प्रधानमन्त्रीको चुनाव साउन पाँच गते

  • 13 जुलाई 2010
व्यवस्थापिका संसद भवन
Image caption हाल ५९९ जना सांसद रहेकाले ३०० जनाको समर्थन पाउने उम्मेदवार प्रधानमन्त्री बन्नेछन्

सहमतिको सरकार बनाउन प्रमुख दलहरु विफल भएपछि अब नयाँ प्रधानमन्त्रीको छिनोफानो साउन पाँच गते व्यवस्थापिका संसदमा चुनावबाटै हुने भएको छ।

उम्मेदवारी कसैले घोषणा गरिसकेका छैनन्।

तर एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबाट प्रधानमन्त्रीको दावी र इच्छा देखाइएको छ।

प्रधानमन्त्रीको कुर्सी ताकिरहेका पार्टीहरुको निम्ति प्रतिस्पर्धाको मैदान खुला भएको घोषणा सभामुख सुवासचन्द्र नेम्वाङ्ले संसद बैठकमा गरेका थिए।

संसदका सबै पार्टीका प्रतिनिधि रहेको कार्य व्यवस्था परामर्श समितिको सुझाव अनुसार सभामुख नेम्वाङ्ले उक्त कदम चालेका हुन्।

चनावी प्रकृया

संविधानसभा व्यवस्थापिका संसदका प्रवक्ता मुकुन्दप्रसाद शर्मा भन्छन्, “समितिको राय लिएपछि सभामुख ज्यूले लिएको निर्णय अनुसार साउन पाँचगते चुनाव हुने गरी तालिका प्रकाशित गरिएको छ।”

प्रकाशित कार्यतालिकामा उम्मेदवारी दर्ता गर्न चाहनेलाई चुनावको अघिल्लो दिन अर्थात साउन ४ गते विहान ११ बजेदेखि साँझ ५ बजे समय दिइएको छ।

हाल ५९९ जना सांसद रहेकाले त्यसको बहुमत अर्थात ३०० जनाको समर्थन पाउने उम्मेदवार भावि प्रधानमन्त्री बन्नेछन्।

वहुमत कुनै पार्टीको नभएकाले प्रमुख पार्टीहरुबीच गठबन्धन हुन सकेन वा निर्णायक भूमिकामा पुग्ने साना पार्टी च्याँखे थाप्न तटस्थ बसिदिएमा कुनै पनि उम्मेदवार वहुमतको अभावमा निर्वाचित नहुन सक्छ।

त्यसपछिको प्रकृयाबारे संसदका प्रवक्ता शर्माको भनाई छ, “तर बहुमत नपुग्दासम्म अर्को बैठक बोलाएर मतदान गराउने क्रम जारी रहन्छ।”

चित्र

राजनीतिक समिकरण निश्चित नभएकाले चुनावी परिणामको चित्र स्पष्ट देखा परेको छैन्।

माओवादीले वहमुतको निम्ति कम्तीमा कांग्रेस एमाले वा तराई केन्द्रित पार्टीहरुको समर्थन बटुल्नु पर्नेछ।

गैरमाओवादी सरकार बनाउन कांग्रेस र एमालेले आफूहरु मिल्नुका साथै तराईका दललाई पनि आफ्नै पक्तिमा उभ्याउन सकेमा मात्र सफलता हात लागन् सक्छ।

राष्ट्रिय सहमतिको सरकार बाहेक ती दुबै थरी गठबन्धनले शान्ति प्रकृया र नयाँ संविधान लेखनलाई टुंगोमा पुर्‍याउन नसक्ने एकथरीको मत पाइन्छ।

तर अर्का थरीका विचारमा सरकार बहुमतिय भए पनि राजनीति सहमतिको गर्ने खुबि र इच्छा भए शान्ति प्रकृया र संविधान लेखन सजिलै टुंगिन सक्छ।