्न पुगेका एक पुरुषले श्रीपेच राखिएको शोकेस फुटाउन खोजेका थिए।

"श्रीपेच राखिएको शोकेस फुटाउन खोजेपछि सङ्ग्रहालयका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर हामीलाई बुझाउनुभएको हो," वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बीबीसी नेपालीसँग भने।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

आरोपितले बयानमा के भने?

"उहाँले शोकेसमा राखिएको श्रीपेच निकालेर लगाउने प्रयासमा त्यसो गरेको हामीलाई बयान दिनुभएको छ," प्रहरी नायब उपरीक्षक पौडेलले थपे।

नारायणहिटी दरबार सङ्ग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बीबीसी नेपालीलाई बताए अनुसार ती पुरुषले श्रीपेच राखिएको रूपन्देही कक्षबाट खुकुरी निकालेर शोकेस फुटाउने प्रयास गरेका थिए।

"उनले शोकेस फुटाउने प्रयास गरेपछि सङ्ग्रहालयको सुरक्षामा रहेका नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्," दाहालले भने।

उनका अनुसार श्रीपेच बुलेट प्रुफ सिसामा रहेको र त्यहाँ रहेका विद्युतीय उपकरणले पनि नजिक पुग्न खोजे जनाउ दिने गर्छन्।

श्रीपेचको सुरक्षा व्यवस्थाबारे दाहालले भने, "एउटा निश्चित घेरामा प्रवेश गरेपछि अलार्म बज्छ। त्योबाहेक चारकुनाबाट चारजना सुरक्षाकर्मीले त्यसको प्रत्यक्ष निगरानी गर्नुहुन्छ।"

साथै मोनिटरबाट चौबीसै घण्टा श्रीपेचको निगरानी गर्ने गरिएको पनि सङ्ग्रहालय व्यवस्थापन समितिका निर्देशक दाहालले बताए।

तत्कालीन राजा वीरेन्द्र शाहदेखि ज्ञानेन्द्र शाहले लगाएको श्रीपेच नयाँ बानेश्वरका प्रेमलाल श्रेष्ठले २०३१ सालमा बनाएका बताइन्छ।

राजतन्त्रात्मक व्यवस्थाको अन्त्यसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले "जनताको नासो" भन्दै सरकारलाई श्रीपेच र राजदण्ड हस्तान्तरण गरेको एक दशकभन्दा बढी भइसकेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

उहिले राजाको शिरको शोभा, अहिले सङ्ग्रहालयको...