विपिन रावत: हेलिकप्टर दुर्घटनाबारे भारतको संसद्‌मा रक्षामन्त्री राजनाथ सिंहले के भने

जनरल बिपिन रावत

तस्बिर स्रोत, Reuters

भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतका प्रथम चीफ अफ डीफेन्स स्टाफ विपिन रावतको असामयिक निधनबारे लोकसभामा जानकारी दिएका छन्।

भारतीय संसद्‌को तल्लो सदनमा उनले भने, "म बडो दुख र भारी मनबाट भारतका प्रथम चीफ अफ डीफेन्स स्टाफ जनरल विपिन रावत उनकी धर्मपत्नी मधुलिका रावत र हेलिकप्टरमा सवार अन्य १२ को सन् २०२१ डिसेम्बर ८ दिन भएको दुर्घटनाको समाचार अवगत गराउन तपाईँहरू सामु खडा भएको छु।"

"जनरल विपिन रावत डीफेन्स सर्भिसेज स्टाफ कलेज वेलिङ्टनका विद्यार्थीसँग अन्तरक्रिया गर्नका लागि त्यता जानुभएको थियो। एअरफोर्सको एमआई१७ भी५ हेलिकप्टरको १२ बजेर ८ मिनेटमा एअर ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविच्छेद भयो।"

उनले भने, "पछि कुन्नूर नजिकैको जङ्गलमा केही स्थानीय बासिन्दाले आगो लागेको देखे। त्यहाँ उनीहरू दौडेर हेर्न पुग्दा सैनिक हेलिकप्टरको अवशेष आगोको लप्काले घेरिएको थियो। स्थानीय प्रशासनले एक समूहलाई त्यता पठायो।"

"उक्त समूहले दुर्घटनामा बचेका मानिसलाई उद्धार गर्ने प्रयत्न गर्‍यो। त्यहाँबाट उनीहरूलाई वेलिङ्टनको सैन्य अस्पताल पुर्‍याइयो।"

प्राप्त जानकारी अनुसार उक्त हेलिकोप्टरमा सवार १४ मध्ये १३ को मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये रावतका रक्षा सल्लाहकार ब्रिगेडियर लखविन्दर सिंह, लिडर स्टाफ अफिसर लेफ्टिनेन्ट कर्नेल हरजिन्दर सिंह र वायुसेना हेलिकप्टरका चालकदल समेत सशस्त्र बलका अरू नौ जना थिए।

सिंहले दुर्घटनामा ज्यान गुमाएका सबैको नाम पढेर सुनाएका थिए।

तस्बिर स्रोत, SHILJA JOSEPH

सिंहले भने, "यो दुर्घटनामा मारिएका सबै जनाको पार्थिव शरीर एक विशेष विमान मार्फत दिल्ली लगिनेछ।"

"ग्रुप क्याप्टेन वरुण सिंह वेलिङ्टनको अस्पतालमा लाइफ सपोर्टमा छन् र उनलाई बचाउन हरसम्भव प्रयास भइरहेको छ।"

यसअघि सिंहले बुधवार संसद्मा आधिकारिक बयान दिने बताइएको थियो। तर पछि बिहीवारलाई सारिएको थियो।

उत्तराखण्डमा तीन दिनका लागि राजकीय शोक घोषणा गरिएको छ।

रक्षामन्त्रीले रावतको अन्तिम संस्कार पूर्ण सैन्य सम्मानपूर्वक गरिने बताएका छन्।

क्याप्टेन वरुण सिंहको अवस्था कस्तो छ?

बुधवार तामिलनाडुमा सेनाको हेलिकप्टर दुर्घटनामा बचेका ग्रुप क्याप्टेन वरुण सिंहको स्थितिबारे पनि रक्षामन्त्री सिंहले संसद्मा बयान दिएका छन्।

तस्बिर स्रोत, Sansad TV

सिंहको स्थिति गम्भीर तर स्थिर रहेको बताइएको छ।

यसै वर्ष अगस्ट महिनामा सिंहलाई शौर्य चक्र प्रदान गरिएको थियो।

उनको तेजस विमानमा उडानको समयमा प्राविधिक समस्या आएको थियो तर उक्त आपत्कालीन स्थितिमा सिंहले तेजसको सुरक्षित अवतरण गराउन सफल भएका थिए।

संसारभरबाट सन्देश

हेलिकप्टर दुर्घटनामा बुधवार ज्यान गुमाएका भारतका सर्वोच्च सैन्य कमान्डरप्रति संसारभरबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

दुर्घटना हुनुको कारण जान्न अनुसन्धान शुरू गरिएको छ।

रावत र उनकी श्रीमतीको अन्तिम संस्कार शुक्रवार दिल्लीमा गरिने बताइएको छ।

अमेरिकाका रक्षामन्त्री लयड अस्टिनले रावत वाशिङ्टनका महत्त्वपूर्ण साझेदार रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रावतलाई 'असाधारण नेता' भने।

भारतका लागि रुसी राजदूत निकोलय कुशाशेभले रुसले 'एक नजिकको मित्र गुमाएको' बताएका छन्।

पाकिस्तानका उच्च सैन्य अधिकारीहरूले पनि रावतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।