सरकारको एक बर्ष

  • 19 जुन 2010
माधवकुमार नेपाल
Image caption माधवकुमार नेपाल नेतृत्वको गठबन्धन सरकारले एक बर्ष पूरा गरेको छ

प्रधानमन्त्री माधबकुमार नेपालको गठबन्धन सरकारले एक वर्ष पुरा गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिएपछि खाली भएको प्रधानमन्त्री पदमा माधबकुमार नेपाल पुगेका थिए।

आफ्नो एक वर्षे कार्यकालमा सरकारले कुनै उल्लेखनीय काम गर्न नसकेको आलोचकहरुको भनाइ छ।

दिनगन्ती

तर गठन भएदेखिनै दिनगन्ती शुरु भएको भनिएको सरकारले एक वर्ष पुरा गर्न सक्नु नै ठूलो कुरा ठानिएको छ।

सदनको दुई तिहाइको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड देशको कार्यकारी प्रमुख बनेका थिए।

माधब नेपाल भने जेनतेन सामान्य बहुमत जुटाएर उनको उत्तराधिकारी बन्न पुगेका थिए।

संविधानसभाको सबभन्दा ठूलो दलका शक्तिशाली अध्यक्ष र दुई ठाउँबाट जितेका प्रचण्ड एक वर्ष नपुग्दै बालुवाटारबाट बाहिरिए।

तर तेश्रो ठूलो दल एमालेको अध्यक्ष पदको चुनाव समेत नलडेका र संविधानसभामा दुई ठाउँबाट हारेका माधब नेपालले सबैभन्दा लामो समयसम्म टिक्ने कम्युनिष्ट प्रधानमन्त्रीको कीर्तिमान बनाए।

चुनाव नलडेका वा हारेका नेताहरुको बाहुल्य भएको संभवत: आधुनिक नेपालकै सबभन्दा कमजोर गठबन्धन सरकारको देखाउन लायक भन्दा लुकाउन लायक काम नै बढी देखियो।

साना ठूला दलको जम्बो मन्त्रिमण्डल, पदीय मर्यादा र अनुशासनमा नबाँधिएका मन्त्रीहरु र साझा सरकारमा रहेका दश दलका दशथरी कुराले गर्दा सरकारको छवि धमिलिएको थियो।

भनिएको समय अर्थात २०६७ साल जेठ १४ गते भित्र नयाँ संविधान बनाउने र शान्ति प्रक्रियालाई टुंगोमा पु-याउने मुख्य जिम्मा पुरा गर्न असफलता सरकारका लागि अर्को धक्का थियो।

जग

यी सबैबाट आफ्नो आयुमा असर नपर्नु नै सरकारको मुख्य सफलता भएजस्तो छ।

प्रभावशाली छिमेकी भारतसंगको सम्बन्ध, पशुपतिको पुजारी नियुक्ति र प्रधान सेनापति अवकाश प्रकरणमा माथ खाएपछि सरकारबाट बाहिरिएको भूतपूर्व सशस्त्र विद्रोहीप्रति देश भित्र र देश बाहिरका कतिपय शक्तिहरुको रहेको आशंका र अविश्वासको जगमा सरकार उभिएको छ।

प्रधानमन्त्री नेपालको सरकारले दोश्रो वर्षमा पाइला टेक्नै लाग्दा उसको त्यो जग हल्लिए जस्तो छ, तर त्यसमा चिरा परिसकेको भने देखिएको छैन।