महामारीमा महाधिवेशन: सङ्क्रमण फैलन नदिन यस्तो छ नेपाली कांग्रेसको योजना

तस्बिर स्रोत, RSS
नेपालमा ओमिक्रोन भेरिअन्ट भेटिएको र कोरोनाभाइरसको महामारी कायम भएकै अवस्थामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाण्डूमा शुक्रवार सुरु हुँदैछ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्क्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै ठूलो भिड जम्मा नगर्ने बताएको विवरणहरू सार्वजनिक भएका थिए।
तर झन्डै ४,७०० महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशनमा महामारीको लहर प्रेरित गर्नसक्ने सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन्।
काङ्ग्रेसले भने कोभिड-१९ सङ्क्रमण फैलन नदिन महाधिवेशन स्वास्थ्य समिति केन्द्रित रहने बताएको छ।
समितिका संयोजक तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत भन्छन्, "सतर्कता, सुरक्षा सामग्रीको उपलब्धता र स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै छौँ।"
महामारीमा महाधिवेशन किन?
सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुन नेपालमा डेल्टा भेरिअन्टसँगै सुरु भएको दोस्रो लहरका लागि राजनीतिक भिडभाड, जात्रा र समारोहहरूले वातावरण बनाइदिएको तर्क राख्छन्।
डा. पुन भन्छन्, "ओमिक्रोन भेरिअन्ट देखिएको छ। सङ्क्रमण फैलने जोखिम छ। त्यसैले दोस्रो लहरमा भएको भुल यो पटक दोहोर्याउनु हुँदैन।"
काङ्ग्रेस नेताहरू भने बाध्यात्मक परिस्थितिका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई विकल्प बनाई महाधिवेशन गर्नका लागि पार्टी अघि बढेको धारणा राख्छन्।
नेपाली कांग्रेसको प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि निलम लेखक जोशी महामारीको समयमा भिड हुने कार्यक्रम गर्नु आफूलाई पनि अनुचित लाग्ने बताउँछिन्।
"[तर] पटकपटक म्याद थप गर्न मिल्दैन। निर्वाचन आयोगमा दल दर्ता नगरे खारेज हुने अवस्था आएकोले महाधिवेशन गर्न लागिएको हो। यद्यपि हामीले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएका छौँ।"
तस्बिर स्रोत, NEPALICONGRESS.ORG
नेपाली कांग्रेसको १३औँ महाधिवेशन भएको पाँच वर्ष नौ महिनापछि १४औँ महाधिवेशन हुन लागेको हो। कानुनी व्यवस्था अनुसार कांग्रेसलाई महाधिवेशन गर्नैपर्ने अवस्था छ।
"केन्द्रीय सभाध्यक्षले कार्यक्रममा मतदातालाई मात्र ल्याउनका लागि कडा निर्देशन दिनु भएको छ। सहभागी घटाउनु पनि सङ्क्रमण नियन्त्रणका लागि चालिएको कदम हो," जोशीले भनिन्।
सङ्क्रमण फैलन नदिने कस्ता सतर्कता?
कार्यक्रम सुरु हुने सभास्थललाई बुधवार नै निर्मलीकरण गरिएको नेता बस्नेतले बताए।
उनले सहभागी सबै प्रतिनिधिलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने र सहभागीले अनिवार्य मास्क लगाउनु पर्ने बताए।
कार्यक्रम क्षेत्रमा हात धुने बुथहरूको पनि व्यवस्था गरिएको छ। यद्यपि भिडमा सबै स्वास्थ्य सुरक्षा उपायको पालना चुनौती हुने उनको आकलन छ।
बस्नेत भन्छन्, "ठाउँ साँघुरो छ। प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य समितिका सदस्यहरूको उपस्थितिले भिड हुन्छ। त्यसैले मापदण्ड शतप्रतिशत अपनाउन सक्छौँ भन्न मिल्दैन।"
"सहभागीहरूलाई सक्दो सतर्क बनाउँछौँ र सुविधा उपलब्ध गराउँछौँ।"
समितिले वीर अस्पतालमा स्वास्थ्यसम्बन्धी केन्द्र स्थापना गरेको छ। त्यहाँ चार वटा कोठामा कोरोनाभाइरसका लक्षण देखिएका र अन्य स्वास्थ्य समस्या देखिएकाहरूको बेग्लाबेग्लै उपचार हुने उनको दाबी छ।
समिति सदस्य रहेका १० जना चिकित्सकसँगै अन्य ४० जना स्वास्थ्यकर्मी अधिवेशन अवधिभर खट्नेछन्।
कोभिड-१९ का लक्षणसँग मिल्दो समस्या देखिएका बिरामीको चिकित्सकको सल्लाहमा एन्टिजेन परीक्षण गर्ने र त्यसपछि थप कदम चाल्ने बस्नेतको कथन छ।
सार्वजनिक सवारीसाधन गर्दाका जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधिहरूलाई १५० वटा सवारी साधनको व्यवस्थापन गरिएको बताइएको छ।
"नयाँ भेरिअन्ट नदेखिएको भए पनि सतर्क रहनु पर्ने अवस्था थियो। दुर्भाग्य कार्यक्रम अघि नयाँ किसिमको कोरोनाभाइरस देखिएको पुष्टि भयो। यो फैलन नदिनु हाम्रो जिम्मेवारी हो। त्यसका लागि हाम्रोतर्फबाट सक्दो प्रयास गरिरहेका छौँ," बस्नेतले जिकिर गरे।
तीन घेराको सुरक्षा
मतदानस्थल सम्वेदनशील क्षेत्र भएकाले सुरक्षा चुनौती बढी हुने बस्नेतको तर्क छ।
महाधिवेशनमा सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले गर्दैछ। सभास्थल र मतदानस्थलमा तीन वटा घेरा बनाई सुरक्षा व्यवस्थापन गरिने उनले बताए।
पहिलो घेरामा नेपाल प्रहरी खट्ने र उनीहरूले मतदान र मतगणना स्थलमा सुरक्षा व्यवस्थापन गर्नेछन्।
"चुस्त व्यवस्थापन र महाधिवेशन समस्यारहित सम्पन्न गर्न प्रहरीबाहेक भूतपूर्व सैनिक सङ्घहरूले पनि सुरक्षा दिनेछन्। यस पटक 'सुरक्षा'को अर्थ कोभिड-१९ बाट पनि सुरक्षित रहनु हो," बस्नेतले भने।
"त्यसका लागि सभामा उपस्थित हरेकले आफूलाई सङ्क्रमण नियन्त्रणका लागि जिम्मेवार मान्नु पर्छ।"
के भन्छन् सङ्क्रामक रोग विज्ञ?
महामारीको समयमा भिड नगर्नुलाई नै प्राथमिक उपायका रूपमा सुझाउँछन् डा. शेरबहादुर पुन।
"तर नगरी नहुने कार्यक्रम हो सकेसम्म कम मानिस उपस्थित हुनुपर्यो। स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नु पर्यो। त्यस्तै मास्क र हात धुनुलाई अनिवार्य गरिनु पर्छ," उनले भने।
त्यस्तै कोभिड-१९ विरुद्धको खोप पूर्ण मात्रा लगाएकाहरू मात्र उपस्थित हुनुले पनि समस्या न्यूनीकरण गर्ने उनको तर्क छ।
"खोप लगाएकाहरू कम जोखिम समूहमा पर्छन्। नलगाएकाहरूको उपस्थिति आवश्यक छैन भने उनीहरूलाई सहभागी बनाइनु हुँदैन," उनले भने।