युक्रेनमाथि हमला गरे रुसले त्यसको परिणाम भोग्नुपर्ने यूकेको चेतावनी

तस्बिर स्रोत, Getty Images
रुसी सेना
ब्रिटिश विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे उसले "गम्भीर आर्थिक परिणाम" भोग्नुपर्ने चेतावनी दिएकी छन्।
उनले यसै सप्ताहान्तमा लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम "रणनीतिक गल्ती" हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी हुन्।
ट्रसले यूके र उसका साझेदारहरूले "त्यस्तो खालको (युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने) कारबाहीलाई रोक्नुपर्ने"मा जोड दिएकी छन्।
युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ। तर क्रेमलिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ।
अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोहोर्याउँदै ब्रिटिश विदेशमन्त्रीले भनेकी छन्, "जी-सेभेन युक्रेनका सम्बन्धमा… आक्रमकताका विरुद्ध वास्तवमै कडा र बलियो रूपमा उभिन गइरहेको छ।"
"यदि रुसले त्यस्तो गतिविधि गर्यो भने त्यो रणनीतिक गल्ती हुनेछ र त्यसको रुसले गम्भीर परिणाम भोग्नुपर्नेछ।"
उनले सप्ताहान्तको बैठकमा एकै खाले मत राख्ने साझेदारहरूले एकै स्वरमा त्यसको विरोध गर्न गइरहेको पनि उनले बताएकी छन्।
रुस र युरोपेली सङ्घ (इयू) दुवैतर्फ सीमा जोडिएको युक्रेनको रुससँग गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको छ।
युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो।
रुसले चाहिँ युक्रेनलाई उक्साएको आरोप लगाएको छ र उसले पूर्वतर्फ नेटोको विस्तार रोक्नुपर्ने तथा आफ्नो सीमा क्षेत्रमा हतियार र सैन्य उपस्थिति नबढाइने बारे ग्यारेन्टी खोजेको छ।
जी-सेभेन बैठकअघि ब्रिटिश विदेशमन्त्रीले युक्रेनी विदेशमन्त्री दिमित्रो कूलेबासँग लण्डनमा कुराकानी गरेकी छन्।
तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मङ्गलवार उक्त क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक गरेका थिए
रुसी आक्रामकताप्रति सैन्य प्रतिक्रियालाई अस्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने प्रश्नको उत्तरमा ट्रसले यूकेले युक्रेनसँग "रक्षा र सुरक्षा क्षमता अभिवृद्धिमा" काम गरिरहेको बताइन्।
उनले भनिन्, "हामी उनीहरूलाई सहयोग प्रदान गर्छौँ। हामी उनीहरूले रुसी ऊर्जा आपूर्तिमा मात्र भर पर्नु नपरोस् भनेर पनि सहयोग गर्न काम गरिरहेका छौँ र त्यसरी अन्तत: हामी युक्रेनलाई सहयोग प्रदान गर्न मद्दत गर्छौँ।"
उनले यूके र ईयूले पश्चिमा देशहरूले ऊर्जाका लागि रुसमा भर पर्ने कुरालाई कम गर्न प्रयास गरिरहेको पनि बताइन्।
उनका अनुसार यदि रुसले युक्रेनमाथि हमला गरे जर्मनी र रुसबीच रहेको नोर्ड स्ट्रिम-२ ग्यास पाइपलाइन एउटा समस्या हुन सक्नेमा जोड दिइन्।
उक्त विषयमा उनले जर्मनीका नयाँ विदेशमन्त्रीसँग जी-सेभेन बैठकमा कुराकानी गर्ने बताइएको छ।
उनले आफूहरूले ग्यास र ऊर्जाका लागि युरोपको निर्भरतालाई कम गर्नै पर्ने आवश्यकता औँल्याएकी छन्।
अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मङ्गलवार उक्त क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक गरेका थिए।
बाइडनले उक्त बैठकमा आफूले पुटिनलाई स्पष्ट रूपमा यदि युक्रेनमा हमला गरिए "उनले कहिल्यै सामना नगरेको आर्थिक परिणाम भोग्नुपर्ने" चेतावनी दिएको बताएका छन्।