नीति-कार्यक्रमका लागि सरकारद्वारा गृहकार्य तिब्र

  • 25 जुन 2010
माओवादी नेताहरु
Image caption माओवादीले सरकारको नीति-कार्यक्रमलाई संसदबाट पारित हुन नदिने बताएको छ

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले तिब्र विरोध गर्ने चेतावनी दिंइरहेको भएपनि सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने तयारीलाई जोडतोडका साथ अघि बढाएको छ।

सरकारका एकजना मन्त्रीका अनुसार नयाँ नीति तथा कार्यक्रमका विषयमा सरकारमा सामेल दलहरु र प्रमुख प्रतिपक्षी एकीकृत माओवादी दलसँग पनि छलफल गरिनेछ।

नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बनाउनको निम्ति गत वर्षका कार्यक्रमहरुको समिक्षा गर्ने क्रममा चौथो पटक शुक्रबार मन्त्रिपरिषद्को वैठक बसेको थियो।

संवाद

सो वैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका संघीय मामिला, संविधानसभा तथा संस्कृती मन्त्री मीनेन्द्र रिजालका अनुसार मन्त्रिपरिषद्ले समिक्षा पुरा गरेपछि नीति तथा कार्यक्रम र तीन बुँदे सहमतिको पूर्ण कार्यान्वयका विषयमा सबै प्रमुख दलहरुसँग छलफल गरिनेछ।

“त्यस्को लागी हामी छिट्टै माओवादीसँग पनि छलफल गर्दैर्छौं।”

मन्त्री रिजालका अनुसार गत वर्ष ल्याइएको विशेष सुरक्षा कार्यक्रम, मध्य पहाडी राजमार्गको निर्माण र विभिन्न सेवालाई प्रभावकारी बनाउने कार्यक्रमलाई सरकारले आउँदो वर्ष पनि निरन्तरता दिने सम्भावना छ।

सरकार आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिरहेको भएपनि, प्रमुख प्रतिपक्षी एकिकृत माओवादीले सरकार विरोधी आन्दोलनलाई अब संसदमा लैजाने र सरकारको नीति तथा कार्यक्रम र बजेट पारित हुन नदिने चेतावनी दिइसकेको छ।

तर मन्त्री रिजालले माओवादीको त्यस्तो कदम उचित नहुने तर्क गरे।

तयारी

सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा राजनीतिक दलहरुबीच छलफल शुरु भइसकेको छैन।

तर अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार नयाँ आर्थिक वर्षको बजेट बनाउने तयारी शुरु भइसकेको छ।

उनीहरु भन्छन्, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी दलबीच केही दिन भित्रै सहमति नबने सरकार अध्याधेश मार्फत बजेट ल्याउन बाध्य हुनेछ।

नीति तथा कार्यक्रम अध्याधेश मार्फत ल्याउन भने नमिल्ने अधिकारीहरु बताउछन्।