एमालेद्वारा सहमतिय सरकारमै जोड

  • 16 जुलाई 2010
एमाले अध्यक्ष झलनाथ खनाल
Image caption खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेबारे एमाले भित्रै विवाद छ

नेकपा एमालेका वरिष्ठ नेताहरुको एउटा वैठकले राष्ट्रिय सहमतिको सरकार बनाउँनको लागि अन्य दलहरुसँगको संवादलाई तीव्रता दिने निश्कर्ष निकालेको छ।

बिहिबार नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा नयाँ सहमतिय सरकार बन्नु पर्नेमा जोड दिएको थियो।

तर प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने विषयमा अन्य प्रमुख दलहरुमा जस्तै एमालेभित्र पनि विवाद यथावत देखिन्छ।

नयाँ प्रधानमन्त्री चयन गर्न संसदमा चुनाव हुने दिन आउन अब मात्र पाँच दिन बाँकी छ।

अस्पष्ट

तर कस्तो सरकार बन्ला र त्यस्को नेतृत्व कस्ले गर्ला भन्ने अझै स्पष्ट भइसकेको छैन।

सहमतिको सरकार निर्माणको संभावना बढ्दो रुपमा क्षीण हुदै गएको विश्लेषण भइरहेको छ।

तैपनी नेकपा एमालेका वरिष्ठ नेताहरुको सो भेलाले सहमतिय सरकार बनाउन पहलकदमी गर्ने सोच बनाएको बताईएको छ।

एमालेका प्रमुख सचेतक भीम आचार्यले माओवादीको नेतृत्व नस्वीकारिने तर नेपाली कांग्रेसको नेतृत्व स्वीकार्न सकिने बताए

उनले भने,“जस्ले तीन दलबीच सहमति जुटाउन सक्छ त्यस्को नेतृत्व हामीलाई स्वीकार्य हुनेछ।”

प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भीम रावल र अर्थमन्त्री सुरेन्द्र पाण्डे सामेल सो वैठकले आफ्नै दलले नेतृत्व गर्ने स्थिति आए अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सकिने सोच बनाएको आचार्यले बताए।

तर त्यस्तो सोचलाई एमालेका प्रभावशाली नेता केपी ओलीले चुनौती दिए।

उनले भने“कस्ले सरकारको नेतृत्व गर्ने भन्ने विषय नेकपा एमालेले संस्थागत निर्णय गर्ने कुरा हो।”

संवाद

प्रमुख सचेतक आचार्यका अनुसार प्रधानमन्त्री चुन्ने घडी नजिकिदै गर्दा एमालेका नेताहरुले एकीकृत माओवादी, नेपाली कांग्रेस लगायतका दलका नेताहरुसँग संवाद जारी राखेका छन्।

तर त्यसबाट न त सहमतिय सरकार बन्ने कुनै संकेत देखिएको छ, न त बहुमतिय सरकार गठनको निम्ति आवश्यक गठबन्धन निर्माणको कुनै प्रारुप नै देखिएको छ।

आफ्नै नेतृत्वको नयाँ सरकार खोजी रहेको सबै भन्दा ठूलो दल एकीकृत माओवादीका कतिपय नेताहरुले सहमतिय सरकारको संभावना क्षीण भएको सार्वजनिक टिप्पणी गरिसकेका छन्।