५ वर्ष ९ महिनापछि नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु, नेतृत्वका धेरैजसो आकाङ्क्षी अझै जोड-घटाउमा

नेपाली कांग्रेस

पटकपटक सर्दै आएको सत्तारूढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्ततः शुक्रवारदेखि काठमाण्डूमा सुरु भएको छ।

पार्टीको नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भइसकेको छ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भने मङ्सीर २७ गते बिहान सुरु हुने बताइएको छ।

प्रत्येक चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन पार्टी विधानले दिएको सुविधादेखि संवैधानिक समय सीमा समेत पार गरेर ५ वर्ष ९ महिनापछि हुन गइरहेको छ।

केन्द्रीय समितिका पदाधिकारी र सदस्य, सङ्घीय निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरू, भातृ तथा शुभेच्छुक सङ्गठनका प्रतिनिधिहरू समेत गरेर महाधिवेशनमा झन्डै ४,७०० प्रतिनिधि सहभागी हुने बताइएको छ।

शुक्रवारको उद्घाटन समारोहमा शुभकामना दिनका लागी नेपालका प्रमुख राजनीतिक दल र केही विदेशी दलका नेताहरू पनि सहभागी हुनेछन्।

बन्द सत्रमा के हुन्छ?

काठमाण्डूको भृकुटीमण्डपमा उद्घाटन समारोह सकिएलगतै बन्द सत्र सुरु गरिने कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

''बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक लेखा प्रतिवेदन, विधानको बाधा फुकाऊ, निलम्बन अनि अनुमोदन प्रस्ताव पेस हुन्छ। पार्टीको नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस हुन्छ र त्यो छलफल भएर पारित भएपछि बन्द सत्र सकिन्छ,'' खड्काले भने।

तस्बिर स्रोत, RSS

यस वर्षदेखि कांग्रेसमा नीति बनाउन र नेतृत्व चयन गर्न फरक फरक अधिवेशन गरिएको छ।

त्यसैले अहिलेको महाधिवेशन निर्वाचनमा केन्द्रित हुने नेताहरूले बताएका छन्।

निर्वाचन

केही समय अघि सङ्घीय ढाँचा अनुरूप पार्टी विधानलाई परिमार्जन गरेको कांग्रेसले दुई जना उपसभापति र दुई जना महामन्त्री पनि निर्वाचित भएर आउने व्यवस्था गरेको छ।

त्यस्तै समावेशी सिद्धान्तका आधारमा आठ जना सह-महामन्त्री हुने व्यवस्था गरेको छ।

केन्द्रीय समितिमा एक जना कोषाध्यक्ष र ३३ जना सदस्य बाहेक निर्वाचन हुने बताइएको छ।

कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।

नयाँ कार्यसमिति चयनका लागी मतदान २७ गते हुने केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए।

''२५ गते हामी उम्मेदवारी लिन्छौँ, २६ गते मतपत्र बनाउँछौ र २७ गते दिनभरि मतदान हुनेछ। १४ जना पदाधिकारी र अन्य विभिन्न क्ल्सटरका सदस्य गरेर २९ वटा मतपत्र हुनेछ र हामी तीन ठाउँमा मतदान गराउने छौँ,'' उनले भन।

विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम भने सुरु भइसकेको छ।

उमेद्वारी घोषणा र दाबी

कांग्रेस भित्र युवा पुस्ताका भनिने नेताहरूले महामन्त्री, सह-महामन्त्री र केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

पार्टी सभापति र उपसभापतिजस्ता पदमा पहिलो पुस्ताकै नेताहरूले दाबी गरिरहेका छन्।

कांग्रेसभित्र संस्थापन र संस्थापन इतर भनेर चिनिने दुई वटै पक्षले सबै पदमा छुट्टाछुट्टै समूह बनाएरै निर्वाचन लड्ने सम्भावना बलियो रहेको बताइएको छ।

गत महाधिवेशनमा सभापति पदको निर्वाचनमा तेस्रो मत ल्याएका कृष्ण सिटौलाले आफ्नो छुट्टै समूह बनाउने वा अर्को समूहसँग मिलेर जाने भन्ने बारेमा निर्णय गरिसकेका छैनन्।

सरकारको नेतृत्व गरिरहेको पार्टीमा नेतृत्व चयनका लागि हुने निर्वाचनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।