ल्यारी नासर: अमेरिकामा सयौँ महिला पीडित बनेको यौन दुर्व्यवहारका घटनामा ३८ करोड डलर क्षतिपूर्तिको सहमति

ओलिम्पिक स्वर्ण पदक विजेता म्याक्याला मरोनी (बायाँ) र सिमोनी बाइल्स यस प्रकरणका निकै परिचित पीडित हुन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

ओलिम्पिक स्वर्ण पदक विजेता म्याक्याला मरोनी (बायाँ) र सिमोनी बाइल्स यस प्रकरणका निकै परिचित पीडित हुन्

अमेरिकी न्याश्नल जिम्न्यास्टिक टोलीका एकजना पूर्व चिकित्सक ल्यारी नासरले दुर्व्यवहार गरेका सयौँ महिलाहरूले ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका छन्।

अमेरिकी खेल जगतमा हङ्गामा ल्याएको उक्त प्रकरणमा पाँच वर्षको कानुनी लडाईपछि यूएसए जिम्न्यास्टिकसँग त्यस्तो सहमति गरिएको हो।

पीडक ल्यारी नासरलाई खेलाडीहरूलाई दुर्व्यवहार गरेकोमा सन् २०१८ मा ३०० वर्षको सजाय सुनाइएको थियो।

क्षतिपूर्ति

क्षतिपूर्तिको त्यस्तो सहमति यौन दुर्व्यवहारका घटनामा अमेरिकामा भएको ठूलोमध्येको हो।

उक्त सहमतिको एउटा पक्षमा यूएसए जिम्न्यास्टिक र ओलिम्पिक कमिटीको बोर्डमा पीडितहरूलाई स्थान दिइनेछ।

उक्त दुर्व्यवहारबारे पहिलोपटक सार्वजनिक रूपमा बोलेकी राचेल डेनहोलान्डरले यस खबरको स्वागत गर्दै ट्विटरमा लेखेकी छन्, "यो अध्याय अन्तत: सकिएको छ।"

नासरले दुर्व्यवहार गरेको भन्दै कयौँ ओलिम्पिक्स विजेता खेलाडीहरूले समेत बयान दिएका थिए।

घटना

कुलमा नासरमाथि यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीका ३३० जनाभन्दा धेरै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका थिए।

सन् २०१८ मै मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर तिर्ने बताएको थियो।

जसकारण यस प्रकरणमा झण्डै ८८ करोड डलर क्षतिपूर्तिको सहमति भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

तपाईँ पनि कुनै प्रकारको दुर्व्यवहारको सिकार हुनुभएको छ?