‘भक्तमान अपहरणमा पेशेवर अपराधी जिम्मेवार’

  • 8 जुलाई 2010
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलन
Image caption डा. श्रेष्ठको अपहरणमा राजनीतिक पार्टीको संलग्नताको पुष्टि हुन नसकेको प्रहरीले बताए

डेढ महिना अगाडि रहस्यमय तरिकाले अपहरणमा परी अठार दिनपछि उत्तिकै रहस्यमय तरिकाले छुटेका चितवन क्यान्सर अस्पतालका डा भक्तमान श्रेष्ठको अपहरणमा पेशेवर अपराधीहरु संलग्न भएको प्रहरीले जनाएको छ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ती तीनजनालाई पत्रकारसामु उपस्थित गराइएको थियो।

झण्डै तीन सातासम्म लगातार समाचारको केन्द्रमा रहेको डा श्रेष्ठको अपहरण प्रकरणताका कतिपयले त्यसमा माओवादी पार्टी समेत जिम्मेवार हुन सक्ने आरोप लगाएका थिए।

तर उनको अपहरणमा राजनीतिक पार्टीको समेत संलग्नता रहेको हुन सक्ने हल्ला चलेता पनि त्यसको पुष्टि हुन नसकेको एकजना प्रहरी अधिकारीले बताए।

सो अपहरणको गुत्थी सुल्झाउन खटिएका वरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीले भने, “अपहरणको मुख्य योजनाकार भीमसेन पण्डित भन्ने नेपाली तथा रोहित पालीवाल अग्रवाल भन्ने भारतीय पेशेवर अपराधीहरु हुन्।“

उनीहरुकै खटनपटनमा अरु पाँचजना समेत त्यस अपहरणमा संलग्न भएको प्रहरीको भनाइ छ, जसमध्ये हालसम्म केवल तीन जना समातिएका छन्।

“आपराधिक पृष्ठभूमि भएका मानिसहरु संलग्न भएको तथ्यहरुले देखाएको छ। उनीहरुको अन्य पृष्ठभूमिबारे हालसम्म थप पत्ता लागेको छैन,” उनले भने।

'पैसाको लागि अपहरण'

पैसाको लागि गरिएको डा श्रेष्ठको अपहरणमा उनी कार्यरत अस्पतालकै एकजना कर्मचारी समेत लागेको प्रहरीको भनाई छ।

तर मुख्य योजनाकार भनिएका पण्डित र अग्रवाल अझै फरार रहेको जनाइएको छ।

“हामीलाई प्राप्त पछिल्लो सूचना अनुसार उनीहरु भारतमा छन्। इन्टरपोलको रेड कर्नर नोटिस लगायत सबै उपाय लगाएर उनीहरुलाई समाउन हामी लागेका छौं,” सुवेदीले भने।

सुवेदीका अनुसार डा श्रेष्ठलाई चितवनबाट अपहरण गरेर नुवाकोट एवं काठमाण्डूका विभिन्न ठाउँहरुमा लुकाइएको थियो।

उनलाई छुटाउन परिवारले करीब सवा करोड रुपियाँ बराबरको साढे तीन किलो सुन भारतको कानपुर पुगेर बुझाएको प्रहरीले जनाएको छ।

उनको रिहाइको बेला हिन्दू जनता पार्टीले अपहरण गरेको भनेर भन्नु अनुसन्धानलाई दिग्भ्रमित पार्ने प्रयासमात्र भएको प्रहरीको निष्कर्ष छ।

उनको अपहरणमा संलग्न भनिएका मुख्य योजनाकारहरु यसअघि समेत अपहरण लगायतका अपराधमा थुनामा परिसकेका बताइएको छ। तर उनीहरु नौ महिनाको थुनापछि अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए।