फिलिपिन्स: समुद्री आँधीपछि बाढीपहिरोका कारण कम्तीमा १६७ को मृत्यु

तस्बिर स्रोत, AS YOU WISH PHOTOGRAPHY
फिलिपिन्समा गत आइतवार आएको समुद्री आँधी 'मेघी'ले निम्त्याएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ।
राष्ट्रिय विपद् एजेन्सीले थप ११० जना अझै हराइरहेको र १९ लाख मानिसहरू आँधीबाट प्रभावित भएको जनाएको छ।
लेइटी प्रदेशको बेबे सहर र वरपरका गाउँहरू बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।
पिलार गाउँमा ८० प्रतिशत घरहरू बगेर समुद्रमा पुगेका छन्। दक्षिणी डाभाओ क्षेत्र, मिन्डानाओ र मध्य क्षेत्रको नेग्रोस ओरिएन्टल्स् प्रदेशमा पनि मानिसहरूको मृत्यु भएको एजेन्सीले जनाएको छ।
स्थानीय भाषामा आगातो नामकरण गरिएको आँधी ६५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको बताइएको छ।
आँधीपछि टापु क्षेत्रमा रहेका मानिसहरू घर छोडेर केही उच्च भूभागमा बनाइएका आश्रयस्थलहरूमा पुगेका थिए।
फिलिपिन्सको कोस्ट गार्डले प्रकाशित गरेका तस्बिरहरूमा उद्धारकर्मीहरूले छातीसम्म डुबाउने पानी जमेका स्थानबाट स्ट्रेचरमा घाइतेहरूको उद्धार गरिरहेको देखिन्छ।
पानीले भरिएका सडकमा उद्धारकर्मीहरूले डुङ्गाको सहारामा मानिसहरूको उद्धार गरेको तस्बिर राखिएका छन्।

तस्बिर स्रोत, Reuters
आँधीपछि भएको वर्षाले उद्धारकार्य प्रभावित गरे पनि मङ्गलवारबाट अवस्था केही सहज भएको छ।
फिलिपिन्सले वर्षमा औसत २० वटा आँधीहरू सामना गर्ने गरेको छ। आइतवारको आँधी यो वर्षको अहिलेसम्मकै ठूलो हो।
गत वर्षको डिसेम्बरमा सुपर टाइफून राईले देशको दक्षिण पूर्वी द्विप क्षेत्रमा क्षति पुर्याएको थिए। उक्त आँधीका कारण ३७५ जनाको मृत्यु हुनुका साथै पाँच लाख जना प्रभावित भएका थिए।
विज्ञहरूले गत वर्षकै सबैभन्दा खराब भनेको उक्त आँधी पूर्वानुमान गरिएको भन्दा धेरै छिटो शक्तिशाली भएको थियो।

तस्बिर स्रोत, Reuters
"यो निकै सुख्खा मौसम हुने ठानिएको थियो। तर जलवायु परिवर्तनका कारण पनि हुन सक्छ," बेबे सहरकी जनसम्पर्क अधिकारी मरिसा मगेल कानोले समाचार संस्थाएएफपीसँग भनेकी छिन्।
वैज्ञानिकहरूले मानवसिर्जित जलवायु परिवर्तनले आँधी थप तीव्र र शक्तिशाली हुने गरेको बताएका छन्।
फिलिपिन्सले सन् २००६ मा निकै घातक आँधीको सामना गरेको थियो।
भौगोलिक परिस्थितिका कारण यो देश जलवायु प्रकोपको उच्च जोखिममा रहेको राष्ट्रमा सूचीकृत छ।
आँधी आउँदा यसरी गरियो एकमहिने शिशुको उद्धार