माओवादी र कांग्रेसको कुरा सेना समायोजनमा अल्झियो

  • 3 जुलाई 2010
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश
Image caption नेता प्रकाशले समायोजनको निम्ति तत्काल लडाकूको संख्या तोक्न नसकिने बताएका छन्

प्रमुख प्रतिपक्षी माओवादीले आफ्ना लडाकू समायोजन र पुनर्स्थापनाको स्पष्ट खाका दिनुपर्ने नेपाली कांग्रेसको माग पूरा गर्न तयार भएपनि, समायोजनको निम्ति तत्काल सेनाको संख्या तोक्न नसकिने बताएपछि उक्त वार्ता असफल भएको थियो।

शनिबार दिउँसो बसेको दुई दलको बैठकमा नेपाली कांग्रेस विशेष रुपमा सेना समायोजनबारे माओवादीसंग स्पष्ट हुन खोजेको थियो।

बरु एक महिना लगाएर भएपनि माओवादीले आफ्ना लडाकूहरुलाई समायोजन र पुनर्स्थापनाको निम्ति दुईवटा छुट्टाछुट्टै शिविरमा राख्न मानेमा उसको नेतृत्वमा सरकार बन्न सक्ने धारणा कांग्रेसका नेताहरुले राख्दै आएका छन्।

लटरपटर

शनिबारको बैठकमापनि नेपाली कांग्रेसले सेना समायोजनकै बारेमा चासो राखेको तर जवाफ लटरपटर आएको उक्त पार्टिका उपसभापति गोपालमान श्रेष्ठले बताए।

“माओवादीले समायोजनको संख्या तोक्न नमिल्ने बतायो। माओवादीको माग बमोजिम प्रधानमन्त्रीले राजीनामा दिए। त्यसैले वहाँहरु अरु विषयमा लचिलो हुनुपर्ने हाम्रो भनाई हो,” श्रेष्ठले भने।

माओवादीले वैशाखमा गरेको आमहडताल लगत्तै अध्यक्ष प्रचण्डले बुद्धिजीवीहरुसंगको अन्तरक्रियामा महिनादिनभित्र समायोजन र पुनर्स्थापनाको निम्ति माओवादी लडाकू छुट्ट्याउन सकिने बताएका थिए।

तर त्यसको पूर्वशर्त भनिएको समायोजनको निम्ति लडाकूको संख्या तोक्ने कुरामा भने माओवादी तयार छैन।

पहिला के?

कांग्रेससंगको शनिबारको बैठकमा आफुहरुले दिएको जवाफ सुनाउँदै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “हाम्रो असहमति भनेको तत्काल संख्या तोक्नेमा नै हो। संख्या तोक्ने विधि र अवधि निर्माण गरेर अगाडि बढौं भनेका छौं।”

पहिला सेना समायोजन कि पहिला सहमतिको सरकार भन्ने विवाद चर्काएको भन्दै नेपाली कांग्रेस प्रति असन्तुष्ट माओवादीले सेना समायोजनको प्रक्रिया टुंग्याउन निकै समय लाग्ने संकेत दिएको छ।

“संविधान निर्माणको प्रक्रिया सकिनु भन्दा अगाडि सेना समायोजन सहित शान्ति प्रक्रिया टुंग्याउने गरी अगाडि बढ्नु पर्छ भन्ने हाम्रो भनाई हो,” प्रकाशले बताए।

क्षीण

Image caption नेता खनालले सहमतिको सरकार बनाउनको लागि प्रयास जारी राखिने बताएका छन्

सबभन्दा ठूलो दल माओवादी र दोस्रो ठूलो दल नेपाली कांग्रेसको कुरा सहजै मिल्ने छाँटकाँट नभएपछि सहमतिको सरकार बन्ने सम्भावना क्षीण बनेको देखिएको छ।

त्यसको अर्को संकेत तेस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले दिएका छन्।

माओवादी नेताहरुसंग शनिबार बिहान भेटेपछि उनलाई सम्वाददाताहरुले माओवादी नेतृत्वको सरकारको सम्भावनाबारे सोधेका थिए।

“अहिले समस्या छ। त्यसै भएरनै हामीले लामो छलफल गरिरहनुपरेको हो,” खनालको जवाफ थियो।

सहमतिको सरकार बनाउन राष्ट्रपतिले एक साताको समयसीमा तोकेपछि माओवादीले आफ्नो नेतृत्वमा त्यस्तो सरकार बनाउने पहल तीव्र पारेको हो।

तर तीन दिन वितिसक्दापनि नयाँ सरकारको आकार प्रकारको त कुरै छाडौं नेतृत्वबारे पनि अन्योल कायमनै छ।