राष्ट्रसंघीय अधिकारीद्वारा अन्मिनको बचाउ

  • 13 जुलाई 2010
करिन ल्यान्डग्रेन
Image caption अन्मिनको पछिल्लो प्रस्तावप्रति सरकारले आपत्ती जनाएको थियो

नेपालस्थित राष्ट्रसंघीय विशेष नियोग अन्मिनले आफ्नो कार्यादेश र सुरक्षा परिषदको निर्देशन अनुसार काम गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

अन्मिनले हालै माओवादी लडाकु पुन:स्थापना र समायोजनको कार्यतालिका प्रस्ताव गरेकोप्रति नेपाल सरकारले गम्भीर आपत्ती जनाएको थियो।

तर न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघ मुख्यालयका एक प्रवक्ताले अन्मिनको बचाउ गरेका छन्।

अन्मिनले माओवादी लडाकु पुन:स्थापना र समायोजनको ६० हप्ते कार्यतालिका छलफलका लागि माओवादी सेना समायोजन विशेष समितिका केहि सदस्यहरुलाई दिएपछि, अन्मिनको सो कदमको प्रधानमन्त्री माधवकुमार नेपालले तिब्र आलोचना गरेका थिए।

सरकारको आपत्ती

अनौपचारिक अवधारण भनिएको अन्मिनको त्यस्तो प्रस्तावबारे आपत्ती जनाउँदै शान्ति मन्त्रालयले अन्मिन प्रमुख करिन् ल्यान्ड्ग्रेनलाई एउटा पत्र पठाएको थियो।

सो पत्रमार्फत सरकारले अन्मिनलाई माओवादी सेनाको विषय पूर्णतया विशेष समितिको क्षेत्राधिकार भित्र रहेको अवगत गराएको बताइएको छ।

तर न्यू योर्कमा राष्ट्रसंघीय महासचिव बान की मुनका सहायक प्रवक्ता फर्हान हकले अन्मिनको बचाउ गरेका छन्।

नेपालका प्रधानमन्त्रीले अन्मिनको पछिल्लो कदमबारे आपत्ती जनाएकोबारे सोमबार सोधीएको एक प्रश्नको उत्तरमा उनले अन्मिनले आफ्नो कार्यादेश अनुसार नै काम गरिरहेको प्रतिक्रिया दिए।

उनले अन्मिनको कदम शान्ति प्रक्रियालाई अघि बढाउन र बाँकि रहेका काम टुङ्ग्याउन अन्मिनको दक्षता र तत्परताको फाइदा उठाउन राष्ट्रसंघीय सुरक्षा परिषदले नेपाली पक्षहरुलाई गरेको आव्हान अनुरुप नै भएको बताए।

स्पष्टोक्ती हामीले त शान्ति प्रक्रियालाई टुङ्ग्याउन सहयोग होस् भनेर अवधारणा मात्र दिएका हौं अन्मिन प्रवक्ता कसमस विश्वकर्मा

सहायक प्रवक्ता फर्हान हकले अन्मिनले माओवादी सेनाको पुन:स्थापनाका विषयमा नेपालका पक्षहरुसँग छलफलका लागि आफ्नो अवधारणा अघि सारेको जनाएका छन्।

त्यसबारे प्रष्ट्याउँदै अन्मिनका प्रवक्ता कसमस विश्वकर्माले अन्मिनले विशेष समितिका सदस्यहरुलाई सन्दर्भ सामाग्री मात्रै उपलब्ध गराएको बताए।

“हामीले त शान्ति प्रक्रियालाई टुङ्ग्याउन सहयोग होस् भनेर अवधारणा मात्र दिएका हौं।”

विषसमा सघाउन छलफलदेशभर छरिएका विभिन्न अस्थायी शिविरहरुमा रहेका माओवादी लडाकु समायोजन र पुन:स्थापनाका विषयमा सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओवादीबीच तिब मतमतान्तर जारी रहेका बेला अन्मिनको अवधारणा प्रकाशमा आएको थियो।

तर अन्मिनको सो प्रस्ताव विवादमा परेपछि नेपालमा अन्मिनको भूमिकाबारे आलोचना गर्नेहरुलाई बल पुगेको ठानिएको छ।

झण्डै तीन वर्ष देखि नेपालमा कार्यरत अन्मिनको कार्यावधी आउने सेप्टेम्बर १५मा सकिदैछ।