भावी प्रधानमन्त्रीको विषयमा नेपाली कांग्रेसभित्र विवाद

  • 20 जुन 2010

गहिरिदो राजनीतिक गतिरोधका माझ सहमतिको खोजी र बजेटको तयारीलाई संगसंगै अघि बढाउने नीति नेपाली कांग्रेसले लिएको देखिएको छ।

तीन बुँदे सहमतिका आधारमा बन्ने भनिएको नयाँ संयुक्त राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्न पाउनु पर्ने भन्ने धारणा सो दलका केही नेताहरुबाट सार्वजनिक भइरहेकोमा, केन्द्रीय समितिले त्यस्तो कुनै निर्णय गरि नसकेको महामन्त्री बिमलेन्द्र निधीले बीबीसीलाई बताए।

“त्यो विषयमा हामीले अन्य दलहरुसँग छलफल गर्ने नीतिगत निर्णय गरेका छौं।”

सहमतिय सरकारको प्रधानमन्त्री पनि नेपाली कांग्रेसकै शेर बहादुर देउवा वा रामचन्द्र पौडेल हुनु पर्ने भन्ने आन्तरिक विवाद अहिले चर्चाको शिखरमा छ।

कतिपय नेताले रामचन्द्र पौडेललाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने निर्णय गरिएको कुरा स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन्।

‘विधिसम्मत’

भावि प्रधानमन्त्रीको विषयमा समय आएपछि विधिसम्मत ढंगले किनारा लगाइने छ विमलेन्द्र निधि

तर आइतबार एउटा सार्वजनिक कार्यक्रममा बोलेका कार्यवाहाक सभापति सुशील कोइरालाले जस्तै, महामन्त्री निधीले सो विषयमा केन्द्रीय समितिले कुनै निर्णय नगरेको बताए।

“त्यो विषयमा समय आएपछि विधिसम्मत ढंगले किनारा लगाइने छ।”

प्रमुखदलहरु भित्र भावी प्रधानमन्त्रीको लागि दौड जारी रहेकै बेला आइतबारै नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेका थिए।

सो अवसरमा महामन्त्री निधी, कार्यवाहाक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र नयाँ बजेटको तयारीमा लाग्न सुझाव दिएको महामन्त्री निधीले पुष्टी गरे।

अन्यौल

“सरकारको काम नै हो नीति तथा कार्यक्रम र बजेट ल्याउने, त्यस्मा हाम्रो समर्थन रहन्छ।”

जानकारहरुका अनुसार नयाँ सरकार गठनबारेको जारी अन्यौल नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय पछि पनि कम हुने कुनै सम्भावना देखिएको छैन।