तालिबान र आइएसआइ बीच संबन्ध रहेको दावी

  • 17 जुन 2010
पाकिस्तानी सेना
Image caption पाकिस्तानका अधिकारीहरुले प्रतिवेदनको कडा खण्डन गरेका छन्

एउटा नयाँ प्रतिवेदनले पाकिस्तानको गुप्तचर संस्था र अफगानिस्तानको तालिबानबीच सीधा संबन्ध भएको ठोस प्रमाण भएको दावी गरेको छ।

लण्डनको स्कूल अफ इकोनोमिक्सको उक्त प्रतिवेदनका अनुसार पाकिस्तानको आइ. एस. आइ.ले तालिबानलाई सोचिएभन्दा ठूलो मात्रामा पैसा तालीम र आश्रय दिइरहेको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले सो दावीको खण्डन गरेका छन।

सहयोग

पाकिस्तानको गुप्तचर संस्था र तालिबानका बीच संबन्ध रहेको आशंका त धेरै अगाडिदेखि गरिएको हो तर लण्डनको स्कूल अफ इकोनोमिक्सको प्रतिवेदनले ती दुई बीच पहिला ठानिएभन्दा निकै गहीरो सहयोग रहेको संकेत गरेको छ।

प्रतिवेदन लेखकले यो वर्षको शुरुमा ९ जना तालिबान कमाण्डरहरुसंग कुरा गरेका थिए।

अरु ६ जना बिद्रोहीसंग पनि अन्तर्वार्ता गरिएको थियो।

उनीहरुले भनेका छन, आइएसआइले तालिबानलाई पैसा, तालीम र आश्रय दिन्छ।

अन्तर्वार्ता लिइएका मध्ये केहीका अनुसार आइएसआइले तालिबानको सर्वोच्च परिषदको बैठक समेत भाग लिन्छ।

उनीहरुको दावी छ, विद्रोहीहरुलाई समर्थन गरेर पाकिस्तानको सुरक्षा निकायले भारतको प्रभाव घटाउन कोशिश गरिरहेको छ।

असंभव

पाकिस्तानका सूचना मन्त्री ती दावीहरुको खण्डन गरेका छन।

उनले भने, उनको देशले आतंकवादका विरुध्दको लडाईमा सबभन्दा धेरै योगदान दिएको छ र पाकिस्तानका सुरक्षा र गुप्तचर संस्थाहरुले गठबन्धनका फौजलाई सहयोग गरिरहेका छन।

तर लण्डनको स्कूल अफ इकोनोमिक्सको प्रतिवेदनले पाकिस्तानको सोचाईमा महत्वपूर्ण परिवर्तन नआएसम्म अफगान सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा सशस्त्र संघर्ष अन्त्य गर्नु असंभव हुनेछ।