बहुमतको सरकार बनाउन राष्ट्रपतिद्वारा आव्हान

  • 12 जुलाई 2010
व्यवस्थापिका-संसद
Image caption राष्ट्रपतिको आव्हानपछि नयाँ सरकार बनाउने जिम्मा संसदमा आइपुगेको छ।

राष्ट्रिय सहमतिको सरकार बनाउन दिइएको एक हप्तामा थप गरिएको पाँच दिनभित्र पनि दलहरु सहमति जुटाउन असफल भएपछि राष्ट्रपतिले संसदमा पत्र पठाई उक्त आह्वान गरेका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको चयन हुन नसकेकाले राष्ट्रपतिले संसदलाई संविधानको धारा ३८ को उपदफा २ बमोजिम अर्थात बहुमतका आधारमा नयाँ नेतृत्व चयन गर्न सन्देश पठाउनु भयो।”

बाध्यता

झण्डै दुई साता अघि पद त्याग गरेका प्रधानमन्त्री माधवकुमार नेपालको सर्वसम्मत उत्तराधिकारीको खोजी भ्यागुताको धार्नी पुर्‍याउनु सरह भएपछि दलहरुका लागि अब बहुमतको खोजी बाध्यता बनेको छ।

सहमतिको सरकार बनाउने कोशिश असफल भएकाले आएको राष्ट्रपतिको पत्र पछि, अब फेरि बहुमतको सरकार बन्ने लगभग स्पष्ट भएको छ।

तर कसको नेतृत्वमा र कुन कुन दल जुटेर बहुमतको सरकार बन्ने हो, त्यो स्पष्ट भइसकेको छैन।

तीन वटै ठूला दलहरु माओवादी, नेपाली काँग्रेस र एमाले आ आफ्नै नेतृत्वमा बहुमत जुटाउने कोशिशमा छन्।

बहुमतको समर्थन जुटाइ सरकार बनाउने उनीहरुको दावी संसदको बैठकमा परीक्षण हुनेछ। जहाँ खरो उत्रिएपछि नयाँ सरकारको बाटो खुल्नेछ।

संविधान सभाको व्यवस्थापिका संसदका अधिकारीहरुका अनुसार बहुमत प्रमाणित गर्न चुनावको मिति संभवत मंगलबार तोकिने छ।

यो प्रक्रिया छिट्टो भन्दा छिट्टो पूरा गरिने आशा राष्ट्रपतिले लिएको प्रेस सल्लाहकार दाहालले बताए।

तर दलहरुबीचको गहिरो अविश्वासले गर्दा कुनैपनि दललाई बहुमत जुटाउन सजिलो देखिंदैन।

ढीलो चाँडो बहुमत जुटिहालेपनि त्यो लामो समयसम्म टिक्ने निश्चित छैन।

संविधान सभाको गठन भएयता बनेका दुबै सरकारहरु बहुमतका आधारमा बनेकाले, भनिएकै समय अर्थात दुई वर्षभित्र नयाँ संविधान बन्न नसकेको धेरैको भनाई थियो।

आशंका

तर प्रधानमन्त्री नेपालको उत्तराधिकारी पनि बहुमतको समर्थनकै आधारमा चुनिने भएपछि संविधान सभाको थपिएको एक वर्ष पनि खेर जाने कतिपयको आशंका छ।

संविधान सभाको चुनाव भए यता पहिलो पटक सबभन्दा ठूलो दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीत्वमा तेश्रो ठूलो दल एमाले र चौथो ठूलो दल मधेशी जनअधिकार फोरम लगायतका दलहरुको बहुमत सरकार बनेको थियो।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा दोश्रो ठूलो दल नेपाली काँग्रेस र चोइटिएको मधेशी जनअधिकार फोरम लगायतको बहुमतको सरकारले माओवादी नेतृत्वको सरकारको ठाउँ लिएको थियो।