सहमतिमा पुग्न सानादलको ठूलादलमाथि दबाब

  • 22 जुन 2010

लम्बिएको राजनीतिक गतिरोध तोड्न ठूला दलहरुले सहमति जुटाउन नसके आफुहरुले संविधानसभाबाटै राजीनामा दिन सक्ने चेतावनी साना दलहरुले दिएका छन्।

यस्तो निर्णयमा पुगिनसकेको उनीहरुले बताएका छन्। तर ठूला दलहरुलाई दबाब दिन जारी राख्ने ती दलहरुको भनाइ छ। यही मेसोमा सोमबार १४ वटा साना दलको बैठक भएको थियो।

‘राजीनामा’

बैठकका एकजना सहभागी चुरेभावर राष्ट्रिय एकता पार्टीका सभासद केशवप्रसाद मैनालीका अनुसार गतिरोध अन्त गर्न संविधानसभाका सबै दलहरुको बैठक बोलाउन सभामुख सुवास नेम्वाङलाई पनि घचघच्याइएको छ।

उनले भने, “केही सीप नलागे दबाब स्वरुप राजीनामा पनि दिन सक्छौं, यद्यपि हामी त्यो टुंगोमा पुगिसकेका छैनौं।" अर्को सानो दल राष्ट्रिय जनमोर्चाले पनि ठूला दललाई दबाब बढाउन संविधानसभा त्याग्न सकिने जनाएकोछ। तर उसले पनि यसको टुंगो लागिनसकेको जनाएको छ।

उक्त पार्टीका सभासद चित्र बहादुर केसीले सके सहमतिको सरकार बनाउ नसके बहुमतीय सरकार भएपनि बनाउ, तर मुलुकलाई अनिर्णयको बन्दी नबनाउन भनेर दवाब दिइरहेको बताए।

उनले भने, “दबाब दिन संविधानसभाबाट राजीनामा दिनु पर्ने दिन आइसक्या छैन, तर परिस्थितिले आवश्यक ठह-याए त्यो पनि गर्नु पर्ला।“

आक्रोश

भनिएको समयमा संविधान बनाइ शान्ति प्रक्रियालाई टुंगोमा पु-याउन तीन ठूला दलहरु एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेको असफलता प्रति साना दलहरुको आक्रोश नयाँ होइन।

संविधानसभाको म्याद बढाइएको तीन सातायता पनि सहमतिको सरकार बनाउन नसकेकोमा ठूला दलहरु थप आलोचित भएका छन्। तर तीन मुख्य दलहरुमाथि जतिनै दबाब दिइएपनि अहिलेसम्म त्यसको खास असर परेको छैन। विश्लेषकहरु भन्छन्, साना दलका पछिल्ला ठूला कुराहरुले पनि गतिरोध अन्त्य हुने संभावना कमै छ।