राप्रपाः महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘हस्तक्षेप गरेको’ आरोपबारे पार्टीले छानबिन गर्ला कि कमल थापामाथि कारबाही गर्ला

राप्रपा केन्द्रीय समिति बैठक

तस्बिर स्रोत, RSS

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना पूर्व अध्यक्ष कमल थापाले हालै सम्पन्न पार्टी महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेकै कारण नेतृत्वको चुनावमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन्।

डेढ साताअघि राप्रपाको नेतृत्वका लागि भएको निर्वाचनमा पराजित भए लगत्तै उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले "नाङ्गो हस्तक्षेप" गरेको आरोप लगाएका थिए।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोमवार एउटा पत्र लेख्दै आफ्नो आरोपलाई थापाले दोहोर्‍याएका छन्।

पार्टी महाधिवेशनमा पूर्वराजा र निर्मल निवास सचिवालयले हस्तक्षेप गरेकोबारे आफूसँग यथेष्ट प्रमाण रहेको पनि पत्रमा उनले दाबी गरेका छन्।

निर्मल निवासले राप्रपामाथि पटक पटक हस्तक्षेप गरेको भन्दै थापाले पछिल्लो पटक लिङ्देनलाई "अस्त्रको रूपमा प्रयोग गरिएको" आरोप लगाएका छन्।

"पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष छानबिन समिति बनाउनुहोस्। हस्तक्षेपको भर्त्सना गर्नुहोस्। भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस्," थापाले ट्विटरमा सम्प्रेषित गरेको पत्रमा भनिएको छ।

उनले भनेका छन्, "पार्टीका हजारौँ कार्यकर्ताको भविष्यको मलाई चिन्ता छ...पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाकाबारे पार्टीभित्र बहस शुरू गर्नुहोस्।"

तस्बिरको क्याप्शन,

फाइल तस्बिर

आरोपबारे छानबिन हुन्छ?

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले आरोपित हस्तक्षेप सम्बन्धमा छानबिनको माग गर्दै थापाले लेखेको पत्रबारे आफूले सञ्चारमाध्यममार्फत् थाहा पाएको बताए।

“मैले पनि सञ्चारमाध्यमहरूमार्फत् उहाँको पत्रबारे थाहा पाएको हुँ। आफैँले त कुनै पत्र पाएको छैन,” बीबीसीसँग उनले भने।

पूर्वअध्यक्ष थापाले माग गरेबमोजिम छानबिन हुन्छ त भन्ने प्रश्नमा लिङ्देनले भने, “त्यस्तो आरोपबारे के छानबिन गर्नु? त्यसको कुनै अर्थ नै छैन।”

के थापामाथि कारबाही हुन्छ?

राप्रपाको नयाँ नेतृत्वले पूर्वराजाबारे थापाका अभिव्यक्तिहरूलाई “असुहाउँदो” भन्दै आएको छ।

तस्बिर स्रोत, SCREENGRAB/FACEBOOK

आफू अध्यक्ष निर्वाचित भएपछि थापाले बधाई दिन कुरा गरेपश्चात्‌ आफूहरूबीच कुराकानी नभएको लिङ्देनले बताए।

“तर त्यस्ता अभिव्यक्ति नदिन नेताहरूमार्फत्‌ उहाँसम्म कुरा पुर्‍याउँदै आएको छु,” उनले भने।

पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि थापाले आक्षेप लगाउने क्रम नरोकिए भावी कदमबारे सोच्न आफूहरू बाध्य हुने अध्यक्ष लिङ्देनले चेतावनी दिए।

“कारबाहीबारे त हामीले सोचिसकेका छैनौँ। तर उहाँबाट यस प्रकारका आरोपले निरन्तरता पाइरह्यो भने पार्टीको तर्फबाट धारणा बनाउन बाध्य हुन्छौँ,” उनले थपे।

राजनीतिशास्त्री के भन्छन्?

पार्टी नेतृत्वमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्रमाथि लगाएको आरोपको धेरैले आलोचना गर्दै आएका छन्।

तस्बिर स्रोत, SCREENGRAB/FACEBOOK

कतिपयले त्यसलाई हारको अभिव्यक्ति भनिरहेका छन्। तर थापाले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल थापाका पछिल्ला अभिव्यक्तिलाई चुनावी रापतापको प्रतिक्रिया भन्न रुचाउँछन्।

“शुरूदेखि नै कमल थापाले आफ्नो राजनीतिमा दरबारको नाम भजाउँदै आएका छन्। आफ्नो एकछत्र अधिकार अहिले अरूले कसरी पायो भन्ने पनि उनलाई होला,” बीबीसीसँग उनले भने।

पछिल्लो विवादले राप्रपामा दुईवटा धार जन्मिने सङ्केत देखिएको प्राध्यापक खनालको अड्कल छ।

“राप्रपामा अब नरम राजावादी कमल थापा देखिने भए भने अर्को धार कडा राजावादी हुने देखियो,” उनले थपे।