‘फरक मापन विधिका कारण गरीबी बढेको देखिएको हो’

  • 15 जुलाई 2010
नेपालका महिला
Image caption नयाँ सर्वेक्षणपछि कति नेपाली गरीब छन् भन्नेबारे प्रश्न चिन्ह उठ्ने देखिन्छ

गरीबीको रेखामुनी बाँच्ने नेपालीहरुको संख्या सरकारले भन्दै आएको भन्दा दोब्बर भन्दा पनि बढि भएको तथ्यांक सार्वजनिक भएपछि विज्ञहरुले मापन विधिमा फरकका कारण त्यस्तो व्यापक अन्तर देखा परेको बताएका छन्।

सरकारले सन २००३-०४ मा गरेको दोश्रो जीवनस्तर सर्वेक्षणले अहिले २५ प्रतिशत नेपाली मात्र गरीबीको रेखामुनि भएको देखाउँछ।

तर संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका लागि विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयले गरेको नयाँ अध्ययनले भने नेपालमा ६५ प्रतिशत जनता उसको मापन अन्तर्गत गरीब रहेको देखाएको छ।

फरक विधि

जीवनस्तर सर्वेक्षण गर्ने र त्यसैका आधारमा गरिबी मापन गर्ने नेपालको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तम नारायण मल्ल मापन गर्ने सूचकांक र अनुसन्धान विधि फरक परेकाले दुइथरी तथ्यांक आएको बताउँछन्।

मल्लका अनुसार नेपालमा गरिँदै आएको जीवनस्तर सर्वेक्षण ‌पनि विश्व बैंकको सुझावमा संसारभर प्रयोग गरिँदै आएको विधि हो।

सो विधि अन्तर्गत खर्च गर्न सक्ने क्षमतालाई गरीबी मापनको मुख्य आधार बनाइन्छ।

शरीरका लागि आवश्यक दिनको २४ सय किलो क्यालोरी कति जनताले जुटाउन सक्छन् भन्ने आधारमा नेपालमा गरीबी मापन गरिँदै आएको छ।

त्यति क्यालोरी जुटाउन अहिले वार्षिक १३ हजार आम्दानी हुनुपर्ने अनुमान गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर जगदिशचन्द्र पोखरेल बताउँछन्।

युएनडिपीका लागि अक्सफोर्डले गरेको अध्ययनमा भने आयलाई मात्र आधार बनाइएको छैन।

सामाजिक सूचकांकहरु जस्तो सडक, पानी र बिजुली-बत्तिमा पहुँच लगायत मातृ शिशु स्वास्थ्य र शिशुको पोषण जस्ता विषयलाई पनि गरीबी मापनका लागि प्रयोग गरिएको छ।

सकारात्मक

सर्वेक्षण विधि फरक भएकाले परिणाम फरक आउनु स्वाभाविक भएपनि अहिले देखिएको व्यापक अन्तरले मुलुकको छविमा आँच आउने चिन्ता उपाध्यक्ष पोखरेलको छ।

तर युएनडिपीका लागि गरिएको अध्ययनलाई सकारात्मक रुपमा पनि हेर्न सकिने विज्ञहरुको धारणा छ।

उनीहरुका अनुसार आर्थिक, सामाजिक अध्ययनले कुन क्षेत्रमा के पुगेको छैन भन्ने देखाउने भएकोले योजनाकारहरुलाई आवश्यक योजना बनाउन मद्दत पुग्नेछ।