कोभिड महामारी: ओमिक्रोन भेरिअन्टको जोखिम कति ठूलो हो?

  • जेम्स ग्यालहर
  • स्वास्थ्य र विज्ञान संवाददाता
कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

कोरोनाभाइरसको नयाँ भेरिअन्टबारे दुई ठूला प्रश्नहरू यी हुन्: ओमिक्रोन कति छिटो फैलिन्छ? र यसले हामीलाई कति सिकिस्त बिरामी पार्छ?

यो कुरो बुझेपछि ओमिक्रोनले ल्याएको जोखिम र चुनौती बुझिन्छ।

विश्वभरिका वैज्ञानिकहरूले यी प्रश्नको उत्तरको पहिलो खाका तयार पार्दै छन् र यसले हामीलाई भविष्यको बारेमा सङ्केत दिन्छ।

रोग प्रतिरोधी क्षमता ज्यादै महत्त्वपूर्ण छ। ओमिक्रोनले समयलाई उल्टो हिँडाएर हामीलाई महामारीको सुरुवाती अवस्थामा पुर्‍याएको छैन तर अन्यौलताले सबै कुरालाई छोपेको छ र यी प्रश्नको उत्तर केही साता नभई नआउन सक्छ।

ओमिक्रोन कति छिटो फैलिरहेछ?

यसको उत्तर 'धेरै छिटो' हुनसक्छ।

र यो पहिले कोभिड अत्यधिक भएर वा धेरै खोप लगाएर प्रतिरोधी क्षमता विकास भएको स्थानमा पनि छिटो फैलिरहेको देखिन्छ।

एक महिनाअघि दक्षिण अफ्रिका डेल्टा भेरिअन्टको लहरको अन्त्यतिर थियो र प्रतिदिन औसतमा ३०० नयाँ सङ्क्रमणको हिसाब गरिरहेको थियो। अहिले प्रतिदिन १०,००० भन्दा बढी सङ्क्रमण हुँदै गर्दा ओमिक्रोनले चौथो लहर बनाइरहेको देखिन्छ।

यूकेमा पनि ओमिक्रोन फैलिरहेको देखिन्छ।

वैज्ञानिकहरूले कोभिड परीक्षणमा देखिने एउटा फरक तथ्यले ओमिक्रोन भए वा नभएको थाहा पाउन सक्ने भएका छन्: परीक्षणमा एस-जीन हराएको देखिए ओमिक्रोन हुने मानिएको छ। नोभेम्बरको अन्त्यमा यो ०.०१ प्रतिशत परीक्षण नतिजामा देखिएको थियो भने अहिले यो ५ प्रतिशतभन्दा बढीमा देखिएको छ। यसको आधारमा यूकेमा प्रतिदिन २,५०० यसको सङ्क्रमण देखिएको भन्न सकिन्छ।

ओमिक्रोनबारे पत्ता लगाउने यो उत्कृष्ट उपाय त होइन तर यसले लामो समय लाग्ने जीन सीक्वेन्सिङभन्दा अगाडि एउटा सङ्केत भने दिन्छ।

यूकेमा प्रत्येक तीन दिनमा ओमिक्रोनबाट हुने सङ्क्रमण तेब्बर भइरहेको अनुमान गर्न सकिन्छ।

यो यूकेमा डेल्टा भेरिअन्टभन्दा छिटो हो र सन् २०२० मा प्रतिरोधी क्षमता नभएको अवस्थामा पहिलो कोरोनाभाइरस फैलिएको गति हो।

अहिलेको गतिमा यो फैलियो भने डिसेम्बरको अन्त्यसम्म यूकेमा ओमिक्रोनको सङ्क्रमण प्रतिदिन १००,००० भन्दा बढी हुन्छ।

यसले कति बिरामी बनाउँछ?

ओमिक्रोनको सङ्क्रमण बढ्यो भने त्यसको अर्थ के हुन्छ?

