माओवादी लडाकु समायोजन कार्यतालिकामा पुरानै अडान : गजुरेल

  • 13 जुलाई 2010
माओवादी लडाकुहरु
Image caption माओवादी लडाकुको समायोजन माओवादीले भने झै नै हुनुपर्छ

एकीकृत नेकपा माओवादीले शनिबार सार्वजनिक गर्ने माओवादी लडाकु समायोजन र पुनस्थापन सम्बन्धी कार्यतालिकामा समायोजन गरिने लडाकु संख्या नतोक्ने भएको छ।

अन्य प्रमुख दलहरुले संख्या तोक्नै पर्ने माग गर्दै आएका छन्।

त्यसले नयाँ सरकार निर्माणमा सबभन्दा जटील बिषय बन्दै आएको माओवादी लडाकुको समस्या ज्यूँका त्यूँ रहने संभावना प्रवल देखिएको छ।

विभिन्न शिविरमा बस्दै आएका माओवादी लडाकुसँग प्रत्यक्ष सोधेर उनीहरुको इच्छाका आधारमा मात्र समायोजन गरिनुपर्ने माओवादीको पुरानो अडान शनिबार प्रस्तुत हुने उनीहरुको लडाकु समायोजन खाकामा दोहोरिने माओवादी नेता सीपी गजुरेलले बताए।

समुहगत प्रवेश

त्यसैगरी गजुरेलले ब्रीगेड तहमा सुरक्षा निकायमा समुहगत प्रवेश गराउनुपर्ने माओवादीको अडान पनि कायमै रहने बताए।

उनी भन्छन्, “एक एकजना गरेर प्रवेश हुनुहुँदैन, हाम्रो ब्रीगेडियर लेभलमा समुहगत प्रवेश गराउनुपर्छ।”

गजुरेलका अनुसार एउटा ब्रीगेडमा दुइहजार देखि पच्चीस सय लडाकु हुनेछन् भने अहिलेका माओवादी ब्रीगेड कमाण्डरलाई नै समायोजन भइसकेपछिको ब्रीगेडको प्रमुख बनाउनुपर्नेछ।

उनले ब्रीगेडियर जनरल, त्यसपछिका अधिकारीहरु र सीपाही तहसम्मै माओवादी लडाकुनै रहने स्पष्ट पारे।

बहस

माओवादीको शनिबार प्रस्तुत हुने प्रस्तावलाई अरु दलले मान्लान त? भन्ने प्रश्नको जवाफमा गजुरेल भन्छन्, “अहिलेसम्म हामीले राख्दै आएको कुरा यहि हो उहाहरुले मान्नुभएको छैन, छलफल चल्दै आएको छ, आउँदा दिनमा पनि बहस चल्दै जानेछ।”

दुइ प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सुरक्षा निकायमा समायोजन गरिने लडाकुको संख्या पहिले नै तोकिनुपर्ने, सेनामा लडाकुको समुहगत प्रवेश गर्न नसिकने र सुरक्षा निकायमा प्रचलित मापदण्ड पुरा गर्नेलाई मात्र समायोजन गर्नुपर्ने बताउँदै आएका छन्।