डा. भम्पा राईः भुटानी शरणार्थीसँगै आइपुगेका तर अहिले एक्लो परेका एक चिकित्सकको व्यथा

  • उमाकान्त खनाल
  • झापा
डा भम्पा राई

एक लाखको सङ्ख्यामा नेपालीभाषी भुटानीहरू शरणार्थीको रूपमा नेपाल आउँदा डा. भम्पा राईको मन थामिएन। नेपाल आएका शरणार्थीसँगै उनी पनि नेपाल आए।

डा. राईका अनुसार उनलाई भुटान सरकारले 'खेदेको' होइन।

त्यत्रा सङ्ख्यामा भुटानीहरूलाई जब सरकारले देश छोड्न आदेश दियो, तिनै 'दाजुभाइ'को स्वास्थ्योपचार कसले गरिदिन्छ भन्दै आफू पनि उनीहरूसँगै नेपाल आएको उनी बताउँछन्।

डा. राई भन्छन्, "हाम्रा दाजुभाइलाई भुटान सरकारले अन्याय गरेपछि मैले त्यो अन्याय देख्न सकिनँ। म पनि उनीहरूसँगै नेपाल आएको हुँ।"

"अरू चाहिँ रुने अनि मैले हाँस्ने कुरा त भएन नि।"

राईका अनुसार उनलाई भुटान सरकारले पर्याप्त सुविधा दिएर राखेको थियो। उनी त्यही बेलादेखि शल्यचिकित्सक थिए।

बाङ्ग्लादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डा. राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न छन्।

डा. राईले सन् १९७९ देखि भुटान सरकारको कन्सल्टेन्ट सर्जनको रूपमा काम गर्दै आएका थिए।

तर अहिले तिनै डा. राईको जीवन वृद्धावस्थामा 'कहालीलाग्दो' भएको छ। अहिले उनीसँग कोही पनि छैन। एक्लो जीवन बिताइरहेका छन्।

शरणार्थीको निरन्तर सेवा

झापाको दमक चोकदेखि करिब ५० मिटर उत्तर बेलडाँगी रोडमा रहेको क्लिनिकमा उनको दैनिकी बित्छ।

बिहान कसैले खाना पकाएर दिए, खाएर उनी त्यही क्लिनिकमा आउँछन्। नत्र क्लिनिकमै केही खानेकुरा मगाएर खान्छन्। पहिला बानी नपरेको अहिले उनलाई चुरोटको लत पनि लाग्दै गएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

भ्वाइस अफ नेपाल विजेता किरण गजमेर भन्छन्: ‘भुटानी शरणार्थी हुँ भन्दा गर्व लाग्छ’

डा. राई भन्छन्, "बेलुका कसैले पकाएर खान दियो भने खान्छु। नत्र यसो केही खाएर भोक मार्‍यो, सुत्यो।"

पहिला हृस्टपुस्ट देखिने गरेका राईको अनुहार अचेल मलिन छ। उनको अहिले 'न टेक्ने न समाउने' ठाउँ छ।

क्लिनिकमा आउने शरणार्थीबाहेक अन्य समुदायका मानिसहरूबाट जाँच शुल्क लिन्छन्। तर शरणार्थी समुदायका बिरामीबाट उनी एक पैसा पनि लिँदैनन्।

एक्ला राई

डा. राई आफैँ शरणार्थी भए पनि तेस्रो मुलुक पुनर्स्थापनाको कार्यक्रम अन्तर्गत उनी कुनै पनि देश जान चाहेनन्।

उनी जस्ता पढेलेखेका कैयौँ शरणार्थी तेस्रो मुलुक गइसके। तर उनलाई न तेस्रो मुलुक जान लोभ लाग्यो न कुनै गाडी चढ्न।

शरणार्थीको सेवा र शरणार्थीकै हितका लागि बोल्दा बोल्दै उनी एक्ला भए। उनको परिवारमा अहिले कोही पनि छैनन्। सबै बितेर गए।

राईले भने, "बुवा बितेको १९ वर्ष भयो। आमा सन् १९९४ मा बित्नु भयो। कान्छी बहिनीलाई सन् १९९४ मा क्यान्सरले लग्यो। श्रीमती उर्मिला बितेको पनि अस्ति असारमा एक वर्ष भयो। एउटी बोल्न नसक्ने दिदी हुनुहुन्थ्यो, उहाँ बितेको पनि केही महिना भयो।"

उनी पनि अहिले शरीरमा रगत अभावका कारण अस्वस्थ छन्।

डा. राई भन्छन्, "अब तपाईंहरूसँग बोल्ने दिन त्यति धेरै छ जस्तो छैन।"

आधा झुकेको भुटानको झण्डा

स्वास्थ्य अवस्था कमजोर भए पनि स्वदेश फिर्ती अभियानमा आफू कहिल्यै नथाक्ने उनी बताउँछन्।

राई झण्डा देखाउँदै भने, "देशप्रेम कसरी मर्छ र?"

उनले १५ वर्षदेखि भुटानको झण्डा आफ्नो क्लिनिकमा राखेका छन्।

तर उक्त झण्डाको एकचौथाई भाग उनले आफैँ झुकाएका छन्। भन्छन्, "त्यत्रा मानिस भुटानबाट खेदिए। यो झुकाएको चाहिँ त्यसैका लागि हो। भुटान सरकारले गरेको अन्यायका लागि हो।"