कोभिड: नेपाल-भारत उडान अहिले कति सहज छ, ओमिक्रोन भेरिअन्टको त्रास बढेपछि अब के होला

तस्बिर स्रोत, RSS
कोरोनाभाइरस महामारीका कारण नेपाल र भारतबीच हुने हवाई उडानमा लागु गरिएको 'एअर बबल' सम्झौतामा तत्काल परिमार्जन हुने सम्भावना टर्दै गएको देखिएको छ।
नेपाल र भारतमा ओमिक्रोन भेरिअन्ट पुष्टि हुनुअघि भारतले 'एअर बबल' सम्झौतामा आधारित रहेर उडान सङ्ख्या थप्ने प्रस्ताव गरेको थियो। भारतले बुधवारबाटै (डिसेम्बर १५ तारिख) अन्तर्राष्ट्रिय उडानहरू खुला गर्ने तयारी गरेको विवरणहरू पनि सार्वजनिक भएका थिए।
त्यसो गरिए एअर बबल "स्वतः हटेर जाने" नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्ण बताउँछन्।
तर विश्वका विभिन्न मुलुकमा ओमिक्रोन भेरिअन्ट फैलिएसँगै भारतले आगामी वर्षको ज्यानुअरीसम्म उक्त व्यवस्था कायमै राख्ने जनाएको छ।
परिवर्तित परिस्थितिमा 'एअर बबल' कायम राखेर उडान सङ्ख्या थप गर्ने विषयबारे पनि नेपाली अधिकारीहरू अनभिज्ञ देखिन्छन्।
नयाँ प्रस्तावमा के थियो?
दुवै देशका वायुसेवा प्रदायक कम्पनीहरूले साताको २८-२८ वटा उडान गर्ने प्रस्ताव भारतले गरेको थियो। त्यसमा नेपालले सहमति पनि जनाइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ।
नेपाल र भारतबीच हाल काठमाण्डू-दिल्ली क्षेत्रमा मात्रै उडान भइरहेको छ।
महामारी सुरु भएपछि काठमाण्डूबाट मुम्बई, बेङ्गलोर, कोलकाता र बनारससहितका सहरमा हुने उडानहरू रोकिएका थिए। नेपालले ती स्थानमा पनि पुनः उडान गर्नेगरी प्रस्ताव अघि सारेको थियो।
"यही बीचमा फेरि यो ओम्रिक्रोन आयो … उताबाट आएको (उडान थप्ने जानकारी) छैन। उताबाट नआईकन भन्न सकिएन," मन्त्रालयको नागरिक उड्डयन महाशाखाका सहसचिव बुद्धिसागर लामिछानेले पछिल्लो अवस्थाबारे भने।
तस्बिर स्रोत, AFP
कर्णले पनि भारतसँगको उडान सङ्ख्या थप्ने विषयमा नेपालको कुनै आपत्ति नरहेको जानकारी दिए।
"उनीहरूको (भारत) कुरा हो। उनीहरूले कसरी गर्छन्, त्यसमा भर पर्छ," कहिलेबाट उडान सङ्ख्या थपिने सम्भावना छ त भन्ने बीबीसीको प्रश्नको उत्तर दिँदै उनले भने।
अहिले नेपाल र भारतबीच सातामा सात-सात वटा उडान हुने गरेका छन्।
त्यसअनुसार नेपालबाट नेपाल वायुसेवा निगम र भारतबाट एअर इन्डियाले यात्रु ओसारिरहेका छन्।
सङ्ख्या बढाउन दबाव
विभिन्न प्रयोजनका लागि नेपाली नागरिक वा नेपालमा रहेका भारतीयसहित अन्य देशका नागरिक भारतका विभिन्न सहर यात्रा गर्ने गर्छन्।
भारतबाटै वा भारत हुँदै नेपाल आउने यात्रुको सङ्ख्या पनि उच्च रहेको अधिकारीहरू बताउँछन्।
यस्तो अवस्थामा दुई देशबीच उडान सहज पार्नुपर्ने दबावमा सरकार देखिन्छ।
माग उच्च भएका बेला काठमाण्डूबाट दिल्ली जानका लागि एकतर्फी हवाई भाडा ५०,००० रुपैयाँसम्म पर्न गएको विवरणहरू सार्वजनिक भएका थिए।
तर कर्ण भने नेपाल र भारतबाट दैनिक एउटा मात्रै उडान रहँदा यात्रुहरूको चाप पर्नु स्वाभाविक रहे पनि मूल्य भने नबढेको बताउँछन्।
यात्रा प्रतिबन्धअघि त्रिभुवन विमानस्थलमा पार्क गरिएका विमानहरू
नेपाल वायुसेवा निगमको जहाज र भारतबाट एअर इन्डियाले मात्रै उडान गरेका र यी दुवैको उडान सरकारबाट स्वीकृत भएको भाडा दरमा आधारित रहेको कर्ण बताउँछन्।
"उसको (एअर इन्डियाको भाडा) ४८,००० नेपाली रुपैँया पहिलेदेखि नै छ। त्योभन्दा बढी बढाउनै पाउँदैन उसले। हाम्रो ३६,८०० रुपैयाँको हाराहारी छ," उनले भने।
'एअर बबल' अन्तर्गतको सम्झौतामा भारतबाट नेपाली अनि भारतीय नागरिक नेपाल प्रवेश गर्न पाउँछन्।
एअरलाइन्स कम्पनीहरूले टिकट बेच्नुअघि वा विमान चढ्नुअघि भारतीय नागरिकहरूलाई नेपालमा रोक लगाइएको वा नलगाइएको निश्चित गर्नुपर्ने बताइएको छ।
त्यस्तै परिआएको अवस्थामा नेपालको प्रवेशाज्ञा प्राप्त गरेका तेस्रो देशका नागरिक अनि कूटनीतिज्ञहरूले पनि यात्रा गर्न पाउने बताइएको छ।
त्यस्तै नेपालबाट भारतीय र नेपाली नागरिकले दिल्ली जान पाउँछन्।
ओभरसीज सिटिजन्स अफ इन्डिया (ओसीआई) तथा पर्सन अफ इन्डिअन अरिजिन (पीआईओ) कार्ड भएका अन्य देशको राहदानी बोक्ने यात्रुहरूले पनि भारत यात्रा गर्न पाउने बताइएको छ।
त्यस्तै भारतको प्रवेशाज्ञा प्राप्त गरेका यात्रु अनि कूटनीतिज्ञले पनि नेपालबाट हवाईमार्ग हुँदै भारत जान पाउँछन्।
यो पनि हेर्नुहोस्
कोरोनाभाइरसपछि हवाईयात्रा कस्तो होला