ओमिक्रोन कोभिडः खोपको दुई मात्रा अपर्याप्त हुने भए बूस्टर मात्राले कसरी कोरोना भाइरस रोक्न सक्ला?

  • जेम्स ग्यालहर
  • स्वास्थ्य र विज्ञान संवाददाता
बूस्टर

तस्बिर स्रोत, Getty Images

निकै उत्परिवर्तन भएको कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले कोभिड-१९ बाट मानिसलाई जोगाउने खोपको क्षमतामा गम्भीर चोट लगाइदिएको छ।

केही खोपका दुई मात्राले ओमिक्रोनको सङ्क्रमणबाट नजोगाउने तर तिनले अस्पताल नै जानुपर्नेगरी बिरामी हुने जोखिमलाई भने निकै घटाउने बताइएको छ।

अहिले उपलब्ध सबै खोपहरू दुई वर्षअघि देखा परेको कोरोनाभाइरसको पहिलो स्वरूपलाई लक्षित गरी निर्माण गरिएका हुन्।

त्यसोभए के त्यस्ता खोपको तेस्रो वा 'बूस्टर' अर्थात् अतिरिक्त मात्राले केही फरक पार्न सक्ला त? ओमिक्रोनले ती खोपले प्रदान गर्ने रक्षाकवच छलिसकेको पो छ कि?

खोप दिँदा सुईमा हुने तत्त्व उही भए पनि हाम्रो प्रतिरक्षा प्रणालीका बूस्टर मात्राले भिन्न रूपमा काम गर्छ।

पहिला लिइएका मात्राले भन्दा खोपको तेस्रो मात्राले प्रदान गर्ने सुरक्षा निकै ठूलो, व्यापक र लामो अवधिसम्म काम गर्ने खालको हुन्छ।

कोभिड स्कूल

हाम्रो प्रतिरक्षा प्रणालीले कोरोनाभाइरससँग सङ्घर्ष गर्न सिक्नुपर्छ।

भाइरस शरीरभित्र छिर्दा त्यसलाई चिन्नु एउटा उपाय हो। तथापि शरीरभित्र प्रवेश गर्दा भाइरसले तपाईँलाई गम्भीर बिरामी बनाइदिन सक्छ।

खोपहरू स्कूलजस्ता हुन्छन्। ती तपाईँको प्रतिरक्षा प्रणालीको ज्ञानलाई विस्तार गरिदिने सुरक्षित उपाय हुन्।

पहिलो मात्रा भनेको आधारभूत कुरा सिक्ने प्राथमिक विद्यालयजस्तो हो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

बूस्टर भनेको प्रतिरक्षा प्रणालीको विश्वविद्यालजस्तो हो

दोस्रो र तेस्रो मात्राले तपाईँको प्रतिरक्षा प्रणालीलाई माध्यमिक र विश्वविद्यालय पठाएर विषयवस्तुको बुझाइलाई नाटकीय रूपमा गहिरो बनाइदिन्छन्।

यो प्राथमिक विद्यालय दोहोर्‍याइराख्नु जस्तो होइन।

यूनिभर्सिटी अफ नोटिङ्गमका भाइरसविज्ञ प्राध्यापक जोनाथन बल भन्छन्, "प्रतिरक्षा प्रणालीसँग भाइरसबारे विस्तृत ज्ञान र बुझाइ हुन्छ।"

ओमिक्रोमले खोपलाई छल्छ कि भन्ने आशङ्का भइरहँदा उनी उच्चप्रशिक्षित प्रतिरक्षा प्रणाली भाइरस र त्यसका भेरिअन्टका लागि निकै असहज र प्रतिकूल वातावरण हुने बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड नेपाल: 'बूस्टर मात्रा भिन्दै कम्पनीको लगाउँदा पनि फरक पर्दैन'

एन्टिबडीको भूमिका

यस शिक्षाको सबैभन्दा मुख्य लाभग्राही रोगप्रतिरोधी तत्त्व एन्टिबडी हो।

प्रतिरक्षा प्रणालीभित्र लगाइने खोपको प्रत्येक मात्राले एन्टिबडीको अर्को चक्र विकास गर्छ।

त्यसले भाइरससँग अझ राम्ररी गाँसिएर बस्ने परिस्कृत एन्टिबडी विकास गर्छ।

एन्टिबडीहरूको गुणस्तर मात्र होइन, सङ्ख्या पनि बढ्छ।

इम्पीरीअल कलेज लन्डनका प्राध्यापक चार्ल्स ब्याङ्गम भन्छन्, "तपाईँहरूले आफ्नो रगतमा त्यसको बढ्दो मात्रा पाउनुहुनेछ र हामीलाई त्यो कहिलेसम्म बस्छ भन्ने थाहा छैन। तर जति धेरै पटक तपाईँले खोप लगाउनुहुन्छ, प्रतिरक्षाको समय उति नै बढी हुन्छ।"

वास्तविक जीवनका तथ्याङ्कमा आधारित प्रयोगशालाका अध्ययनमा दुई मात्रा खोप ओमिक्रोनको हकमा कमजोर देखिए।

बूस्टर लगाएपछि कुनै पनि कोभिड लक्षण देखिने अवस्थाबाट ७५ प्रतिशत सुरक्षा पाइन्छ।

बूस्टरले भविष्यका भेरिअन्टका लागि समेत सुरक्षा दिन्छ।