वैज्ञानिकहरूले पहिलो पटक यो भेरिअन्ट देख्दा उनीहरूको चिन्ता भनेको यसको बनावट थियो। यसमा यति धेरै उत्परिवर्तन भएको थियो कि खोप बनाउँदा देखिएको भाइरसभन्दा यो निकै फरक देखिन्थ्यो र खोपले काम नगर्ने जस्तो थियो।

तर अहिले हामीसँग प्रयोगशालामा गरिएका सुरुवाती परीक्षणका नतिजा छन्। त्यसले पूर्ण मात्रा खोप लगाएका मानिसको शरीरमा भाइरसलाई हटाउन सक्ने एन्टीबडीको क्षमतामा २० देखि ४० गुणासम्म ह्रास आउने देखिएको छ।

प्रयोगशालाका नतिजाभन्दा बाहिरी विश्वमा नतिजा फरक हुनसक्छ तर एन्टीबडी कम हुनुको अर्थ हामीलाई सङ्क्रमण हुनसक्ने सम्भावना धेरै हुनु हो।

तर एउटा राम्रो समाचार पनि आयो। फाइजर-बायोएनटेकको परीक्षणले खोपको बुस्टर मात्राले एन्टीबडीमा व्यापक वृद्धि हुने देखिएको छ। यसको अर्थ दुई मात्राले पुराना भेरिअन्टविरुद्ध जति काम गर्थ्यो त्यति काम तीन मात्राले ओमिक्रोनविरुद्ध गर्छ भन्ने हो।

ओमिक्रोन सङ्क्रमण कति गम्भीर?

ओमिक्रोनको सङ्क्रमण कति गम्भीर हुन्छ भन्ने प्रश्नको अझै स्पष्ट उत्तर छैन।

तर दुई मात्रा मात्रै खोप लगाएको भए पनि वा पहिले सङ्क्रमण भएको भए महामारीको सुरुवातमा भन्दा अहिले हामीसँग ओमिक्रोनसँग भिड्ने क्षमता धेरै छ।

एन्टीबडी भाइरससँग जुध्ने शरीरको विशाल र जटिल प्रतिरोधी प्रणालीको एउटा अंश मात्रै हो।

सङ्क्रमण भएपछि बन्ने टी-कोषले एन्टीबडीभन्दा धेरै भाइरललाई हटाउँछन्। तर यो ओमिक्रोनविरुद्ध कति प्रभावकारी छ भनेर अस्पताल भर्ना भएका मानिसहरूको अध्ययनले मात्रै देखाउन सक्छ।

अब के हुन्छ त?

अहिलेका लागि ओमिक्रोन सङ्क्रमणको लहर आउने र खोपले मानिसहरूलाई गम्भीर बिरामी हुनबाट जोगाउने दुवै सम्भावना छ।

तर समस्या के हो भने "हामीमध्ये धेरैलाई" यसले गम्भीर असर नगर्नुको अर्थ "हामी सबैलाई" ठिक हुनु होइन। हामीमध्ये कोही कमजोर छौँ, कतिपयसँग प्रतिरोधी क्षमता छैन र कतिपयले खोप पाएकै छैनन्।

डेल्टा भेरिअन्टबाट हामी धेरैलाई केही नभए पनि केही मानिसहरू अझै अस्पताल भर्ना भइरहेका छन्।

त्यसैले सङ्क्रमणमा ह्वात्तै वृद्धि हुँदा अस्पताल भर्ना हुनेको सङ्ख्या पनि ह्वात्तै बढ्न सक्छ।

अहिलेसम्म ओमिक्रोनबारे यथेष्ट तथ्याङ्क नभएकोले यसै हुन्छ भन्न सकिन्न।

ओमिक्रोन कति छिटो फैलिन्छ वा यसले कति सिकिस्त बिरामी पार्छ वा खोपलाई यसले कति छल्छ भन्ने स्पष्ट कुरा अगाडि छैन।

वारविक विश्वविद्यालयका प्राध्यापक माइकल टिल्डेस्ले भन्छन्, "हुनसक्छ कुनै लहर नै आउँदैन वा जोखिम नै नहुने लहर आउँछ वा विध्वंस हुने लहर आउँछ। समस्या के हो भने अहिले ठूलो अन्यौलता छ।"