ओमिक्रोन: यो भेरिअन्टबाट बच्न तीन मात्रा खोप आवश्यक
- जेम्स ग्यालहर
- स्वास्थ्य तथा विज्ञान संवाददाता

तस्बिर स्रोत, Getty Images
कोभिड खोपको दुई मात्राले मात्र ओमिक्रोनको सङ्क्रमणको खतरा नटर्ने यूकेका वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
यूकेका ओमिक्रोन र डेल्टा सङ्ग्रमणका घटनाहरूको प्रारम्भिक विश्लेषणबाट दुई मात्रा खोप नयाँ भेरिअन्ट सङ्क्रमणबाट जोगाउन कम प्रभावकारी भएको पाइएको छ।
तर तेस्रो अर्थात् बूस्टर मात्रा लगाउने हो भने ७५ प्रतिशत मानिसमा कोभिडको कुनै पनि लक्षण नदेखिने बताइएको छ।
यसैबीच मन्त्री माइकल गोभले यूकेमा 'चिन्ताजनक स्थिति' रहेको चेतावनी दिएका छन्।
उनले भने "तत्काल कारबाही गर्न आवश्यक छ, नयाँ तथ्याङ्क अगाडि आउने बित्तिकै हामी केही कदम चाल्नेछौँ।"
यूकेमा हालसम्म ओमिक्रोन सङ्क्रमितको पुष्टि भएको सङ्ख्या १,२६५ छ। शुक्रवार रेकर्ड गरिएको कुल कोभिड सङ्क्रमण भने ५८१९४ थियो जुन ज्यानुअरी ९ यताको सबभन्दा ठूलो सङ्ख्या हो।
सरकाले केयर होमहरूका लागि बनाइएको निर्देशिका परिवर्तन गर्दै केयर होममा बसेका मानिसलाई भेट्न आउनेहरूको सङ्ख्यामा नियन्त्रण गर्न लागिएको बताएको छ।
तस्बिर स्रोत, Getty Images
ओमिक्रोन भेरिअन्ट
अति सङ्क्रामक ओमिक्रोन भेरिअन्ट पत्ता लागे यता खोपले त्यस सङ्क्रमणविरुद्ध काम नगर्ने हो कि भन्ने चिन्ता छ।
यूकेको हेल्थ सेक्युरिटी एजेन्सीले ५८१ वटा ओमिक्रोन सङ्क्रमण र हजारौँ डेल्टा भेरिअन्ट केसको विश्लेषण गरेर नयाँ भेरिअन्टप्रति खोप कत्तिको प्रभावकारी छ भन्ने हेर्न खोजेको बताएको छ।
विश्लेषण सीमित तथ्याङ्कमा आधारित छ तर अक्सफर्ड आस्ट्राजेनेका र फाइजरको दुई मात्रा लगाउँदा पनि प्रभावकारिता खस्केको तथ्यमा आधारित छ।
बूस्टरपछि कोभिड लक्षणबाट ७५ प्रतिशत सुरक्षा हुन्छ जुन यस अघिको भेरिअन्ट विरुद्ध सुरक्षाभन्दा कम हो।
मोडेर्ना र ज्यानसेन खोपकोबारेमा तथ्याङ्क उपलब्ध छैन तर त्यसको फरक परिणाम आउन सक्छ भनेर सोच्ने ठाउँ पनि छैन।
खोपले धेरै मानिसलाई अस्पताल जानुपर्ने अवस्था आउनबाट बचाउँछ भन्ने छ।
तर ओमिक्रोन भेरिअन्ट अति सङ्क्रामक भएकाले ठूलो र हठात लहर आयो भने जोखिमपूर्ण अवस्थाका धेरै मानिसहरू अस्पताल जानुपर्ने अवस्था आउन सक्छ।
यूकेमा हरेक दुई वा तीन दिनमा ओमिक्रन सङ्क्रमितको सङ्ख्या दोबर हुने गरेको छ।
यदि अहिलेकै जस्तो सङ्ख्या बढ्दै गए डिसेम्बरको अन्त्यसम्ममा दैनिक १ लाख जना ओमिक्रोनबाट सङ्क्रमित हुने अनुमान गरिएको छ।