नयाँ प्रधानमन्त्रीको निम्ति दौड शुरु

  • 1 जुलाई 2010

राष्ट्रपतिडा. रामवरण यादवले सहमतिको सरकार गठन गर्न सातदिने म्याददिएपछि तीन प्रमुख दलहरु सरकार बनाउने दौडमा लागेका छन्।

Image caption प्रधानमन्त्री नेपालको राजीनामा पछि दलहरु सरकार बनाउने दौडमा लागेका छन्

सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी उच्चस्तरीय टोली बनाएर आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा उत्रिएको छ।

उसले आफ्नो नेतृत्वमा सरकार बनाउन अरु पार्टीको समर्थन जुटाउने जिम्मा अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय मोहन वैद्य किरण र बाबुराम भट्टराईलाई दिएको छ।

उनीहरुले सके राष्ट्रिय सहमतिको नभए बहुमतकै सरकार बनाउन जोडबल गर्ने छन्।

तर अन्य पार्टीको नेतृत्व स्वीकार नगर्ने माओवादी सचिव सीपी गजुरेलले बताए। उनले भने,, “सबैभन्दा ठूलो दल र संविधानसभा हाम्रो मुद्दा भएकाले नेतृत्व हाम्रै हुनुपर्छ।”

अस्वीकार

दोश्रो ठूलो पार्टी नेपाली कांग्रेसका नेताहरुले माओवादी नेतृत्वको सरकार नबन्ने ठोकुवा गर्दै हिडेका छन्।

महामन्त्री विमलेन्द्र निधिले भने, “हतियार र सेना भएको पार्टी भएकाले माओवादीको नेतृत्वमा सरकार बन्ने विलकुलै सम्भावना छैन।”

संविधानसभाको चुनावपछि माओवादी र एमालेले सरकारको नेतृत्व गरिसकेकाले कांग्रेसको पालो आएको तर्क गरे पनि उनले गैरमाओवादी विकल्पमा आफ्नो दल खुला रहेको जनाए।

एमालेले सार्वजनिक रुपमा प्रधानमन्त्रीको दावी गरेको छैन।

तर स्थायी कमिटीको बैठकले तीन बुँदे सहमति र शन्ति प्रकृयाको कुरा शर्त तेर्स्याएर माओवादी सामु तगारो खडा गरिदिएको छ।

सम्भावना

एमाले सचिव युवराज ज्ञवालीले भने, “शान्ति प्रकृया र संविधान लेखनबारेको सहमति नयाँ सरकार गठनसँग जोडिएकाले त्यसबारे सहमति हुनुपर्छ।”

तर माओवादी सचिव गजुरेल जेठ १४ गते भएको तीनबुँदे सहमतिको म्याद सकिएको जिकिर गर्दछन्।

विश्लेषकहरु भन्छन्, एकअर्काको नेतृत्व स्वीकार नगर्ने मुख्य दलहरुको सार्वजनिक उदघोषले आउँदो २३ गतेभित्र सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको म्याद खिचातानीमै गुज्रिने प्रवल सम्भावना देखा परेको छ।